यो मेरो जीवनको एउटा सानो घटना हो। ठूलो पनि हो। ठूलो यस मानेमा कि घटना सत्य हो।
लुगा धुँदै हुनुहुन्थ्यो आमा। हामी भोलि काठमाडौं जाँदै थियौँ। धारा वरपर खेल्दै थिएँ म। आमा लुगा धुँदै नै हुनुहुन्थ्यो। अन्तरे काकी आइपुग्नुभयो बाख्रा लिएर।
म काकीका बाख्रा धपाउन थालेँ काकीकै घरतिर। धारा नजिकै थियो काकीको घर। तर देखिँदैन थियो धाराबाट, छेलिन्थ्यो। नजिकै हुनेहरू पनि कसरी छेलिन्छन् हँ त्यसरी?
बाख्राको पाठो नै बनेर बुरुक्क-बुरुक्क गरी म धपाउन थालेँ बाख्रा। भाग्न थाले बाख्राहरू पनि। आहा! भाग्नेहरूलाई धपाउनमा मलाई मज्जा चढ्यो। झन् धपाउन थालेँ।
काकी आउँदै हुनुहुन्थ्यो, आमा लुगा धुँदै हुनुहुन्थ्यो। काकीको आँगनअगाडि पुगेपछि बाख्रा धपाइरहेको म खै केमा चिप्लिएँ कुन्नी, उछिट्टिएँ काकीको आँगनमा आँगनको डिलबाट।
आँगनमा घर छाउने ढुंगाहरू राखिएका थिए ठाडा पारेर। त्यसै कुनै एउटामा पर्यो मेरो टाउको। फुटिगयो नि! मेरो मन मेरो दशा भयो। विचरा निर्दोष मन तर फन्टुस म। टाउको रोयो मेरो। बगाउन थाल्यो रातो आँसु एकैछिनमा।
यति लेख्न र पढ्न जति बेर लाग्यो र लाग्छ, त्यतिबेर पनि लागेको थिएन मलाई धाराबाट उफ्रिएर काकीको घर पुग्न, चिप्लिन, लड्न र टाउको फुटाउन। गहिरो पर्यो चोट। घर छाउने ढुङ्गामा परेर झन्डै मेरो जीवनको छाना भत्कियो।
आमा लुगा धुँदै हुनुहुन्थ्यो। एकैछिनमा हल्ला भयो। त्यो दिन लुगाहरू न पूरै धोइन पाए न पाए निचोरिन। निचोरिनु भयो त आमा।
'के गरिस् यस्तो एकैछिनमा साहिल!' आमा रुनुभयो।
मबाट झरेका रगत र आमाका आँसु साथी भए। हवल्दार काकाको घरमा लगेर ब्यान्डेज गरे मलाई। म पीडाको रमरममा थिएँ तर होस थियो मलाई। काकाकोमा मलाई हेर्न हल्ला सुन्ने जत्तिको भिड भयो।
'यसरी हुँदैन अब रामपुर लगेर टाँका लाउनुपर्छ' भने।
म बेलाबेला 'आमा!' भन्थेँ। आमा 'केही हुँदैन बाबु, केही हुँदैन' भन्नु हुन्थ्यो अनि रुनु हुन्थ्यो।
'तँलाई केही भएको म खप्नै सक्दिनँ नि मोरा, के गरिस् यस्तो?' भन्नुहुन्थ्यो होला मनमनै।
मलाई रामपुर कुदाउन थाले। डाँडली बाका छोराले बोकेर कुदे जसरी हिँडे, हिँडे जसरी कुदे। झगरपुरबाट रामपुर हिँडेर ४५ मिनेटभन्दा माथिकै बाटो थियो। त्यहाँ नभए ओखलढुंगा मिसन अस्पताल लानुपर्ने हुन्थ्यो। हिँडेर ३ घण्टा बढी लाग्छ समय।
हिँडेर र नहिँडेर भन्ने पनि थिएन त्यतिबेला। त्यतिबेला ओखलढुंगासम्म मात्रै थियो गाडीको बाटो। कत्ति बलिया मान्छेले बोकेर कुदाए मलाई। कसैले अस्पताल पुगुन्जेल पालो फेर्नु पनि परेन मलाई बोक्न। सकिनँ पनि भनेनन् ती दाइले। म थाकेँ पनि भनेनन्।
मलाई त हनुमानले बोकेर कुदाएका रहेछन् जस्तो लाग्छ यतिबेला सम्झिँदा। तर म आफूलाई रामजस्तो भन्न चाहिँ सक्दिनँ। राम मजस्तो चकचके थिएनन्। रामले चकचक गरेर टाउको फुटाएको कथा छैन रामायणमा।
रामपुर अस्पताल पुग्दा रात परिसकेको थियो। गाउँ भएको हुनाले नचिनेको कसैले कसैलाई हुँदैन। डाक्टर बोलाउनेहरू गए डाक्टर बोलाउन। अस्पताल खुल्दै गर्यो मेरो लागि। सबै भेला भएपछि सुताए मलाई बेडमा र उपचार सुरु गर्ने चाँजोपाँजो गरे।
'लठ्याउने औषधि छैन रैछ हामीसँग, के गरी मार्ने टाँका? कसरी खप्छ यो बच्चाले? सक्दैन' भन्न थाले डाक्टर। के गर्ने-गर्ने भयो आमाहरूलाई। रात परिसक्यो। अस्पतालको नाममा त्यही त थियो, अब कहाँ लगुन् मलाई?
'हल्का-हल्का गरेर भए पनि मारौँ टाँका' भन्न थाले। बिना लठ्याउने औषधि मैले टाउकोमा टाँका खप्नुपर्ने भयो। खपेँ।
घाउमा सियो रोप्दा मलाई कस्तो भयो होला? दिमागको फ्युज धन्न उडेन मेरो। हरेक सियो रोपाइमा म चिच्याउँथेँ। मन चिच्याउँथ्यो आमाको। पटक-पटक कति पटक रोपिरहे मलाई। मलाई त्यतिबेला लागेको थियो डाक्टरभन्दा पापी कोही हुँदैनन् संसारमा।
टाँका मारेको ग्यापमा मैले आमालाई 'पचास रुपैयाँ दिनु है आमा' भनेर सर्त राखेको थिएँ। त्यस्तो पीडा, त्यस्तो आलो घाउ माथिको सियो रोपाइ, मैले पचास रुपैयाँमा बेचिदिएको थिएँ।
के गर्थेँ म त्यो पचास रुपैयाँको? किन मागेँ मैले? मलाई सम्झना छैन। फोकटमै माग्ने समय यही हो भनेर पो मागेँ होला। छि!
अहिले लाग्छ मलाई, त्यो घटना एउटा प्रेम पीडा हो मेरो जिन्दगीको। त्यो पीडा डाक्टरले मलाई गरेको प्रेम थियो, पाप थिएन। सियोले जति प्रेमले घोचे पनि दुख्छ दुख्नेलाई। मैले त्यो घोचाइ प्रेमले स्वीकार गर्न नसकेर पो दुखेको हो कि मलाई?
मैले स्वीकार गरेको भए पीडा अलि कम हुन्थ्यो होला कि? तर अस्वीकार गरेरै भए पनि हिजो त्यो सियो मेरो टाउकोमा नरोपिएको भए सायद आज र म एकसाथ नहुन सक्थ्यौँ।
छेउमा बसेर आमा मेरो हात समाइरहनु भएको थियो। केही समय पहिला तिनै हातले आमा लुगा धुँदै हुनुहुन्थ्यो। हामी भोलि काठमाडौँ जाँदै थियौँ।