बाजेको पालामा ढुंगाले छाएको चिटिक्क परेको घर र नजिकै गैह्री खेतमा २५–३० मुरी धान फल्ने खेत थियो। खान लाउनको कुनै दुःख थिएन। रामप्रसाद गाउँका साह्रै सज्जन, इमानदार तथा नैतिकवान शिक्षक थिए।
पल्लो गाउँमा उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक थिए र नैतिक शिक्षा तथा इतिहास पढाउने गर्थे। श्रीमतीले घरधन्धा र भैंसी–बाख्राको स्याहार गर्थिन्। दुर्गम जिल्लाको गाउँमा स्नातकसम्म पढेकामा उनी पाँच औंलामा गन्ने मध्येका एक थिए।
धेरैजसोका छोरा–छोरीलाई पढाएका समाजसेवी रामप्रसादलाई गाउँलेले रामबाबु मास्टरसाब भनि आदर गर्ने गर्थे। घर–गृहस्तीको समस्याले गर्दा आफूले धेरै पढ्न नपाए पनि छोरा–छोरीलाई पढाउनु पर्छ भनि निकै माया गर्थे। विद्यालय घरबाट करिब आधा घण्टाको दुरीमा थियो। छोरा दिपक र छोरी दिपीका तथा गाउँका अन्य विद्यार्थीहरुसंगै उनी विद्यालय जाने–आउने गर्थे। बाटोमा ज्ञानवर्धक एवं रोचक गफ र कथामा भुलाउने गर्थे, जसले गर्दा उकाली ओरालीको कटेको थाहै हुँदैन्थ्यो।
केही वर्षपछि रामप्रसादले पनि अवकाश पाए। छोरीको विद्यालय तहको शिक्षा सकिएपछि पल्लो गाउँमा विहे गरी अन्माए। गाउँको विद्यालयको पढ़ाई सकिएपछि कलेजमा पढ्न सदरमुकाम वा काठमाडौंतिर जानुपर्थ्यो। सदरमुकाममा बाह्र कक्षा पास गरेपछि दिपकले इञ्जिनियरिङ पढ्न काठमाडौं जान इच्छा गर्यो।
तर, उच्च शिक्षा धेरै मँहगो भएकोले रामप्रसादको पेन्सनले मात्र खर्च धान्न सहज थिएन्। गाउँको शिक्षकसँग कति नै धन हुन्छ र त्यसमाथि छोरीको बिहैको खर्चको ऋण–भार पनि थियो। छोराको भविष्यको लागि केही गर्नै पर्यो भनि खेत बेचेर पढाउने विचार गरे। तर, गाउँको जग्गा भन्ने बित्तिकै कसले खान्छ? अन्ततः धने मुखियाबाका छोरालाई सस्तैमा बेचेरै खर्चको जोहो गरे र छोरालाई इञ्जिनियरिङ पढ्न काठमाडौं पठाए।
अर्को वर्ष रामप्रसादकी बुढ़ीले पनि उमेर नपुग्दै यो संसार छाडेर गइन्। अब रामप्रसाद गाउँमा एकल जीवन बिताउँदै समाजसेवाको काममा लागे। उनी शारीरिक रुपले निकै कमजोर भइसकेका थिए र बेलाबेलामा बिरामी भइरहन्थे। गाउँ–घरमा जडी–बुटीको उपचार बाहेक अर्को ब्यवस्था थिएन।
एकपल्ट उनी सिकिस्त बिरामी भए र सदरमुकामको जिल्ला अस्पतालमा गएर जचाउँदा डाक्टरले थप उपचारार्थ काठमाडौं जाने सल्लाह दिए। भाइसंग उनी काठमाडौं गए र ठूलै अस्पतालमा जचाए। गाउँघरमा धेरै परिश्रम गर्नाले दम र मुटुको बिमार भएको रहेछ। काठमाडौंमा बस्दा त्यहाँको दूषित वातावरणले बस्नै नसकी उनी छिटै गाउँ फर्के।
एकदिन दिपक घरमा आएको बेलामा रामप्रसादले भने-बाबु ! अब तिम्रो बिहे गर्ने बेला पनि भयो। यहाँ घरबार हेर्ने मान्छे पनि कोही भएन। पल्लो गाउँका मुखियाबाकी नातिनी छिन्। पढे–लेखेकी राम्रो शील स्वभावकी छिन् र अचेल कुनै प्रोजेक्टमा जागिर खान थालेकी छन्। विचार भए कुरा गरौं?
छोराले भन्यो – बा! यो विषयमा मैले निर्णय गरिसकेको छु। छोराको कुरा सुनेर रामप्रसादले भने – ओहो ! मेरो छोरा कति स्मार्ट भएछ। कुरो बुझ्दा काठमाडौंमा एउटा ठूलै हाकिमकी छोरीसँग उनको प्रेम रहेछ। छोराले रूचाएपछि उनी पनि खुशी थिए।
छोराको इच्छानुसार एकदिन काठमाडौं गएर केटीको घरका मान्छेलाई भेटे र बिहे पक्का भयो। धुमधामका साथ काठमाडौंबाटै बिहे गरिदिए। छोरा–बुहारी दुवै जना अब काठमाडौंमा डेरा गरेर जागिर खान थाले। एकदिन रामप्रसाद बिरामी भएर जचाउन काठमाडौं जाँदा छोराले भन्यो – बा ! हजुरले धेरै दुःख गर्नुभयो र स्वास्थ्य पनि राम्रो छैन। त्यसैले अब गाउँ छाडेर हामीसँगै बस्नुहोस्।
रामप्रसादले विचार गरौंला भनि गाउँ फर्के। किनभने, रामप्रसादलाई गाउँको श्रीसम्पत्ति च्वाट्टै छाडेर काठमाडौं आउन गाह्रै थियो।
आफूले गर्न नसकेपछि खेतबारी सबै अधियाँमा दिए। जिउलाई त आराम भयो, तर काम बिनाको एक्लो मान्छे घर बस्दा झन थलिँदै गए। एकदिन बिमारी मान्छे छोरा–बुहारीसँगै बस्नु पर्ला भनि काठमाडौंतिर हिँडे। केहीदिन त काठमाडौंमा रमाईलै भयो, तर दिनभरी छोरा–बुहारी काममा जाने र आफू एक्लै बस्नुपर्ने र त्यसमाथि आफूसँग उमेर र मन मिल्ने कोही साथी नहुँदा काठमाडौंमा दिन काट्न गाह्रो भयो।
कतै डुल्न जाउँ भने नाक थुनेर हिँड्नु पर्ने वातावरण। घरिघरि गाउँको सम्झनाले सताउन थाल्यो। गाउँबाट आएको केही दिनमै उनी झन बिरामी भए र अस्पतालमा जँचाउन लगिराख्नुपर्ने भयो। धनीमानी घरमा हुर्केकी र काम गर्ने बानी नभएकी बुहारीलाई ससुराको सेवा सुसार गर्न झिँजो लाग्थ्यो। लोकाचार पार्दै सेवा गरे पनि ससुराप्रति केही अप्रिय व्यवहार दर्शाउन थालिन्।
‘बाबालाई गाउँमा पठाई दिए हुन्न?’ एकदिन त बुहारीले दिपकसँग भनि हालिन्। दिपकले भने – गाउँमा बुआको रेखदेख कसले गर्छ? यस्तो अवस्थामा बाबा हामीसँग नबसे कहाँ जानुहुन्छ? र कसले सेवा गर्छ?
बुहारीले भनिन् – जो सुकैले गरोस् तर, म तिम्रा बुबाको सुसार गर्न सक्दिनँ। मेरो पनि जागीर छ। सुसार गर्ने अरू मान्छे खोजेर ल्याउ कि, आफैं घर बसेर गर।
रामप्रसाद बाहिर बराण्डामा बसेर पत्रिका पढ़ी रहेका थिए। ती कटुबाणीहरु उनका कर्णद्वारबाट प्रवेश गर्दै अन्तर्मनसम्म पुगे। रामप्रसाद एक आध्यात्मिक विचारका बुझ्ने मान्छे थिए। कुरा सुनेपछि उनले सोच्न थाले – म यहाँ बसे त छोरा–बुहारीको झगड़ा हुने हो कि? बुहारीले नरूचाएपछि किन यहाँ हेपिएर बस्ने? बरू, गाउँमै मेरो इज्जत छ र उतै गएर ढिँड़ो–पिठो खाएर गाउँको वातावरणमा आनन्दले जीवन बिताउँछु।
बेलुकी छोरालाई भने – बाबु ! मलाई एक महिनाको औषधि किनेर ल्याईदेउ, म केही समयको लागि गाउँ गएर आउँछु। भोलिपल्ट औषधि किनेर छोराले बुबालाई बस चढ़ाएर घर पठाए।
ससुराको सेवा सुसार गर्न नपरेपछि बुहारी पनि प्रसन्न भइन्।
गाउँमा पुगेपछि डाक्टरको सल्लाह अनुसार बिहान बेलुकी डुल्न थाले र बारीमा हल्का कुटो कोदालो गर्दै साग–सब्जी उत्पादन गर्न थाले। गाउँको हावापानी र खानाले सबै रोग सञ्चो भए जस्तै भयो। एकदिन गाउँमा एकजना आफन्तकोमा सप्ताहमा गएर फर्कंदै थिए।
बाटोमा एक जना चिनेका बुढ़ा मान्छेले छोरा–बुहारीले आफूलाई साह्रै हेला गरेको कुरा सुनाए र रामप्रसादलाई सोधे – हजुरका छोरा–बुहारी कस्ता छन् नि? रामप्रसाद नैतिक शास्त्र पढ़ाउने एक शिक्षक थिए। त्यसैले आफ्नो घरको कमजोरी बाहिर नदेखाई मुस्कुराउँदै उत्तर दिए – दाइ ! हाम्रा छोरा–बुहारी त साह्रै जाती छन्। काठमाडौंमा बस्न आउनु भनि हुरूक्कै गरेका थिए। तर, मलाई त्यहाँको हावापानी मन नपरेर गाउँमै फर्कें। त्यहाँ गाउँको जस्तो आनन्द कहाँ छ?
कोरोना महामारीले गाडी–घोड़ा चारैतिर बन्द थियो। बन्द खुलेपछि रामप्रसाद एकदिन जचाउन भनि काठमाडौं पुगे। छोराले बुबाको स्वास्थ्यबारे जानकारी लिए र भोलिपल्ट अस्पताल लगेर गएर जँचाएर ल्याए। बुहारीको मुखमण्डलमा असन्तोषको बादल छाईरहेको थियो।
बुहारीको ब्यवहार र काठमाडौंको प्रदूषण सम्झेर त्यहाँ बस्न कत्ति मन थिएन, तर छोराले केहीदिन बस्न अनुरोध गरेपछि केही दिन बसेर घर फर्कने विचारमा थिए। अचानक उनलाई रूघा लागेर हल्का ज्वरो आयो। एक–दुई दिनमा सञ्चो भएपछि जानुहोला भनि छोराले अझै केहीदिन बस्न भने। भोलिपल्ट अवस्था जटिल भएको देखेर छोराले अस्पतालमा जँचाउन लगे।
कतै कोरोना त हैन भनि बुहारीले शंका गर्दैथिईन्। अस्पतालमा सबै परीक्षण गराएपछि बाबाको अवस्था सन्तोषजनक भएको र बेडको अभाव भएकोले डाक्टरले घरमै लगेर एकान्तबासमा राखेर उपचार गर्ने सल्लाह दिए। ससुरालाई घर फर्काएको देखेर बुहारीलाई चित्त बुझेको थिएन। तर, बुहारी भएपछि लोक–लाजको पनि ख्याल गर्नुपर्ने भएकोले राम्रो सेवा गर्ने नाटक गर्दै घर पछाडिको सर्भेण्ट कोठामा सरसफाई गरिन्। त्यहाँ बाबालाई आराम र सजिलो हुन्छ। अरू सेवा त म गरिहाल्छु नि भन्दै लोकाचार पार्दै उतै लिएर गईन्।
गाउँमा ठाटबाटसंग बसेका मास्टरसाबलाई आफ्नै छोरा–बुहारीको डेराको सर्भेण्ट कोठीमा बस्नुपर्यो। तर, सुख–दुःखमा आफूलाई समयसापेक्ष समायोजन गर्नसक्ने मास्टरसाबले जीवनमा जे पनि सहनुपर्छ भनि यसलाई अन्यथा नलिई त्यहीँ बसे।
भोलिपल्ट कोरोना संक्रमण भएको रिपोर्ट आयो। कोरोनाले कहाँनेर धजो हालेछ भनि आत्मविश्लेषण गर्दै आफैंलाई दोष दिन रामबाबु पछि हटेनन्। कोरोना भएको पुष्टि भएपछि बुहारीलाई झनै खपिनसक्नु भयो। अब कोरोना भएको र उमेर पुगेको बिमारीलाई घरमा किन राख्ने भनि बुहारीले भनिन्।
रामप्रसादले सबै कुरा बुझेको हुनाले यो महामारीको बेलामा बुहारीको कुरा ठिकै हो भनि केही प्रतिक्रिया जनाएनन्। ज्ञानी र असल मान्छेलाई कुन बेलामा के भन्ने र के नभन्ने कुरा थाहा हुन्छ। रोग त सबैलाई लाग्छ, तर यो कस्तो रोग नेपालमा आएको रहेछ कि रोगीलाई माया गर्नु पर्नेमा झन मानिसको बिचमा विशेष गरि आफन्तमा घृणा पैदा गरीदिन्छ भनि उनले मनमनै सोच्दै थिए।
यहाँ उनको नैतिक शिक्षा काम नलाग्ने भयो। दिपकको आफ्नो कार थिएन। त्यसैले बुढीको कारमा लिएर जान खोजे, तर बुढीले आफ्नो कारमा नपठाएर एउटा ट्याक्सी बोलाएर ससुराबालाई श्रीमानसँग अस्पताल पठाईन्। आफू भने संक्रमण सर्ला भन्ने डरले टाढै उभिएकी थिईन्।
छोराले बाबालाई शहरमा जताततै डुलाए, तर कोरोनाको ज्वरोको शंकाले कुनै अस्पतालले बेडको अभाव देखाउँदै भर्ना लिन मानेन। बुहारीले माईतमा बाबालाई फोन गरेर ससुराबालाई कुनै अस्पतालमा भर्ना गरी उपचार गर्ने ब्यवस्था मिलाई दिन अनुरोध गरिन्।
हाम्रो ब्यवस्था पनि कस्तो? अस्पतालको बेडमा भर्ना हुन पनि पावर लाउनुपर्ने। गरिब–गुरूवाले के गर्दा हुन्? जेहोस्, ससुराबाको हाकिमी बल प्रयोग गर्दा एउटा अस्पतालमा भर्नाभयो र छोराले अस्पतालको प्रतिक्षालयमा रात बिताए। भोलिपल्ट बिहान दिपक घर फर्के, तर कोरोना बिरामीको संसर्गमा रहेकोले श्रीमतिजीको आज्ञानुसार दिपकलाई आफ्नै घरको सर्भेण्ट कोठामा क्वारेण्टीनमा बस्नुपर्ने भयो।
एक सप्ताहसम्म दिपक अफिस गएनन् र बाबाको हेरचारमा लागे। उनलाई कोरोनाको कुनै लक्षण थिएन, तर पी.सी.आर. रिपोर्ट नेगेटिभ आएपछि मात्र आफ्नो कोठामा पस्ने अनुमति पाए। स्वास्थ्य सुरक्षाको हिसाबले त सबै ठिकै थियो, तर किन हो किन उनी श्रीमतिको ब्यवहारबाट सन्तुष्ट थिएनन्।
दुई सप्ताहको उपचार पछि रामप्रसादलाई सन्चो भयो र घर फर्केर आए। बुहारीले लोकाचार पार्दै बाबालाई घर पछाड़िको सर्भेण्ट कोठामा आराम र सजिलो हुन्छ भनि फेरि उतै लिएर गईन्। रामबाबुलाई फेरि त्यही कालकोठरीमा कैदी–बन्दी जस्तै बस्नुपर्ने भयो।
मधुरो बत्ती, हावा पनि राम्रोसँग नआउने र आफूले इच्छा गरेको बेलामा भनेजस्तो खान पाउन कुरेर बस्नुपर्ने थियो। न टेलिभिजन हेर्न पाईने, न कोहीसँग कुरा गर्न पाईने।
दयालु बुहारीले रेडियो र पत्रिकाको सम्म ब्यवस्था गरि दिएकी रहिछन्। कहिलेकाहीं केही खान पाउने लोभले नजिकैको एउटा कुकुर आउँथ्यो र उसंग केही बोल्ने मौका मिल्थ्यो। बुहारीले पनि नगरेकी त होईनन्। उनले खाना पकाएर दिन्थिईन्। दिउँसो उनीहरु काममा गएको बेला बिस्कुट, पानी र फलफूलको ब्यवस्था पनि गरिदिएकै थिईन्।
बेलुकी कामबाट आउने बित्तिकै बुहारीले लोकाचार पार्दै भए पनि चिया पानीको ब्यवस्था गर्दै स्याहार गरेको नाटक गर्थिन्। जे जसो भए पनि महामारीको बेलामा यो एक बाध्यात्मक अवस्था हो भनि उनले यसलाई सहर्ष स्वीकार गर्दै एकान्तबासका दिनहरु एक युग जस्तै बिताईरहेका थिए।
काठमाडौंको चिसो र प्रदूषणले गर्दा हो वा रोगले च्यापेर हो केही दिनपछि रामप्रसादलाई स्वाँस प्रस्वाँसमा गाह्रो हुन थाल्यो। एक–दुई दिन त सञ्चो होला भनि सहेरै बसे, तर अवस्था जटिल हुँदै गएपछि छोराले तुरुन्तै अस्पताल लगे। सबै जाँच गराएपछि फोक्सोमा कोरोना संक्रमण नभई अन्य संक्रमणबाट निमोनिया भएको थाहा भयो र केहीदिन फेरि भर्ना भएर बसे।
दिपकले एक हप्ता बिदा लिएर हेरचार गरे र उपचारपछि घर फर्के। रोगले सिथिल भएका ससुराको स्याहार गर्दा गर्दै वाक्क भएकी बुहारीले एकदिन बिहानै दिपकलाई भन्दै थिइन् – बावालाई यहाँ किन राख्ने? अब गाउँ पठाईदेऊ। म दिनभरी घर बसेर तिम्रो बाबाको सेवा सुसार गर्न सक्दिनँ। मलाई काममा जानु पर्छ। बरु तिमीले बिदा लिएर बाबाको सेवा र स्याहार गर, कि कोही स्याहार गर्ने मानिस खोजेर ल्याउ। ओहो! त्यो कटु वाणी सुन्दा दिपकको मन चस्याक्क भएर दुखेको त थियो नै, तर तीखो वाणका विषाक्त तरंगहरुले रामप्रसादका कानका द्वारहरु पनि छेड्दै मुटुसम्म पुगेर कम्पन गरायो। यहाँ बस्नु भन्दा त गाउँमै गएर मर्नु जाती भन्दै दुखी चित्तलाई बुझाउँदै शान्त गराए।
अरूलाई अर्ति दिँदा उनले भन्ने गर्थे- कि जिउरोमा लागेको घाऊलाई छिट्टै सन्चो गर्न सकिन्छ, तर जिउरोबाट निक्लेको कटु वाणीले गराएको घाउलाई कहिले पनि सन्चो गर्न सकिन्न। यसले मुटु भित्र छिया छिया पार्न सक्छ।
आज उनलाई त्यसैको अनुभव गर्ने मौका मिलेको थियो। अब यहाँ बस्न ठीक छैन् भनि कसैलाई केही गुनासो नगरि छिटै गाउँ जाने निर्णय गरे। यही त ज्ञानी र सज्जन मान्छेको गुँण हो। बेलुकी खाना खाने बेलामा छोरालाई भने – बाबु ! मेरो उपचार गर्दा तिमीहरुलाई निकै गाह्रो भयो र तिमीहरु जागिरे मान्छेको धेरै धन र समय पनि खर्च भयो। त्यसैले अब म गाउँ जान्छु र केही जग्गा बेचेर उपचारको लागि खर्चको ब्यवस्था गर्छु र तिमीहरुलाई पनि केही पैसाको ब्यवस्था गरौंला।
पैसा पाउने भएपछि त छोरा–बुहारी निकै खुशी देखिन थाले र तामा पलाए जस्तै मुटु भित्रबाट मायाको टुसा सुटुक्क पलाएर आयो। त्यो देखेर यो कस्तो स्वार्थी संसार भनि रामप्रसाद मनमनै सोच्दै थिए। भोलिपल्ट बाबालाई कारमा राखेर छोरा–बुहारी बस पार्कसम्म छोड्न गए र बाबा! राम्रोसँग जानु है भन्दै बसमा चढाएर घर फर्के।
गाउँमा लकडाउन लागू गरिएकोले युवाहरुले बाहिरबाट कोरोना ल्याउँछन् भनि रामबाबुलाई गाउँभित्र पस्नै दिइएन। त्यतिखेर गाउँमा पनि छ्यापछ्याप्ती कोरोना संक्रमण फैलिएको थियो। केही बेरपछि त्यहाँ एकजना मान्छे आई पुगे। तिनी रामबाबुले पढाएका वडाध्यक्ष रहेछन्। रामबाबुलाई देख्ने बित्तिकै सादर प्रणाम गरे र सोधे-मास्टरसाब ! हजुर कताबाट आई पुग्नुभयो?
रामबाबुले भने अध्यक्ष बाबु ! म अहिले काठमाडौंबाट मुटुको उपचार गराएर आएको हुँ। वडाध्यक्षले भने – सर ! कोरोनाले गर्दा हजुर दुई हप्तासम्म आफ्नै घरमा एकान्तबासमा बसिदिनु होला। हुन्छ भन्दै रामप्रसाद घरतिर लागे र घरको सरसफाई गरी एकान्तबासमा बसे। काठमाडौंबाट फर्केर आएको देखेर गाउँका मान्छेहरु उनलाई भेट्न आउँथे।
एकदिन उनको एउटा पुरानो साथी भेट्न आए। रामबाबुले चिया बनाएर ल्याए र दुवैजना अलि टाढ़ै बसेर निकैबेरसम्म गफ गरेर बसे। तिमी अचेल कता बस्छौ र के गर्दैछौ? धेरै दिन भयो त तिमीलाई नदेखेको भनि रामबाबुले सोधे।
साथीले लामो वेदनामय साँस फेर्दै भने – राम ! बुढी मरेर गएपछि म एक्लै भएँ। छोरा बुहारीहरु काठमाडौंमा बस्छन्। उनीहरुले मेरो मनको कुरा बुझ्न सकेनन् र मलाई अपहेलना गरे। त्यसैले यहाँ पिल्सिएर बस्नुभन्दा भारतमा गएर एउटा आध्यात्मिक संस्थामा बस्न थालेँ र योग, ध्यान आदि गरेर आध्यात्मिक जीवन बिताईरहेको छु।
अहिले मलाई निकै आनन्द र मनमा शान्ति छ। त्यहाँ धेरै नेपालीहरु छन् र सबै आफ्ना जस्तै छन्। कसैलाई केही चिन्ता छैन्। जीवन आनन्दमय भएको छ। मरेर लानु केही रहेनछ। त्यसैले किन अनावश्यक चिन्ता लिनु र नसोचेको दुःख सहेर बस्नु?
उनको कुरा सुनेर रामबाबुले पनि एकछिन छोरा बुहारीलाई सम्झन थाले र आफू पनि त्यतैतिर जाने विचार गर्न थाले। उनले साथीलाई सोधे – साथी ! के मलाई पनि त्यहाँ गएर बस्न मिल्छ? साथीले भने – मिल्छ नि ! तर संस्थाले हामीलाई पालनपोषण गर्न त केही आर्थिक सहयोग चाहियो। मैले पनि यहाँबाट केही पैसा लगेर त्यहाँ सहयोग गरेँ। मलाई खान बस्नको निःशुल्क र राम्रो व्यवस्था छ। गाउँमा अलिकति जग्गा छ त्यही बेचेर पैसा लिन आएको हुँ। तर, तिमीलाई त्यता जान किन पर्यो?
रामबाबुले सत्य लुकाउँदै घुमाउरो पाराले भने – म पनि बुढी मरेर गएपछि एक्लै भएको छु। छोरा–बुहारीहरु काठमाडौंमा बस्छन्। मलाई उतै बस्न आउनु भन्छन्, तर मलाई गाउँमै बस्न मन लाग्छ। मन मिल्ने साथी नभएर दिन काट्न गाह्रो भएर भनेको हो।
रामबाबुको कुरा सुनीसकेपछि साथीले भने – लौ साथी ! जाने भए केही पैसा लिएर मसँगै हिँड़, हामी दुवैजना त्यहीँ बसौंला। निकै रमाइलो हुन्छ। साथीको कुरा रामबाबुलाई निकै मन पर्यो र म तिमीसँगै गएर हेरेर आउँछु भनि केही धनराशिको ब्यवस्थातिर लागे।
बुहारीको ब्यवहार देख्दा त आफ्नो घर र जग्गा जमीन जम्मै बेचेर हरिद्वार जाउँ जस्तो लागेको थियो, तर छोरा नातीको माया लागेर पुर्खौली सम्पत्ति नबेच्ने विचार गरी पचास हजारमा बन्धकीमा राखेर कसैलाई केही नभनी साथीसँग एकदिन भारततिर लागे।
दिपकलाई यो दशैमा गाउँ गएर बाबा र काकाहरुको हातको टिका लगाएर रमाईलो गरौंला भन्ने मन थियो। तर, यस्तो कोरोना फैलिएको बेलामा कहाँ गाउँ जाने? भन्दै शान्तिले हप्काउन थालिन्। के गर्ने? जोरूको गुलाम भए पछि केहि लाग्दोरहेनछ।
ससुरालीमा दशैंको टीका लगाउन जाँदा ससुराले सोधे – ज्वाईंसाब ! टीका लगाउन गाउँ जाने होला नि? उनको मुखबाट वाक्य छुट्नु अगाड़ि नै छोरीले भनिन् – यस्तो कोरोना फैलिएको बेलामा कहाँ गाउँ जाने?
दशैं तिहार सकिएपछि पनि बाबा औषधि उपचार गर्न काठमाडौं नआएपछि दिपकलाई बावाको सम्झना आयो। एकदिन विदा मिलाएर श्रीमान–श्रीमति नै गाउँतिर गए।
गाउँमा पुग्दा घरमा ठूलो ताल्चा झुण्डिएको देखेर काकाको घरमा गए। सोधपुछ गर्दा काकाले भन्नुभयो-दाइ यहाँबाट जानुभएको एक वर्ष भईसक्यो। हामीले त तिमीहरूसँग बस्न जानुभयो भन्ने सोचेका थियौं। कता जानु भएछ? जग्गा भने बन्धकी दिनुभएको रहेछ। छोरा–बुहारी बडा असमञ्जसमा परे र दुई दिन त्यहाँ बसेर फर्के।
गाउँबाट फर्कने बेलामा एउटा चौतारीमा एकछिन बिश्राम गर्दा एकजना वृद्धसँग भेट भयो। बुढा मान्छेले अभिवादन गर्दै सोधे – तपाईँहरू को हुनुहुन्छ र कहाँबाट आउनुभयो बाबु ! दिपकले हाँस्दै भने – बा ! हामी काठमाडौंबाट यहाँको पुरानो शिक्षक रामप्रसादजीलाई भेट्न आएका हौं। अहिले उहाँ घरमा हुनु हुँदो रहेनछ। हजुरलाई उहाँको बारेमा केही थाहा छ कि?
मनमा कुनै पाप नभएका ती सोझा वृद्धले भने – खोई बाबु ! मैले सुने अनुसार त रामबाबु मास्टरसाबलाई छोरा–बुहारीले साह्रै हेला गरेका रहेछन् र साह्रै चित्त दुखेर यहाँको जग्गा बन्धकी राखेर एउटा साथीसँग लाहुरतिर जानुभयो अरे। तर, कता जानुभयो भन्ने कसैलाई थाहा छैन्। थाहा भए उनैका भाइ वा छोरा–बुहारीलाई थाहा होला।
यो कुरा सुनेर दिपकलाई साह्रै आत्मग्लानी भयो र बुढ़ीतिर फर्केर निधाउरो मुख लगायो। केही बेरपछि लौ त बा! जानु पर्यो भन्दै तलतिर झरे।
दुवैको कमाई र ससुरालीबाट दिएको पैसाले काठमाडौंमा एउटा घडेरी जोरेका थिए, तर रकम अभावले घर बनाउन सकेका थिएनन्। बाबासँग केही रकम मागौंला र घर बनाउँला भन्ने उनीहरूको दाउ थियो, तर आफ्नै दुर्व्यवहार र दुर्वचनले गर्दा आज निराश भएर फर्कनुपर्यो।
बाबाले छोरालाई नैतिक शिक्षा पनि राम्रै दिएका थिए र बुहारी पनि पढेकै महिला थिईन्। तर, पढेर मात्रै त कहाँ हुँदोरहेछ र ? ईश्वरतुल्य स्वच्छ हृदय भएको एउटा स्वाभिमानी एवं इमान्दार मानिसलाई छोरा–बुहारीबाट यस्तो व्यवहारको कदापि अपेक्षा थिएन्। धनको अभिमानमा डुबेका मानिसले यो कुरा कहाँ बुझ्न सक्छन्?
कोरोनाको दोस्रो लहर शुरू भइसकेको हुनाले अब के हुने हो भनि चारैतिर त्रासको वातावरण थियो। त्यसैबेला दिपकका बुढा–बुढी कोरोनाले संक्रमित भए। दिपकको एक वर्षको छोरालाई भने संक्रमण देखिएन र हजुरआमाले हेरचार गर्न घर लगिन्। बुढा–बुढीलाई अस्पतालमा भर्ना भएर एकान्तबासमा छुट्टा–छुट्टै बस्नुपर्ने भयो। कोही पनि भेट्न आएनन्। दुवैलाई एक अर्काको चिन्ता र माया लाग्न थाल्यो। टाढा हुँदा आफ्नो मान्छेको माया बढ़ी हुँदोरहेछ।
कोरोनाले गर्दा उनीहरुको मनमा डर र नकारात्मक भावनाको बादलले घेर्न थाल्यो। अनेकौं प्रकारका नराम्रा सपनाहरु देख्न थाले। बनको बाघले भन्दा मनको बाघले खान्छ। मरिन्छ कि भन्ने डरले दिपकले बाबा, छोरा र बुढीको साह्रै चिन्ता गर्न थाल्यो र सबैलाई सम्झँदै रुँदै बस्न थाल्यो।
दिन प्रतिदिन उनको स्वास्थ्य बिग्रँदै गयो। सासु ससुराले छोरी र ज्वाईंको बराबर खबर लिईरहेका थिए। तर, छोरी डराउँछे भनि ज्वाईँको अवस्था बारे पूर्ण जानकारी दिएका थिएनन्। दुई सप्ताहपछि छोरी त संक्रमण मुक्त भइ सञ्चो भएर घर फर्किइन्।
तर दिपकको स्वाँस प्रस्वाँसमा गडबढी भएर प्राणवायुको संतृप्तिमा कमी देखिएकोले अवस्था झनै जटिल भयो। उनलाई भेण्टिलेटरमा राखेर उपचार गर्न थालियो। खबर थाहा पाएर घरका मान्छेहरु चिन्तीत हुन थाले।
बिरामी भएपछि कस्तो हुँदो रहेछ भन्ने कुरा दिपककी बुढीले बल्ल थाहा पाईन्। एकदिन अचानक बिहानै दिपकको निधन भएको खबर आयो। यो खबर पाएपछि शान्ति अकाशबाट खसे जस्तै भईन् र अनेक बिलाप गर्दै रून थालिन्। बुढ़ाको लाश हेर्न पनि दिएनन् र सेनाका जवानले प्लाष्टिकमा पोको पारेर सतगत गर्न लगे।
शान्ति अब एक्लै भइन् र उनको मनलाई अशान्तिको बादलले घेरेर ल्यायो। दिपकलाई सम्झँदै रुँदै बसिन्।
एक महिनापछि शान्तिका बुआको पनि हृदयघातका कारण मृत्यु भयो। तर, के गर्ने दैवको अगाड़ि केही लाग्दो रहेनछ। आफू एक्लो र असहाय भएको अनुभूति गर्न थालिन् र छोरालाई हेर्दै चित्त बुझाउनुबाहेक अरू उपाय नै के थियो।
लकडाउनमाथि लकडाउनले गर्दा रामबाबु भारतमै अड्किएर बसे र डेढ़ वर्षपछि नेपाल आईपुगे। बसहरू नचलेका कारण यस पटक हिँड़ेरै गाउँ जानुपर्दा निकै कठिन भयो।
गाउँ फर्केपछि आफ्नो घरबारको अवस्था देखेर पिंढ़ीमा बसी बुढीलाई सम्झेर आँखाबाट आँसुका थोपा झार्दै एक्लै कुरा गर्दै भने – हेर बुढी ! यो घरको माया कसैलाई रहेनछ। छोरा–बुहारीलाई त यो सम्पत्ति चाहिएन भने अरूले किन हेर्लान्! एक महिना जति गाउँमा बसेपछि उनलाई छोरा–बुहारीलाई भेट्न मन लाग्यो। छोरा–छोरी जे जस्तै भए पनि आमा–बुआालाई सन्तानको माया लाग्दोरहेछ। आखिर उनी एक पिता हुन् र उनले छोरालाई धेरै माया गर्थे।
एकदिन सदरमुकाम गएर आफ्नो पाकेको पेन्सन बुझे र काठमाडौंतिर लागे। छोराको डेरा पुग्दा त त्यहाँ अर्कै मान्छे बसिरहेका रहहेछन्। फोन नम्बर बिर्सेको हुनाले फोन पनि गर्न सकेनन् र सम्धीज्यूको घर गए। गेटमा पुगेर सम्धीज्यू! ए सम्धीज्यू! भनि बोलाए, तर कोही बोलेनन्।
धेरै बेरपछि फर्कन लाग्दा बुहारी बाहिर आईन् र ससुराबालाई देखेर बाबा! बाबा! भन्दै झम्टेर रून थालिन्। रामबाबुको आँखाबाट पनि आँसुका थोपा झरे, तर उनी रोएको कारण भने बुझ्न् सकेनन्।
एक छिनपछि दिपक खोई भनि सोधे। दिपकको नाम लिने बित्तिकै फेरि डाँको छाड़ी रून थालिन्। अब भने रामबाबुको मनमा चिसो पस्यो र केही शंका उत्पन्न भयो। बुहारीले बुबालाई भित्र लगिन् र बिस्तारै सम्पूर्ण कुरा बताईन्।
बुहारीका कुरा सुनेर रामबाबु एकछिन त अवाक भए। यो सबै असत्य हो जस्तो लागेको थियो। सम्धिनीज्यू भित्र कोठामा बसेर अश्रुधारा पुछ्दै हुनुहुन्थ्यो। सम्धिनीज्यूको काखमा सुतीरहेको नाती उठेर आमा भन्दै बाहिर आयो र हजुरबातिर हेरेर मुसुक्क हाँस्यो। उसलाई त्यो परिस्थितिको बारेमा के थाहा र के सरोकार?
एकछिन पछि सबै शान्त भए र शान्तिले चिया बनाएर ल्याईन्। छोरा गए पनि नातीको मुख देखेर एक दुःखी र लाचार पिताले सन्तोष मान्नुबाहेक अरु के नै गर्न सक्थे र! तर ज्ञानी रामबाबुको मन छिटै शान्त भयो। उनले मुटु दह्रो गरी भने-बुहारी! अब नरोऊ यो संसारको रिति यस्तै छ। किन चिन्ता लिन्छेऊ? म छु नि!
पिता समान ससुरालाई प्रेमभाव दर्शाउन नसकी दुर्व्यवहार गरेको सम्झँदै आत्मालोचना गर्दै आत्मबिलाप गर्न थालिन्। समय छँदै मान्छेमा चेत आएको भए कति राम्रो हुन्थ्यो होला। अब त पश्चाताप गर्नुबाहेक अरू केही उपाय थिएन।
दुई सप्ताह जति त्यहाँ बसेपछि बुहारीलाई गाउँ हिँड्न भनि अनुरोध गर्दै भने – नाती हुर्किन्जेलसम्म गाउँमै बसौं। गाउँको हावापानी राम्रो छ र नातीलाई खेल्ने ठाउँ पनि प्रसस्त छ। उसलाई गाउँ पक्कै मन पर्छ होला।
काठमाडौंमा कोरोनाको भयावह स्थिति र चारैतिर हाहाकार हुँदै गएको थियो। काठमाडौं बाहिरका धेरै मानिसहरू आ–आफ्नो गाउँघरतिर फर्किरहेका थिए। दिपक नभएको त्यो काठमाडौं र बुबा नभएको माईतमा उनलाई कत्ति बस्न मन भएन।
किनभने त्यहाँ हमेशा दिपकको सम्झना आईरहन्थ्यो। ससुराबाको माया पाएर उनलाई आफूले गरेका कर्मप्रति पश्चाताप गर्न मन लाग्यो र माईतीमा बस्नुभन्दा जे जस्तो भए पनि आफ्नै घरमा गएर बस्न मन लाग्यो, जहाँ दिपक जन्मेको थियो, हुर्केको थियो। आफ्नो भनेको आफ्नै हुन्छ। आमासँग विदा भइ ससुराबासँग आफ्नो गाउँतिर लागिन्।
गाउँ पुगेर घरको सरसफाई गरी बस्न थालिन्। रामप्रसादले नातीलाई दूध चाहिएला भनि गाउँबाट एउटा भैंसी किनेर ल्याए। केही समयपछि ससुराबाले पढाएको र दिपकले पढेको पुरानो विद्यालयमा शान्तिलाई पढाउने ब्यवस्था मिलाए।
अब त बाटो–घाटो पनि बनिसकेको थियो। प्यारो नाती पनि हजुरबालाई बुढेसकालमा बाँच्ने एक सहारा भएको थियो। हजुरबाको सत्संग र शिक्षा पाएर ऊ एक नैतिकवान, जेहेनदार तथा तेजश्वी विद्यार्थी भएर आयो। ठूलो भएर बुबाको जस्तै इञ्जिनियरिङ विषयमा उच्च शिक्षा हासिल गरेर विदेशबाट फर्कियो।
घर पुग्दा ८२ वर्षका हजुरबा पिँढ़ीमा बसिरहेका थिए। उनले हजुरबा! भनेर बोलायो र ढोग गर्यो। हजुरबा पनि नाती इञ्जिनियर भएर फर्केको देखेर खुशीले गदगद भए। उनका आँखा रसाएर आए र भने-मेरो बाबु दिपक! तिमी आई पुगेउ। म आजसम्म तिमीलाई नै कुरेर बसेको थिएँ भन्दै अँगालो मारे।
एकछिनपछि बुहारी पनि विद्यालयबाट आइपुगिन्। आमा छोराले अँगालो मार्दा मनको बादलले अश्रुवर्षा गर्न थाल्यो। पछि गएर नातीले विज्ञको हैसियतले नेपालका ठूला–ठूला योजना सञ्चालन गर्दै आफ्नो माता–पिता एवं हजुरबाको नाम उज्वल पारेर देखायो।