आउँछ ३६५ दिनपछि प्रत्येक साल नयाँ वर्ष
हटाउँछन् सबैले पुरानो सालको क्यालेन्डर भित्ताबाट
अनि झुण्डाउँछन् सबैले नयाँ सालको क्यालेन्डर भित्तामा
छाउँछ सबैको मनमा हर्ष र उमङ्ग
गर्छन् आदान प्रदान शुभकामना एकअर्कामा
मनाउँछन् रमाइलो गरी सबैले आ-आफ्नो गच्छेअनुसार
बनाउँछन् सबैले नयाँ सालको भावी योजनाहरू
तर गरिबको झुपडीमा छाउँछ न कुने हर्ष र उमङ्ग
न त पाक्छ कुने मिठा परिकार नै
न त आङमा कुनै नयाँ कपडा नै
न त बनाउँछ कुनै भावी योजना नै
चासो हुन्छ केवल मुखमा माड लगाउने केले?
न त फेर्न सके वर्षौंदेखि चुहिएको घरको छानो नै
न त फेर्न सके एक सरो नयाँ लुगा, आफू र आफ्ना परिवारले नै
विगतका सालदेखि नै ठाउँ-ठाउँमा टालेर लगाएकी श्रीमतीको चोलो
छोराको कमिज र कट्टु, अनि छोरीको घाँगर र फ्रक
न त आफ्नै दौरा-सुरुवाल र टोपी
अब त बाँकी रहेन टालो टाल्ने कुनै ठाउँ नै
कामना गरौँ अब आउने नयाँ सालमा
गरिबले पनि मनाउन सकोस् नयाँ वर्ष रमाइलो गरी
त्यस्तै पूरा होस्, सबै नेपालीको आधारभूत आवश्यकताहरू।