भनिन्छ स्वर्गलोकदेखि ब्रह्मलोकसम्म पुगे पनि
भोग सकिएपछि पुनर्जन्म लिनै पर्दछ
जबसम्म नित्ययुक्त सिद्धी प्राप्त गरिन्न
तबसम्म यो अनित्यरुपी पुनर्जन्मको झन्झट बेहोर्नु नै पर्दछ
यी ग्रन्थहरूमा प्राणीले जन्म फेरे झैँ
जीवनमा समयले पनि साल फेरिरहन्छ
आज पनि फेरि मेरा ३६५ पृष्ठका वार्षिक परिणाम पाएकी छु
शीर्ष स्थान नपाए नि वरिष्ठ वर्षहरूलाई जिउन योग्य बनेकी छु
हो, मैले माया र निर्दोषताले भरिएको कलिलो वर्ष गुमाएकी छु
तर अझै पनि म खुसी छु कि म मेरो यात्रामा अघि बढेकी छु।
भरिएका ती प्रिय डायरीहरू आज मानसपटलमा कैद हुनेछन्
चोखो खाली पानामा नयाँ सम्झनाका गाथा कोरिनेछन्
नयाँ क्यालेन्डरमा नयाँ दिन अनि नयाँ कोहीको पर्खाइ जोडिनेछ
नयाँ समय, नयाँ सहचर अनि नयाँ इन्द्रियबोध भरिनेछ
त्यो सालको अघिल्लो सालमा
पौडिँदा पौडिँदै डुबेका सपनाहरू
ओसिएका आशाहरू
बलात्कृत विश्वासहरू
जान अनजानका भुलचुकहरू
जोड्दा जोड्दै नि तोडिएको सम्बन्धहरू
सफल नहुँदै थाकेका कदमहरू
कर्म गर्न अझै बाँकी हातहरू
जन्मसँगै जोडिएका मेरा अमर साथहरू
चितासम्मका सबै त्यागहरू
डरमा गुम्सिएका बुलन्द आवाजहरू
अनि असफलताको लाजमा नाङ्गो
मेरा प्रयासका थोत्रो फाटोहरू
यो सालले झैँ सिलाएर जानु
अनियन्त्रित भाग्यका छालहरूलाई
यो सालले झैँ पन्छाएर किनार लाइदिनु
साल फेरिए पनि
कहिले नफेरिने मेरा शैशबी भावहरूमा
नयाँ पालुवामा झैँ वसन्त मिसाएर जानु
गोलो संसारको गोलो भूमरीमा
हरेक जीवन सहज बनोस्
जीवन छोटो तर मिठो
जीउन सबलाई रहर बनोस्
हरेक बिहानी रविले नयाँ वर्ष ल्याओस्
अनि हरेक साँझ नयाँ वर्षको पूर्व सन्ध्या बनोस्।