संस्मरण
फागुन १९ गते, गुरुबार। दुई सप्ताह लामो माटो यात्राबाट फर्किँदै। बसाइ लुम्बिनीको एउटा होटल। एघार बजे कार्यक्रम भैरहवामा। राजनैतिक प्रशिक्षण। निर्वाचनको दाउपेच सिकाउनु पर्ने। आजै काठमाडौं पनि एक बजे हिँडिहाल्नु पर्ने। त्यसपछि जनकपुर।
'एक सन्यासीले भेट्न खोजेका छन्। बाटैमा पाँच मिनेट भेट्नोस्,' आयोजकले भने।
हुन्छ भनेँ। गाडी लुम्बिनी जेतवनमा छिर्यो। हामी ओर्लियौं। तर म अवाक् भएँ।
'मलाई खबर गर्नुपर्थ्यो नि,' आयोजकलाई भनेँ।
'हामीलाई पनि थाहा भएन उहाँ आउनुभएको छ भनेर,' उनले फर्काए।
अगाडि नै खादा लिएर उभिनुभएको छ स्वामी आनन्द अरूण। चरणस्पर्श गरेँ। सँगै बैठक कक्ष छिरेँ। कलेजी रङको वस्त्र लगाएका साधकहरूले घेरिएर स्वामीजी छेऊमा बसेँ। स्वामीजी गैरिक वस्त्रमा हुनहुन्थ्यो।
त्यहाँ गएपछि थाहा भयो, स्वामीजीले हाम्रा लागि जलपानको समेत पूर्वव्यवस्था गर्नुभएको थियो। जानकारी मसम्म आइनपुग्दा ठूलो अवसर गुमाएजस्तो लाग्यो। हामी खाना खाएरै त्यहाँ पुगेका थियौं। तैपनि स्वामीजीले आग्रह गरेपछि केही फलफूल ग्रहण गर्नै पर्यो। त्यही क्रममा स्वामीजीले विभिन्न कुराहरू पनि गर्दै जानुभयो। त्यो हाम्रो पहिलो भेट थियो।
स्वामीजीले मधुरवाणीमा सोध्नुभयो, 'तपाईं ओशो तपोवन आइराख्नु हुन्छ भन्ने सुनेको छु। हामीलाई कहिले खबर गर्नुभएन। हामी भव्य तयारी गर्थ्यौं नि!'
स्वामीजीका गुनासा मिश्रित मीठा शब्दहरू। म निरूत्तर चुपचाप नै बसिरहेँ। स्वामीजीबाटै केही सुनौं भनेर।
यत्तिकैमा एक जना सन्यासीले आफ्नो मोबाइल फोनबाट जनकपुरको ओशो केन्द्रमा म गएको तस्वीर स्वामीजीलाई देखाए। संयोगवश कलेजी रङकै कुर्ता लगाएको तस्वीर थियो त्यो, झन् नवसन्यासीझैं देखिने। ओशोको कुनै किताब एकजनाले उपहार दिइराखेको तस्वीर।
स्वामीजीले झनझन् मेरो जीवनबारे जिज्ञासा राख्दै जानुभयो। उहाँले मेरो आत्मकथा 'वैरागदेखि बचावसम्म' को कुरा पनि निकाल्नुभयो। आफ्नो बारेमा नबोलेर बस्न सक्ने नदेखिएपछि संक्षिप्तमा आफ्नो वृत्तान्त बताएँ। ओशोसँग कसरी नजिकिएँ, त्यो पनि भनेँ। आफूले त्यति बेला जापानमा पढ्न जाँदा शून्यताबोध गरेर गेरू वस्त्र धारण गर्दै भारत भ्रमणमा निस्केको संस्मरण पनि गरेँ।
'गेरूवस्त्र धारण गरेर कहाँ जानु भयो?' स्वामीजीले फेरि सोध्नुभयो।
'गन्तव्य थिएन। बस् हिँडिरहेँ। गइरहेँ। भौतारिरहेँ। ठाउँठाउँ पुग्दै कन्याकुमारी, मदुरई, रामेश्वरमसम्म पुगेको सम्झना छ। साइबाबा आश्रममा पनि गएको थिएँ।'
'तपाईंले साइबाबालाई भेट्नुभयो त?'
'वन-टु-वन भेटिनँ। उहाँअगाडि बसेर प्रवचन सुनेँ।'
'ऋषिकेशतिर जानुभएको छ कि छैन?'
'गएको छु। त्यहाँ परमार्थ आश्रममा बसेको थिएँ। स्वामी चिदानन्द सरस्वतीजीकोमा।'
'तपाईंको गुरु छैन? स्वभाविक हो, तपाईं जस्तो तीक्ष्ण र विद्वान व्यक्तिका लागि योग्य गुरु भेट्न गार्हो छ।'
सृष्टिमा एउटै पृथ्वीमा पनि के-कहाँ छन् भनेर हेर्न नसकेका हामी विद्वान? अझ, एउटै परमाणुभित्र पनि के-के कण छन् भनेर अझै यकिन गर्न नसकेको मेरो विद्वता? अनि साढे छयालिस अर्ब प्रकाश वर्षको निरन्तर चलायमान परिधिमा के-के होला भनेर के थाहा पाउने मेरो विद्वता? यो कस्तो विद्वता? यो कस्तो तीक्ष्णता?
मनमा यसरी कुरा उठ्दा म अरूले राख्ने गरेको पूर्वाग्रहबाट पनि सतर्क भएँ। धेरैले पहिला नै के सोचिदिन्छन् भने यो मान्छे क्यामब्रिजबाट विद्यावारिधि गरेको, वैज्ञानिक भएको, देश-विदेश घुमेको, यसले कहाँ अरूलाई गन्छ र, कहाँ अरूलाई मान्छ र?
कतै स्वामीजी पनि अरू जस्तै पूर्वाग्रहबाट ग्रसित भई 'मेरो त्यो अहंकार' लाई बीचमा ल्याउनु त हुन्न भनेर शंका लाग्यो।
मैले मौनता तोडेँ, 'मैले भेटेका प्राय:मा गुरु नै पाएको छु। ओशो स्वयं मेरा मार्गदर्शक हुनुहुन्छ।'
पहिलो भेटमै म कसरी भनौं कि म त्यस्तो अभागी एकलव्य हुँ जसको बुढीऔंला माग्न समेत गुरू आएनन्, जसको जीवनकाल गुरु प्रतीक्षामै अनवरत बितिरह्यो, जसका आँखा अश्रुधाराको निरन्तर बहावका बीचमै आफ्नो गुरुका लागि टोलाइरहे, जसको भावना मौनतामै बिस्फोटन भइरह्यो।
स्वामीजीले बीचमै प्रश्न गर्नुभयो, 'ओशोको कुन किताब सबभन्दा बढी मन पर्छ?'
'अष्टावक्र महागीतामाथिको टिप्पणी,' मुखबाट फुत्किहाल्यो।
सबभन्दा बढी कुन मन पर्छ भन्नु गाह्रो कुरा हो। ओशोका एक-से-एक मीठा, सरस र गहन किताबहरू छन्। तैपनि यसकै नामअगाडि आउनाको कारण अष्टावक्र महागीता स्वयं हो।
त्यसपछाडि स्वामीजीले भन्नुभयो, 'तपाईं कस्तो खालको मान्छे हुनुहुन्छ अब मलाई भन्नु परेन। तपाईंले अष्टावक्र महागीता चयन गर्नु स्वयं नै काफी छ। न त अष्टावक्र जस्तो गुरु न त जनक जस्तो शिष्य कहिले कतै भए।'
त्यसपछि अष्टावक्र गीताको कमलप्रसाद ढुंगानाले गर्नुभएको नेपाली अनुवादको एक प्रतिलिपी मगाउनुभयो। त्यसको शुभकामना मन्तव्य उहाँले लेख्नुभएको रहेछ। त्यो भाग त्यहीँ पढेर उहाँले सुनाउन लगाउनुभयो।
बाह्रवर्षे, आठ ठाउँमा विकलांग रहेका अष्टावक्रका करिब बीस श्लोकले तीन मिनेटभित्रै राजा जनकलाई पूर्णताबोध गराउने चमात्कारिक ग्रन्थको विषयमा उहाँको सन्देशमा चिन्ता पनि झल्किन्थ्यो। अष्टावक्र महागीतालाई नेपालको राष्ट्रिय ग्रन्थ घोषणा गरिनुपर्ने र जनकपुरमा अष्टावक्रको स्मृतिस्थल निर्माण गरिनुपर्ने अवधारणा समेत उहाँले राख्नुभएको रहेछ। अष्टावक्र जनकपुर नेपालमा जन्मेर पनि उहाँको बारेमा प्रचारप्रसार नहुनु र उहाँको नाउँमा कतै कुनै स्मृतिस्थल वा मन्दिर नबन्नु सार्है दुर्भाग्यपूर्ण रहेको बताउनुभयो।
स्वामीजीको चिन्ता देखेर उहाँको शान्तवनाका लागि नै भए पनि केही जानकारी दिएँ। आफ्ना कार्यकर्ताहरूले सिरहाको मिर्चैयामा 'अष्टावक्र फाउन्डेसन' स्थापना गरेर चलाउने गरेको र आफू पनि जनकपुरधाममा एउटा आश्रम खोलेर अष्टावक्र महागीतामाथि आफ्नो वैज्ञानिक (क्वान्टम फिजिक्स) दृष्टिकोणबाट व्याख्यान साक्षात्कार गर्ने योजना रहेको समेत सुनाएँ।
उहाँ गदगद् हुनुभयो।
लुम्बिनी र जनकपुरधाममा आश्रम स्थापना गर्ने हाम्रो लक्ष्य धेरै पहिले नै सार्वजनिक भए पनि राजनैतिक उथलपुथल, बारम्बारको गिरफ्तारी र साधनस्रोतको अभावले सम्भव हुन सकेको थिएन।
'स्वामीजीको आशीर्वादले त्यो पूरा गर्न अब ऊर्जा मिल्नेछ,' भनेर मैले आशीर्वाद लिएँ।
कुरा गर्ने क्रममै खुल्दै गयो- ओशो अध्ययनको यात्रामा कलेजमा मसँगै रहेका सहपाठी न्यूयोर्कमा ध्यान केन्द्र चलाउँदा रहेछन्। हाम्रै संगठनका अमेरिका प्रमुख र केन्द्रीय उपमहासचिव समेत स्वामीजीबाटै दीक्षित रहेछन्। हाम्रा पार्टीमा रहेका धेरै प्रमुख नेता कार्यकर्ताहरू समेत ओशो ध्यान केन्द्रसँग आबद्ध रहेको हामीले थाहा पायौं।
स्वामीजीले मलाई उपहार दिन भनेर केही किताबहरू समेत मगाउनुभयो। पहिलादेखि नै मसँग भएका किताबहरूको विषयमा जानकारी गराएँ। तैपनि 'समाजवाद से सावधान' किताब देखाउँदै स्वामीजी पुन: निश्चिन्त हुन चाहनुभयो। राजनीतिमा लागेकाले उहाँले सायद त्यो किताबमाथि जोड दिनुभएको थियो। त्यो किताब डिल्लीबजार जेलमा हुँदा एकजनाले ल्याइदिएका थिए र त्यहीँ नै पढेको थिएँ। मैले सहर्ष पुस्तकहरू स्वीकारेँ।
त्यहाँबाट उहाँले ध्यान केन्द्रसम्म लग्नुभयो। साधकहरू आफ्नो साधनामा लीन थिए। स्वामीजी प्रवेश गर्नासाथ उनीहरू उठे। ध्यान केन्द्रमा एउटै मार्बलको टुक्राबाट बनाइएको बुद्धको विशाल सेतो प्रतिमा देखेर मन प्रफुल्ल भयो।
छेउमा स्वामीजीले बस्न लगाउनुभयो। स्वामीजीको केही कुरा प्रत्यक्ष सुन्ने सौभाग्य पाउँला भनेको त माइक उहाँले मेरो हातमा थमाइदिनु भयो। के भनौं के भनौं भयो। त्यो पनि ओशो साधकहरूलाई।
आफ्नो अनुभव नै सुनाएँ- ओशो पहिलो पटक पढ्दा अक्षरमात्रै पढेको र भावनामा भिज्न नपाएको बताएँ। तर जब अर्थ र भावनाको गहिराइको मादकताले छुन थाल्यो, लत लाग्यो। ओशोको अमृतधाराबाट टाढा बस्न नसकिने भइयो। ओशोको अमृतधाराको लत एकपटक बसिसकेपछि पारखी त मधुशालामा लुकेरै भए पनि आइ नै राख्छन्, चाहे त्यहाँ साकी होस् कि न होस्। स्वामीजीले केही समयअगाडि राख्नुभएको जिज्ञासाको प्रत्युत्तरमा मैले भनेँ।
उन्मुक्त हाँसोले ध्यान केन्द्र गुञ्जियो।
लुम्बिनी जेतवनमा एक घन्टा जतिको समय एक क्षणमै व्यतित भएको थियो। अझै बसौं, स्वामीजीको सानिध्यतामा अझै समय व्यतित गरौंजस्तो भयो। उता कार्यक्रम झन्डै दुई घन्टा नै ढिलो भइसकेकाले त्यहाँबाट विदा लिएर उतै गएँ। कार्यक्रम सकाएर काठमाडौं हानिएँ।
काठमाडौंमा एक रातको बसाइसँगै बिहान 'वादे वादे जायते तत्त्ववोध' नामक एक कार्यक्रममा अन्तर्वार्ता दिँदै जनकपुरतिर लागेँ। उपत्यकाबाहिर निस्कन गाडीलाई समय लागेन।
तुरुन्तै हरियाभरिया डाँडाहरूले घेरिएँ। वसन्तको आगमन भइसकेको रहेछ। बोटविरूवामा नयाँ पालुवाहरू। सिमलका राताम्म फूलहरू। सिन्धुलीतिर लम्केका नागबेली कालोपत्रे सडकहरू। तलतिर नदीमा सुस्तरी बग्दै गरेको हरियो पानी। खुला झ्यालबाट नियाल्दै छु। आँखा टोलाइरहेको छ। मनमा शून्यता छ। अनुहारमा अकारण प्रसन्नता छ। ओठमा मुस्कुराहट।
गीत बजेको छैन, तर कानमा धून छ- छूकर मेरे मनको किया तुने क्या इशारा...बदला ये मौसम लगे प्यारा जग सारा।
बासन्ती सुगन्ध बोकेर आएको हावा झ्यालभित्र जबरजस्ती छिर्दै मुहार सुम्सुम्याउँदैछ।
सिन्धुलीमा ओर्लेर केहीबेर नदीको तिरमा रहेको एक शिलामा बसेँ। स्वामीजीले दिनुभएका किताबहरूमध्ये कुन पढौं कुन पढौं भयो। पुन: अष्टावक्र कि 'आज की राजनीति'।
पातलो नै पहिला सिध्याऊँ भनेर पछिल्लो नै पढ्न थालेँ र त्यहीँ सिध्याएँ।
'हार्म, द्याट गूड म्यान डू' को चर्चादेखि लिएर राष्ट्रिय भावनाको चेतना सम्बन्धी केही कुरा जानेँ।
बाटोमा एक ठाउँमा खाजा खान रोकिएँ।
'इन वन्डर विद् ओशो' का केही सुरूआती पाना पढेँ, पढूँ पढूँ भयो। घर फर्केदेखि 'लोन सिकर, मेनि मास्टर' पढेँ
एउटा प्रश्न प्राक्कथनमै तेर्स्याइएको छ- यस्तो लाग्छ मेरै लागि लेखिएको हो।
प्रश्न- म बुद्ध, रामाकृष्ण वा गुरजिएफको अनुयायी हुँ। यदि म नवसंन्यास ग्रहण गरेँ भने के उहाँहरूसँग धोका हुने छैन?
यसको उत्तर खोज्नेका लागि उत्तर चित्तबुझ्दो छ। मेरो प्रयोजन दुर्भाग्यले उत्तरसँग अब रहेन।
दोस्रो प्रश्न पुस्तकको उत्तरार्द्धतिर छ- गान्धीजी मेहर बाबा वा रमण महर्षिको ठूलो प्रशंसक रहे पनि उनलाई कहिले किन भेटेनन्? आश्रमकै छेउबाटै गए पनि किन दर्शन गरेनन्? विश्वविख्यात मनोवैज्ञानिक कार्ल युंग समेतले भारत भ्रमणमा रमण महर्षिलाई भेट्नबाट किन परहेज गरे?
यो प्रश्नलाई पुनर्व्यक्त गर्न सकिन्छ- आखिर आश्रमहरू गएर पनि म स्वामीजीहरूलाई किन भेट्दिनँ, किन कुरा गर्दिनँ?
मेरो सन्दर्भमा पहिलो उत्तर प्राविधिक छ।
क्रान्तिकारीहरूको जीवन अनौठो हुन्छ। आज मूर्ति बनाएर पूजिने क्रान्तिकारीहरू आफैं जीवित हुँदा उनीहरूको जीवनमा यस्तो कालखण्ड पनि हुन्छ जति बेला 'यो मान्छे मेरो घर नआइदिओस्' भनेर उसकै नातेदार र निकटतम साथीहरूले पनि प्रार्थना गरिरहेका हुन्छन्। खुलेरै भन्न पनि सक्दैनन्, तर जोखिम मोल्न पनि तैयार हुँदैनन्।
राजनैतिक जीवनको कारणले त्यसरी नै सामाजिक बहिष्करणमा परेको मान्छे म। त्यसैले केही समयसम्म आफन्तहरूको जन्म, विवाह र मृत्यु संस्कारमा समेत उपस्थित हुन सकिनँ। मिडिया, पत्रपत्रिका, राजनैतिक-सामाजिक बैठक र कार्यक्रमहरूबाट मात्रै बहिष्करणमा परिनँ कि साथीसंगीहरूबाट पनि टाढिएँ।
मलाई पनि मन हुन्थ्यो, म पनि कुनै बुद्धिजीविहरूको भेलामा जान पाए हुन्थ्यो। दुई-चारवटा कुरा सुन्न पाए हुन्थ्यो। मलाई पनि लाग्थ्यो, म पनि कुनै 'लिटरेचर फेस्टिवल' वा थिएटरमा जान पाए हुन्थ्यो। तर मेरै कारणले कसैलाई अप्ठ्यारो होस् भनेर मैले चाहिनँ।
कसैको निजी जीवनमा दख्खल दिनु पनि उचित ठानिनँ। आश्रम र सन्तहरू समेत मेरो उपस्थितिले अप्ठ्यारोमा पर्ला भनेर टाढै बसेँ। यहाँसम्म कि अस्पताल र डाक्टरहरू समेत केही समयसम्म मबाट टाढै बस्नुपरेको थियो।
एकपटक एक जना प्रख्यात डाक्टर कहाँ उपचार गर्न 'रेफर' गरिँदा उहाँलाई सार्है अप्ठ्यारो परेछ। उहाँले नचिनेको भनेर घन्टौंसम्म अभिनय गरिराख्नुपरेको थियो। त्यही भएर पनि ओशो तपोवन जाँदा कसैलाई अप्ठ्यारो नपरोस् भनेर पनि मैले चुपचाप केबल हेरेर फर्किने गरेको थिएँ।
दोस्रो, मसँग प्रश्न छैन।
थियो। कुनै जमाना थियो, मसँग प्रश्नैप्रश्नहरू थिए। जिज्ञासा नै जिज्ञासा थिए। तर अब छैन। ज्ञान पाइसकेँ, जान्न केही छैन भन्ने पनि होइन। तर जान्ने कौतुहलता रहेन वा जान्ने प्रयोजन नै रहेन। के जान्ने? कति जान्ने? केको लागि जान्ने? आध्यात्मिक गुगल बन्ने कि सैद्धान्तिक बहस गर्ने – दुइटैमा मेरो चासो रहेन।
त्यसो भए म किन भौंतारिराख्छु? यताउता आश्रम किन चहारिराख्छु? यो मन्दिर, त्यो मस्जिद, त्यो गुम्बा किन गइराख्छु? के मलाई ज्ञानको प्यास छ र म ज्ञानको खोजीमा छु? के मेरो मन अशान्त छ र म शान्तिको खोजीमा छु? के मेरो जीवन दु:खपूर्ण छ र म सुखको खोजीमा छु? यसमध्ये कुनै कुरामा म हो भन्न सक्दिनँ।
यसको उत्तर जटिल छ भन्ने पनि होइन।
त्यसको विपरीत यसको उत्तर अति सरल छ- 'जस्ट बिकज आइ फिल गूड'। मलाई राम्रो लाग्छ, त्यत्ति हो।
'जस्ट टू बी विद देम'- केवल सानिध्यताका लागि।
विचित्र किसिमको आनन्दको अनुभूति हुन्छ, जुन शब्दमा भन्न सकिन्न। र जुन-जुन ठाउँमा मलाई त्यो अनुभूति हुन्छ, त्यहाँ म पटकपटक पनि जान्छु। जो-जोसँग मलाई त्यो अनुभूति हुन्छ, उसको सानिध्यता पाउने चेष्टा गर्छु।
सानिध्यता – प्रश्नको उत्तरभन्दा अगणित आनन्ददायक लाग्छ।
कुनै पनि मान्छेले आफ्नो रामकहानी हजार पृष्ठमै लेखेर किन नदेओस्, त्यसमा त्यति अनुभूति म पाउँदिनँ जति उसको आँखामा देख्छु, जति एक स्पर्शमा अनुभव गर्न सक्छु। र म पनि आफूलाई शब्दमा व्यक्त गर्न दिनानुदिन अर्थहीन वा असमर्थ बुझ्छु। मलाई कुनै गुरुसँग कुनै प्रश्न छैन, दुर्भाग्यले ज्ञानको कुनै पिपासा रहेन, तर चरम प्यास छ सद्गुरुको सानिध्यताको, स्पर्शको, दृष्टिको। शम्मा वरिपरि झुम्मिने सायद कुनै परवाना जस्तो।
म पनि चाहन्छु गुरुहरूको, महात्माहरूको, महर्षिहरूको त्यो सानिध्यताको अवसर मलाई प्राप्त भइराखोस्। गोरेटोको कुनै पिपल चौतारीमै भए पनि जम्काभेट भइराखोस्। पलभरका लागि भए पनि आँखा परोस्। बस वा मेलाको भीडमै भए पनि अपरिचित नै सम्झेर पनि स्पर्श होस्। उहाँहरूको माया, स्नेह, सहृदयताको अनुभूति गरिरहन पाऊँ। कुनै प्रश्न छैन, कुनै उत्तरको अपेक्षा छैन, रहोस् भने केवल सानिध्यता। सत्संग।
कतिलाई लाग्दो होला– यतिका सोच्ने मान्छे किन स-साना कुरामा अल्झिराख्छन्, किन वैराग्यको पथमा हिँड्दैनन्, कसरी सांसारिक मृगतृष्णा पछाडि अझै छन्।
हर पतंग जानती है एक दिन कचरे में जाना है...लेकिन उससे पहले उसे आशमां छूना होता है।
यसमा 'छूकर दिखाना है' मलाई मन नपरेर 'छूना होता है' राखेको छु। कसलाई देखाउनु छ र? देखाउनैका लागि कहाँ बाँच्नु छ र? देखाउनु त चंगा उडाउनेमा कर्ताको मनसाय झल्काउँछ। साक्षी मन उडाउने मान्छेकै भए पनि पर बसेर चंगा उडाएको र उडेको देख्छ, मुक्त भएर देख्छ, साक्षी बनेर देख्छ। आखिर साक्षी मन त 'न कर्तासि न भोक्तासि मुक्त एवासि सर्वदा' न हो।
अनि चंगा काटिए त्यसपछाडि मान्छे दगुरेको पनि देख्छ, जीवन डोरीमा अर्को चंगा बाँधिएको पनि देख्छ र चंगा उडेकोमा आनन्दित कर्ता पनि देख्छ। तर साक्षीभावले।