नयाँ वर्ष आगतमा
सधैँ हर्ष लाग्छ
हरियाली वसन्तझैँ
आशा सधैँ जाग्छ
तर किन नयाँ वर्ष
छैन नयाँपन
जति चोली फेरिए पनि
फेरिँदैन मन।
वनको चरी कठैबरी
आउँछन् वरिपरि
मनको कुरा कसले बुझ्नु
रून्छन् धरीधरी
किन-किन नयाँ वर्ष
छैन नयाँपन
जति वर्ष फेरिए पनि
रमाउँदैन मन।
विपनीमा सबै उठे
सपना तिनकै लुटे
कलम कापी च्याप्ने उमेर
टालाटुलीमा जुटे
किन-किन नयाँ वर्ष
किन आयौ भन
पटक-पटक आए पनि
बुझाउँदैनौ मन।
जति सपना देखे पनि
व्यथा उही थियो
पीडाहरू निरन्तर छन्
जिउन सकस भयो
किन-किन नयाँ वर्ष
कसलाई आयौ भन
रूपरंग फेरिए पनि
रमाउँदैन मन।
दुःखपछि सुख आउने
प्रतिक्षामै बित्यो
त्यही झुपडीको सानो संसार
उजाड पार्ने को थ्यो?
किन आयौ नयाँ वर्ष
के ल्यायौ भन
जति पटक फेरिए पनि
उही अमिलो मन।
देशमा छैन रोजगारी
खाडी मुलुक गाछु
परिवारको सम्झनाले
आकुल-व्याकुल भाछु
किन-किन नयाँ वर्ष
छैन मन दंग
जति होली आए पनि
रंगिँदैन मन।
समालेर सम्हालिन्न
थाकेको छ तन
मन भित्रको जल्दो पीडा
कसलाई बताउँ भन
नयाँ वर्ष आउँदा तिमी
ल्याऊ खुसी मन
यो दुखीको दुःख बुझ्ने
साथी तिमी बन।