एकै नाम गरेका हजारौँ मानिस हुन्छन्
हजार मध्यको उत्कृष्ट त्यही हुन्छ
जो कोसिस गर्छ, सत्य बोल्छ
अनि आफैमा विश्वास राख्छ
जीवन एक अवसर हो राम्रो गर्नेको
केही पाउने र असल बन्नेको
यहाँनेर
कुनै चिज हेर्नु, चाहना गर्नु अनि पाउनु साधारण हुन्
तर त्यसको मर्यादा बिना
त्यो पाउनु व्यर्थ हुन्छ
मानिस ठूलो हुनु राम्रो कुरा हो
फेरि, ठूलो मात्र पर्याप्त छैन
व्यक्तित्वमा गहिराइ र विचारमा शुद्धता पनि आवश्यक हुन्छ
जसले त मानिसलाई महान् बनाउँछ
सोचमा आत्मविश्वास भए
नियतमा सत्यता भए
मानिसले हार्दा हार्दै पनि जित्छ
ऊभित्र सन्तोष भए ऊ स्वतः धनी छ
शान्ति भए निस्फिक्री खुसी छ
यस्तो मानिस सदैव
अनुकूलता र प्रतिकूलताहरूमा निर्विकल्प भएर
जिन्दगीभरि हिँडिरहन्छ
यस्ता असल मानिसले
हिँड्दाहिँड्दै कतै जिन्दगीदेखि नै
नौलो ठाँउमा विश्राम लिए पनि
सो पल ती नौला वस्तीहरू नरोए पनि
आकाश वाणी भएर प्रकृति रुनेछ
ऊ हिँडेको बाटोले उसलाई बोकेर मसान घाटसम्म लैजानेछ
त्यही छेउका जङ्गलका मुढा र दाउरा
आफै आएर उसका चिता बन्नेछन्
वन्यजन्तु चराचुरुङ्गी, जङ्गल र फाँटहरूले भावपूर्ण
समवेदना प्रकट गर्नेछन्
अनि बिहानै झुल्किने घामले
नजिकैको नदी किनारको एक छेउमा आगो लगाएर दागबत्ती दिनेछ
बाँकी दुनियाँ रुमलिने जित र हार
ताली र गाली
त्यही पद अनि पैसा
प्रतिष्ठा, घर अनि जग्गा
त्यति दिएको, त्यति लिएको अब यति बाँकी
झर्को र फर्को
तेरो र मेरो
यो सब देखेर
अदृश्य काल पनि मुसुमुसु हाँसिरहनेछ
मुसुमुसु हाँसिरहनेछ
मुसुमुसु हाँसिरहनेछ।