यी जो वृक्षलता र पुष्पहरू छन्
झाँगिरहून् यसैगरी
फक्रून् फूल समृद्धि, शान्ति, सुखका
कहिल्यै नझर्ने गरी।
निलो, स्वच्छ, सफा रहोस् नभ पनि
धुलाम्य सारा हटोस्
प्रकृति, धर्ती, धरा सुरम्य अझ भै
सुवास मिठो छरोस्।
चञ्चल चित्त सदैव स्थिर रहँदै
सद्गुणको बास होस्
करुणा, प्रेम, दया सर्वत्र बहँदै
दुर्गुणको नाश होस्।
ज्ञानी, सज्जन, आत्मचिन्तक भई
सत्धर्ममा सब रहून्
पछ्याई पथ भक्ति, कर्मयोगको
सत्कर्मी सारा बनुन्।
व्याधी, रोग, विपत्ति, संकट सबै
हटोस् नयाँ वर्षमा
जीवन रथ पनि दौडियोस् सहजले
रहून सबै हर्षमा।