कुहिरोको काग अझै
अलमलमै छ
यता जाउँ कि उता जाउँ कि
मुस्किलमै छ।
कागको हालजस्तै
अहिलेका नेताहरुको गति
देश कसरी समुन्नत हुनु
बिग्रिएपछि तिनीहरुको मति।
यसो गरौँ, त्यसो गरौँ
भन्दाभन्दै वर्षौं बिते
आफ्नालाई काखी च्याप्दा
असल, राम्रा पराई भए।
खै अब स्थायित्वको
गीत कसले गाउने होला
म बनाउँछु देश भनि
को मान्छे आउने होला?
जुन जोगी आए पनि कानै चिरेको
भन्थे बुढापाका
राजनीतिक स्थायित्वको
कस्तो हुने होला भाका?
सोझासाझा निमुखालाई
जे भने नि भैगो
ठूलाठालु मिलेमतो
जाल झेल खै के-के हो?
विमतिका स्वर अझै
कतिसम्म चर्किने हो
सहमती र मेलमिलापको
गीत कसले गाउने हो?
म बनाउँछु देश भनि
को मान्छे आउने हो?