सूर्यको किरण धर्तीमा पर्नुभन्दा अगाडि नै उसको निद्रा विचलित भएको थियो। सपनाको दुनियाँदेखि एकाएक बाहिर आउन पटक्कै मन भएको थिएन तर हरेक पटकझैँ उसलाई यहीँ त हुने गर्दथ्यो। फेरि लामो समयका लागि घरबाट टाढा जाँदै थिई ऊ।
एकातिर कोल्टे फेरेर सुतेकाले होला देब्रे पातो हुरुक्क हुँदै दुखेको। आधा भुइँमा झरेको सिरकलाई माथि तान्ने दौडमा ऊ पछि परिसकेकी थिई। आखिर रुवाको मोटो सिरक जुन बाबाआमाले उसकै लागि भनेर घरमै मान्छे बोलाई बनाउन लगाउनु भएको। सकी नसकी बिछ्यौना मिलाउँदै सिरक माथि राख्दै खुइया गरेर त्यही बसी। दुखेको पातो फेरि चसक्क गर्यो।
अन्धकार, चकमन्न रात थियो। लाग्दथ्यो भाले पनि अँध्यारोको डरले बास्न बिर्सिने हुन् कि भनेर। आङ तान्दै फेरि हाई गरी र खाबोमा अडिएको घडीमा आँखा डुलाई। भर्खरै बिहानको २:३० भएको रहेछ। एकैछिन मौन रही र टोलाइरही त्यही घडीलाई हेर्दै।
उसले सम्झी- 'नानी, यो घडी तँ जन्मिएकै सालको हो। तेरी आमाले तँलाई जन्माउँदा मैले यही घडीबाट समय हेरेकी थिएँ' र सुरु हुन्थे उसकी हजुरआमाका कुरा, 'हाटबजार जान भनेर हँस्याङ्फस्याङ गर्दै घर आइपुगेकी म तेरी आमा त बेथाले छट्पटाइरहेकी रहिछे। केको हाट न बजार! मलाई त यत्तिकै समय गइहाल्यो नि।'
उसको अनुहारमा फरक लालिमा जाग्यो। यो घडी र उसको सम्बन्ध प्रगाढ छ। ऊ जन्मेदेखि आजसम्म उसको साथमा छ। अनि सम्झी उसकी आमाले भनेको- 'घरको अरु केही काम गर्नु छैन, त्यही घडीलाई मात्रै टल्काई राख्। तँलाई बिहेमा यही दिएर पठाउँला।'
भान्छा कोठामा थाल-बटुका झरेको आवाजले ऊ झसंग भई। फेरि बिरालोले बिगार गर्यो भन्दै तल झर्दा देखी आमाको हातमा घिउ र भुइँमा उल्टिएर झरेको थाल। बिहानै हिँड्छे भनेर खानेकुरा बनाएर हालिदिन लाग्नु भएको रहेछ।
हिजो मात्रै नजा भन्दा झगडा गरेर नबोली सुतेकी ऊ आज आमाले माया गरेको देख्दा भावुक बनी।
'अब धेरै नाटक नगर्, राम्ररी जानू, धेरै सिकेर आउनू। मैले देखेको सपना तैँले पूरा गर्नुपर्छ।'
एकाबिहानै भालेको डाकसँगै तल्लो गाउँतिर गाडी गुडेको आवाज घरैपारि खोलाछेउ पिपल बोट तिर सुनिन थाल्यो। 'ए! छिटो गर् गाडीले छोड्न आट्यो' भन्ने आमाको चर्को आवाजले ऊ झनै हतारिई।
गाडीमा झोलासहित माथि उक्लिन हम्मे-हम्मे पर्यो उसलाई।
'हैन, कति साह्रो कमजोर ज्यान हो दिदीको! यति सानो झोला उचाल्न गाह्रो पर्यो त,' खिसी गर्दै खलासीले कराउँदै थियो- 'जाउँ है जाउँ, दमौली हुँदै दुईपिप्ले, सूर्यपाल हुँदै बेसीशहर।'
लमजुङको पहिलो यात्रा भने थिएन सीताको। ठिक एक वर्षअगाडि आएकी थिई ऊ यही ठाउँमा। चञ्चल र मिजासिली ऊ एकाएक बदलिएकी थिई। हरेक कुरामा आफूलाई अब्बल बनाउँदै सपनालाई आकार दिन जनस्वास्थ्य विषय अध्ययन गरेकी थिई उसले।
हुन त उसको डाक्टर बन्ने सपना थियो तर घरपरिवार तथा परिवेशले उसलाई साथ दिएको थिएन। ऊ जे गर्छु, राम्रो गर्छु भन्थी र गर्थी पनि। साँच्चीकै सपना थिई ऊ धेरैका लागि। गहुँगोरी, हिस्सी परेकी, मिठो मुस्कान र चञ्चलता अनि त्यो सानो चिटिक्क परेको सानो फूर्तिलो ज्यान। धेरैले उसलाई डाहा गर्ने गर्दथे।
ठ्याक्कै बाबाको रूप लिएर आएकी छे भन्दा गमक्क पर्दै फुल्थी र बाबाको काखमै लड्न पुग्थी।
'हैन, यत्री ठूली भइसकी अझै सानै छे तपाईंकी छोरी, एक गिलास पानी दिने ढंग छैन' भन्दै आमा भित्रैदेखि कराउँथिन्।
'मेरी छोरी लमजुङ जाँदै छे, त्यो लमजुङ दरबार जाने बाटैमा खोला छ। खोलाको सुसेली माथि डाँडासम्म पनि सुनिन्छ छोरी, विचार गर्दै जानू, तिम्रो थकाई मेटिन्छ।'
'उसका बाबाले भनेपछि काम लाउँछे भनेर कुरा मोड्न खुब सिपालु बाउछोरी नै,' भन्दै फनफनाएकी थिइन् आमा।
हरेक ढुंगामा ठेस लाग्दै गाडीका पांग्राहरू अगाडि बढ्दै गए। दुईपिप्लेलाई पछाडि छोड्दै गाडी हर्न बजाउँदै अगाडि बढ्यो र छिनभरमै बुङ्ग उडेको धुलोसहित दुईपिप्ले ओझेल भयो।
गाडीको धुलो उडेर डाँडातिर बहेझैँ गाडीको रफ्तार कति बढ्यो आकलन गर्न कठिन थियो। एकैछिनमा खलासी भाइ करायो, 'ल है खोला यही छ हातमुख धुने भए झर्नु होला, ५ मिनेट मात्रै गाडी रोकिन्छ।'
यति भन्दा नभन्दै 'धन्यवाद भाइ, मलाई च्यापेर हुरुक्कै भएको थिएँ उपकार नै भयो तिम्रो' भन्दै बुढा बा ओर्लिनु भो।
सीताका साथीहरू मनिका, स्यामी आलिया, सुहाना, रबी, श्याम र आशुतोष हुरुरुरु गाडीदेखि झरे र खोलामा पानी खेल्न थाले। गत साल सीता यही खोलामा खेलेर निथ्रुक्कै भिजेकी थिई र साथीहरूले भनेका थिए, 'कति रमाइलो गर्न जानेकी छे सीताले!'
सीताले हाँस्दै भनेकी थिई, 'हरेक दिन नयाँ जन्म हुन्छ र हरेक दिन हामीले कसरी त्यो दिन बाच्ने आफूले नै तय गर्नुपर्ने हुन्छ।'
'वाह! वाह! साहित्य पनि खुब जनिछेस् तैँले, हामीलाई त आउन्न है सीते' भन्दै सुहानाले भिजाइदिएकी थिई।
यसपालि भने सीता तल झरिन। ऊ मौन रही र 'साथीहरू रमाइलो गर, म हेर्छु' भन्ने इसारा जनाई। केहीबेरमै त्यो चिसो खोलाको पानी, ती हरिया फाँटहरूबाट टाढा हुँदै गाडी हुइँकियो र बेसीशहरको यात्रामा गाडी अगाडि बढ्यो।
नभन्दै हरिया फाँटहरू र लोभलाग्दा पहाडहरूले सबैलाई मोहित बनाए। सीता एकतमास मौन रही। थोरै झ्याललाई पछाडि सार्दै आफ्नो जीउ अलिकति झ्यालमा अडेस लगाई र केशराशी खुला छोडिदिई।
पहाडको मिठो पवन खोलाको सुसेलीसँगै फुलेका जंगली फूलहरू र पाउला फेर्दै गरेका रुखहरू। मोटरबाटोलाई नै आफ्नो गन्तव्यसम्मको बाटो बनाई हिँडेका ती खोल्सी छाँगा र छहराहरू, चिरबिर गर्ने ती चराहरू।
प्रकृति आफैमा शान्त थियो, सीताको मनभन्दा ठिक विपरीत। कलिलो उसको त्यो मुहारमा बारम्बार लडिबुडी गर्दै गरेका केशराशीहरूले केही भन्न खोज्दै थिए। पवनले पनि साथ दिएको।
ऊ मग्न भई सोचमा 'जीवन जिउन मान्छेले नछोड्ने रहेछ, चाहे खुसीले दुनियाँ नै हँसाओस् या चोट, पीडा र व्यथाहरूले मुटु नै फुटाओस्। हर परिस्थिति अनुकूल र प्रतिकूल अनुरूप आफूलाई ढाल्दै निरन्तर अगाडि बढ्नु, सुख र दुःखको संगम नै जिन्दगी हो रहेछ।
पढेर मात्र हैन, भोगेर जिन्दगीको अर्थ बुझिने रहेछ। यसैमा सार्थकता भेटिने रहेछ। दुई दिनको जिन्दगीमा गुनासो गर्नु र दुखी हुनुको के नै तुक रहेछ र? आखिर मृत्यु निश्चित नै छ भने। आफू र आफ्नालाई खुसी राख्नु, खुसी बाँड्नु, कर्तव्यनिष्ठ हुनु र कर्म गरी फलको अपेक्षा नराख्नु नै त जिन्दगीले सिकाउने ठूलो पाठ रहेछ।'
'ओई सिते, हैन किन टोलाइस्? बेसीशहरका ठूला आरसिसी भवनहरू देखिन थालिसके, हामी आइपुग्यौँ।'
तिनै खलासी भाइले 'ल है बुबा, दाजु, दिदी-बहिनीहरू आजको यात्रा यति नै, हामीलाई सम्झनु होला' भन्दै गाडीको माथि राखेका झोलाहरू झार्न थाले। आ- आफ्ना सामान लिएर सबै खाना खान होटल पसे। त्यो होटल त्यही थियो जहाँ अघिल्लो पटक उनीहरू घुम्न आउँदा खाना खाएका थिए र अत्यन्तै मिठो लागेको थियो।
सीताले खाना खाइन बरु पानी पिएर एकैछिन थकाई मारी। खानापछि लमजुङ दरबार जाने योजना बमोजिम सबैले त्यही होटलमा बस्ने निधो गरे र एक घण्टापछि जाने तरखरमा लागे।
दरबार जाने बाटो उकालो थियो। सबैले आफ्ना झोला होटलका मालिकको जिम्मामा छोडेर दरबार जान लागे। सीताले रातो कपडामा पोको पारेर केही बोकी र यत्तिकैमा श्यामले 'उकालोमा हिँड्न कठिनाइ हुन्छ, केही गह्रौ बस्तु नबोक्न' भने।
'केही छैन मेरो सानो सामान हो' भनेर सीताले हातैमा कालो पोलिथिनको झोलामा राखी र काखी च्यापी। सबै दरबारतर्फ बाटो लागे। सीता पनि पछि लागी तर उसका हात कापिरहेका थिए। चिटचिट पसिनाले पूरै उसको शरीर भिजेको थियो। ऊ हिँडाइमा अन्तिम भएकी थिई र याद गर्ने पनि कोही भएनन्।
गलेको शरीर, रित्तो मन र गहभरि आँसु पार्दै ऊ देउरालीमा थकाई मार्दै साथीहरूका गफ सुन्दै दरबारमा पुगी। एकटक लगाएर हेरी वरिपरि र मनमनै भनी, 'ए जिन्दगी! तेरै रहेछ खटन। तैँले जे खटाइस् म गर्दै जानेछु, बस् मलाई बाँच्ने कारण देखाइदिनू यसरि नै।'
केहीबेरको अलमलपछि सबै बेसी फर्किन लागे। देउरालीमा आफूले चढाएको फूल हेरी र मनमनै 'तिमीलाई सधैँभरि यसरी नै सजाउँछु है देउराली' भन्दै ओराली झरी।
आशुतोष चिप्लिएर लडिहाल्यो। सबै गलल्ल हाँसिहाले। सीता भने उठाउन गई। सबैजना खोलावारि आइपुगे र एकछिन थकाइ मार्न लागे। सीता पहिलेको भन्दा निकै डराएकी र मलिन थिई।
ऊ जति त्यो खोला नजिक गई, त्यति खोलाको सुसेली बढ्दै गयो। उसलाई कदापि त्यो सुसेली मन परेन जति उसका बाबालाई त्यो प्यारो संगीत झैँ लागेको थियो। त्यही उसको मुटुको चाल बढ्दै गयो र ऊ बेचैन हुन थाली।
एकाएक ऊ टक्क उभिई र खोलालाई हेर्न थाली। आफ्नो हातको कालो पोलिथिनको झोला खोली र एउटा पोको निकाली। परबाट केही मान्छेहरू आउँदै गरेको देखेर त्यहाँ रोकिन इसारा गरी।
साथीहरू उसको यो व्यवहार देखेर चकित भए तर मौन रहे। एकैछिनको सन्नाटालाई चिर्दै आशुतोषले सोध्यो, 'के भयो सीता?'
ऊ केही बोलिन। त्यो पोकोलाई फुकाई र पुलबाट खोलातिर उडाउँदै भनी, 'बाबा, हेर्नुस् न तपाईंले भनेको यही नदीको सुसेली कठोर छ, पीडादायी छ। सुन्नुस् न, मलाई हजुरले भन्नु भएको जस्तो गीत यसले गाउँदैन।'
यति भन्दै सीताले साथीहरूलाई हेरी। सबै अवाक भए। उसले पहिलो र अन्तिम पटक भनी, 'हेर न साथीहरू, जुन ठाउँमा म आउन चाहन्न थिएँ, त्यही ठाउँमा भाग्यले डोर्याउँदै लिएर आएको छ। जुन यथार्थलाई म भुल्ल चाहन्छु, त्यो मेरो वर्तमानमा अगाडि आएर उभिएको छ।'
यति भनेपछि सीता बेहोस भई र उडेको खरानी उसको शरीरभरि भयो। पर उभिएका मान्छेहरूले उसलाई उठाए। सीताका साथीहरू हतासिए र डाक्टर भन्दै कराउन थाले। त्यही अन्जान सीतालाई उठाउने मान्छे नै स्वास्थ्यकर्मी रहेछन्।
साथीहरू तब अवाक भए जब स्वास्थ्यकर्मीले भने, 'उहाँ म्याडम हाम्रो लमजुङ जिल्ला जनस्वास्थ्य प्रमुख हुनुहुन्छ। चर्खामा डोरी घुमेझैँ भयो जिन्दगी उहाँको, गत साल म्याडम यहाँ घुम्न आउँदा यही पुलमा बसेर आफ्ना स्वास्थ्यकर्मी बाबासँग अन्तिम पटक कुरा गर्नुभएको रहेछ। आज फेरि त्यही निर्दयी रोगलाई परास्त गर्न आफै आमाको इच्छाविरुद्ध बाबाको सपनालाई पूरा गर्न स्वास्थ्यकर्मी बनेर यहाँ आउनुभएको छ।'