एकदिन आमाले
भाटको घरबाट एउटी पूरै लिखा र कीर्नाले पुरिएकी
स्यानी, पातली, दुब्ली पाडी डोर्याउँदै ल्याउनु भयो घरमा
सायद म सात/आँठ वर्षको हुँदो हुँ
आमा र मैले खुब रेखदेख गरेपछि
दुई वर्षमै
मज्जाको सर्लक्क परेकि चिल्लो
दूध दिने काली भैँसी भइन्
अब बिगौती खान पाइने भो भन्दै
म बेस्सरी खुसीले आँगनमा नाँचेँ
आमाले एउटा सानो बाँसको लठ्ठी चिरेर
मकैको खोस्टामा काली भैँसीको घ्यू
सात ठाउँमा बाँध्नु हुन्थ्यो र
घरको मूल खाँबोमा सिउरिँदै
भन्नुहुन्थ्यो- दुहुनु भैँसी र आमा एकै हुन्
म आमाका हर कुरालाई आदर्श मान्थेँ।
आमा कही गएर घर फर्कंदा
गोठमा भैँसीले मायालु पाराले आइँ भन्थ्यो
अनि आमाले हजुर आएँ
पख बा एकछिन भन्दै लुगा फेरेर
गोठमा भैँसी सुम्सुम्याउन जानुहुन्थ्यो
म आमाको पछि-पछि गोठमै पुग्थेँ।
सायद काठको ठेकीमा पारेको मोहीले
गोठसम्म पुर्याएको हुनुपर्छ मलाई
बासी ढिडोमा मोही हालेर
चिनी छर्किदिनु हुन्थ्यो आमाले
म स्वाम-स्वाम रमाउँदै खान्थेँ।
हरेक बिहान-बेलुकी आमा काली भैँसीको
दूध दुहुँदै गर्दा, म हातमा सिलटको पुरानो
बटुको लिएर आमासँगै उभिने गथेँ।
आमा रातो कोइलामा नौनी घ्यू चुहाउँदै
भन्नुहुन्थ्यो- पहिला चोखो भगमानलाई चढाउनु पर्छ
धुवाँबाट मगमग घ्यूको बास्ना आउँथ्यो
म आमाको कुरालाई धर्म मान्थेँ।
भैँसी चोख्याएको केही दिनमै
आमा म नभएको मौका पारेर
पालेको बापत केही रकम बुझेर
काली भैँसी उसको धनीलाई पठाइदिनु हुन्थ्यो
म घर आएर रित्तो गोठमा उभिएर
मौन र भोकै बस्थेँ
आमासँग खुब रिसाउँथेँ।
आमा मलाई यस्तो भन्दै फकाउनु हुन्थ्यो-
त्यो अर्काको भैँसी हो, उनीहरूले लगे
तँ ठूलो भई पैसा धेरै कमा
अनि आफ्नै भैँसी किनेर पालौला
सधैँ दूध, मोही, घ्यू खाउँला
कोही कसैले लाँदैनन्।
विस्तारै समय चक्र यसरी घुम्दै गयो
छुटे आमा, काली भैँसी र
आमाले भैँसी दुहुँदै गर्दा
सिलटको बटुको लिएर आमा छेउ
उभिने बालापन
आज न आमा छिन् न
काली भैँसी
छन् त केवल
५५ डिग्री गर्मी र तातो मरूभूमि
मरूभूमिमा केही डरलाग्दा उँटहरू
आजकल हाम्री आमाले भैँसी पालेजस्तै
म उँटहरू पाल्छु
हाम्री आमालाई काली भैँसीले
जस्तो मायो
यी उँटहरू गर्दैनन् मलाई
र यी उँटको दूधको न मोही नै हुन्छ न त घ्यू
चाहिँदैन बाँसको लठ्ठी न मकैको खोस्टा
न आमाले जस्तै चोखो भगवानलाई चढाउनु पर्छ
म आमालेजस्तै गरी
उँटको दूध दुहुछु र उँटको दूधलाई
काली भैँसीको दूध सम्झँदै
यही दूधमा बासी खबुस (रोटी) चोप्दै
बालापन सम्झँदै टोक्ने गर्छु।
यो खाडीमा मलाई प्यास र भोक
यीनै उँटको दूधले मेट्ने गर्छन्
आमाले भनेजस्तै
यी उँटहरू पनि आमाजस्तै हुन् त?