म परीक्षा सकेर बाहिर निस्किँदै थिएँ। शिलु अघिनै कापी बुझाएर ढोका छेउमा उभिरहेकी रहिछन्।
मैले सोधेँ, 'कस्तो भयो त आजको परीक्षा?'
'ठिकै भयो, पोहोरको भन्दा राम्रो। यसपालि चाहिँ पास हुन्छु होला,' उनको जवाफ थियो।
'ल हिँड बसपार्कसम्म सँगै जाउँ' भन्दै उनको हातबाट प्रश्नपत्र लिएँ। परीक्षाका गन्थनमन्थन गर्दै हामी क्याम्पसबाट बाहिरियौँ।
बाहिर पुगेपछि ठट्टा गर्दै भनेँ, 'मास्क खोल न यार अब त, तिम्रो अनुहार नदेखेको पनि निकै भइसक्यो।'
'देखिराखेकै त हौ नि, कति हेर्छौ हौ!' मुसुक्क हाँस्दै जवाफ दिई। मास्कको एक छेउबाट देखिएको उनको मुस्कान एक ध्यानले हेरिरहेँ।
त्यसै पनि उनलाई धेरैपछि भेट्दा मनैदेखि गद्गद् थिएँ। उनीसँग धेरै मनका कुरा गर्न थियो, पाइला अघि बढ्न मानिरहेका थिएनन् तर मसँग समय निकै कम थियो। त्यहाँबाट घर आइपुग्न बसमा करिब तीन घण्टा लाग्थ्यो।
उनी पनि त्यही दिन आफ्नो घर उदयपुर जाने रहिछन्। केही वर आएपछि हतारिँदै भनिन्, 'ओइ, मलाई ढिलो भयो यार, आजै घर जानुपर्ने। अंकल यहीँ विराटनगरमै पर्खिराख्नु भा'छ।'
बसपार्कसम्म सँगै जाउँ न भनेर कर गरिरहेँ तर मानिनन्।
'तिमीसँग धेरै मायाप्रेमका कुरा गर्नुछ तर कहिल्यै जुर्दैन यार। अब हाम्रो कहिले भेट हुन्छ?' मेरो निराशाजनक प्रश्नमा उनको जवाफ थियो, 'खै! भेट होला नि चाँडै।'
त्यत्तिकैमा टेम्पो आइपुग्यो।
'छिट्टै भेट है' भन्दै बिदाइको हात हल्लाएँ। उनी टेम्पोमा बसेर मतिर हेर्दै हाँसिरहिन्, म उनलाई पर पुगुन्जेल एक धुनले हरिरहेँ। अफसोच! प्रेमी-प्रेमिकाको रुपमा त्यो नै हाम्रो अन्तिम भेट बन्न पुग्यो।
अहिले महिनौँ भयो उनलाई नदेखेको। बेलाबखत विराटनगर जाँदा यी आशावादी आँखाहरू कतै शिलु देखिन्छिन् कि भनेर बसको झ्यालबाट उनी बस्ने ठाउँतिर एक धुनले हेरिरहन्छन्। तर बुझ्दैनन्, अब उनी मैले भेटका चोक-गल्लीहरूमा मेरो प्रतीक्षामा कहिल्यै बस्ने छैनन् भनेर।
शिलुसँग मेरो पहिलो भेट क्याम्पसमै भएको थियो। एउटै क्याम्पस, एउटै संकाय, एउटै कक्षा भएर पनि उनलाई मैले अन्तिम वर्षमा मात्र देखेको। पत्रकारिता गर्दै आएको म क्याम्पस जान त्यति भ्याउदिन थिएँ। बिबिएस चौथो वर्षको प्रोजेक्ट वर्क बनाउने क्रममा उनीसँग चिनजान भयो। हाम्रो प्रोजेक्ट वर्कको सुपरभाइजर पनि एउटै सर हुनुहुन्थ्यो, त्यही भएर पनि उनीसँग अलिक घुलमिल हुने मौका पाएँ। प्रोजेक्ट वर्क सकिएपछि उनी घर गइछन्।
यता मेरो मनले के ठान्यो कुन्नी, उनीसँगका पलहरू रमाइलो मानेर आँखामा नचाउन थालेको थियो। मनमा सजाउन थालेको थियो। टाढा भए पनि म उनीसँग फेसबुक च्याटमार्फत नजिकिन थालेँ। केहीपछि प्रेम प्रस्ताव राख्ने आँट आयो र उनलाई भनेँ, 'आई लभ यू शिलु। तिमी कतिबेला मनमा बस्यौ पत्तै भएन यार।'
'हेर टेकु, हाम्रो अहिले प्रेम गर्ने बेला हैन। पहिले आफ्नो करियर बनाउँ, एकअर्कालाई अझै नजिकबाट बुझौँ न,' उनको जवाफ थियो।
उनको जवाफ एकदमै सही लाग्यो तर प्रेमको खोजीमा रहेको मन यही जवाफले के चित्त बुझाउँथ्यो र! फेरि प्रस्ताव गरेँ, 'तिम्रो कुरा ठिकै हो तर पछि त तिमी मसँग नहुन पनि सक्छौ। म तिमीलाई गुमाउन चाहन्नँ। बरु हामी प्रेमसँगै करियर अघि बढाउँला न।'
केही पछि म्यासेज आयो, 'रिलेसनमा बस्यो, बीच बाटोमै छोड्ने हौ कि! म सोचेर भोलि फोन गर्छु है? ल, गूड नाइट।'
उनले के जवाफ देलिन् भनेर सोच्दा सोच्दै रात बित्यो। केही बिसन्चो भएर भोलिपल्ट अस्पताल गएँ। अस्पतालबाट निस्कँदै गर्दा नयाँ नम्बरबाट फोन आयो।
फोन उठाएँ, 'को बोल्नु भो?'
उताबाट जवाफ आयो, 'चिनेनौ र? म शिलु।'
हाम्रो त्यो फोनमा करिब एक घण्टा गहिरिएर कुरा भयो। अन्तिममा उनले भनिन्, 'मलाई फोनमै भन्न अप्ठ्यारो लाग्यो। म्यासेज हेर त।'
फोन नराखी हत्तपत्त म्यासेज हेरेँ, 'लभ यू टु टेकु। धेरै माया' लेखिएको थियो।
त्यो म्यासेज हेरेर म एक्लै उफ्री-उफ्री नाचेको थिएँ। पहिलो पटक कुनै युवतीसँग प्रेममा परेको मलाई त्यसबेलासम्मको सबैभन्दा ठूलो खुसी, सफलता हो जस्तो लाग्थ्यो। प्रेमकै कारण भविष्यमा अरु सफलता नछेकिऊन् भनेर हामीले कसरी अगाडि बढ्ने भन्ने योजना बनायौँ। उनी सरकारी जागिर खान्छु भनेर खरिदार, सुब्बाको तयारी गर्दै थिइन्।
मलाई फोन नगर्नू, फुर्सदमा म आफै गर्छु भन्थिन्। धेरै म्यासेजमा र थोरै फोनमा कुरा हुन्थ्यो हाम्रो। उनीसँग बोल्दा हरेक दु:ख भुल्थेँ म, मायाप्रेमको त्यो छुट्टै दुनियाँ थियो।
केही समय यसरी नै बित्यो। एकअर्काको भावना साटासाट गर्ने अवसर मिले सम्बन्ध मजबुत बनाउन, आफ्नो प्रेम बुझाउन सहज हुन्छ भन्ने लाग्यो र उनलाई भनेँ, 'यसरी धेरै कुरा हुन पाउँदैन शिलु, घरको काम सकेपछि एकपटक भेटेर मजाले कुरा गरौँ न।'
उनले 'रोपाइँ चलिराछ अहिले, रोपाइँ सकेर भेट्छु' भनेकी थिइन्।
भेट्न चाहिरहे पनि समय मिलेको थिएन। विराटनगर हुँदा कहिलेकाहीँ भेट हुन्थ्यो तर गहिरिएर कुरा गर्ने परिस्थिति कहिल्यै भएन। आंशिक परीक्षाको फाराम भर्दा क्याम्पसमा भेट भयो तर उनी हतारमा थिइन्। फाराम भरिसकेर मैले भनेँ, 'बस, एकछिन यहीँ गफ गरौँ न।'
हतारिँदै भनिन्, 'समय छैन यार, भाइलाई खाना पकाइदेकै छैन। अहिले बरु मलाई अलिक पर पुर्याइदेऊ न। दसैँपछि फेरि विराटनगर आउँछु, अनि तिमीले जहिले भन्छौ तहिले भेटौँला न। मलाई पनि तिमीसँग बसेर धेरै कुरा गर्नु छ नि यार।'
थोरै भए पनि गफ गर्दै उनलाई स्कुटरमा राखेर बस्ने ठाउँ नजिकै पुर्याइदिएँ।
दसैँपछि उनको ममी बिरामी हुनुभएछ, भेट्न कर गर्ने कुरा भएन। विस्तारै उनी फोन म्यासेजमा पनि कम बोल्न थालेको महसुस भयो। पहिलाको जस्तो हाउभाउ, बोली हराउँदै थियो। सकेसम्म जोडेको सम्बन्ध नटुटोस् भनेर म उनीसँग त्यो कुरा बुझ्न खोजिरहन्थेँ।
उनले मबाट के चाहन्छिन्, मेरो कस्ता व्यवहारले उनलाई खुसी बनाउन सक्छु भनेर आफ्नो कमजोरी पनि खाजिरहन्थेँ। उनी भन्थिन्, 'बोलराछु नि, यहाँभन्दा मलाई त्यति बोल्नै आउँदैन। भ्याउँदिनँ पनि।'
हुन त कम बोल्दैमा प्रेम हराउँछ भन्ने पनि हैन। सायद उनी पनि केही बाध्यतामा थिइन् होला। कुनै दिन भेटेर मनका कुरा साटासाट गरौँला अनि सबै समस्या सुल्झेलान् भन्नेमा ढुक्क थिएँ, चाँडै भेट्नेमा आशावादी पनि।
त्यसपछि एकैचोटी परीक्षाको दिन हो भेट भएको। 'खै! भेट होला नि चाँडै' भन्दै परीक्षा सकेर घर गएकी उनी केही दिन सम्पर्कमै आइनन्। यता उनी सम्पर्कविहीन भएपछि छटपटाहट बढ्दै गयो। पछि उनैले बोलाइन्, किन सम्पर्क विहीन बसेको भनेर रिसाइदिएँ।
'बोल्न मन लागेन हो मसँग? मनै लाग्दैन भने त के भन्नु र नबोल।'
त्यो कुराले उनी झन् रिसाइछन्। एक/दुई दिन फकाउने प्रयास गरेँ, पछि खुसी भएजस्तै लाग्यो र सोधेँ, 'अब त फकियौ होला नि!'
तर उनको म्यासेजले म छाँगाबाट खसेजस्तै भएँ। भनेकी थिइन्, 'अब यसपालि मेरो बिहे गरिदिने कुरा छ। बुवाआमाको खुसी नै मेरो खुसी हो। अबदेखि मलाई फोन, म्यासेज नगर ल। पछि मलाई पनि नराम्रो हुन्छ तिमीलाई नि।'
मैले उनलाई मनाउने प्रयास गरिरहेँ तर उनले बारम्बार त्यही कुरा भनेपछि स्वीकार्नु बाहेक विकल्प थिएन। गहभरि आँसु थिए केही आँट आएन, अन्तिममा भने, 'उज्ज्वल भविष्यको कामना तिमीलाई। मेरोबारे नसोच, तिमी सधैँ खुसी हुनू।'
त्यसपछि हाम्रो सम्पर्क टुट्यो, उनले बिहे गरिन्/गरिनन् थाहा छैन। तर यता मन तड्पाउन उनका यादहरू काफी थिए। प्रेममा एकतर्फी लगाव र बढी भरोसा भएकोले होला आफ्नो मन बुझाउन पनि धेरै समय लाग्यो।
पहिले निकै गाढा लाग्ने उनको प्रेम विस्तारै विस्तारै कम हुँदै शून्यतामा टुंगियो। उनको मनसँग मन जोड्न गरेका प्रयासहरू अलपत्र परे। अन्ततः उनलाई आफ्नो प्रेम बुझाउनै सकिनँ।