जब हरेक साल,
वसन्तको आगमनले नयाँ वर्ष लिएर आउँछ!
अनि,
म पल्टाउने गर्छु तिनै छापिएका नयाँ भित्ते पात्रहरू!
र हेर्ने गर्छु तिनै बाह्र महिना भित्रका दिन र बारहरू!!
फगत, म यो सूची हेरिरहेको छैन,
दसैं,तिहार, छठ र अन्य सार्वजनिक बिदाहरूको!
मात्र नजर लगाइरहेको छु,
तिनै मसान्त र आसपासका दिन, बारहरूको,
अनि बनाइरहेछु योजनाहरू,
प्रभावकारी लगानी र असुली प्रक्रियाहरूको!
ताकी,
हरेक दिन बिहान हिजोको भन्दा अलिक चाँडै र बेलुका अलिक अबेर कार्यालय समय बनाउन नपरोस्!
अनि पुग्न नपरोस् ,
आफ्नै नजरबाट जीर्ण बनिसकेका
तिनै चोक र गल्लीहरूको बाटो भएर
कहिले तराईका फाँटहरूमा त कहिले अनकन्टर पहाडहरूमा!!
अनि,
हिजोको जस्तैः एउटै शब्द बारम्बार भन्न नपरोस् ,
ए हजुर! यताउता मिलाएर लगाइदिनुस् न यो महिनाको किस्ता चाहिँ!!
अनि यति निर्दयी पनि बन्न नपरोस्,
अस्पतालको शय्यामा आमाको कुरूवा बसेको ऋणीलाई,
मानवता बिर्सिएर बारम्बार सम्झाउन नपरोस्!
छाक टार्न धौधौ परेकाहरूको गाँस खोस्न नपरोस्!
व्यापारमा मन्दी लागेर निराश बनेका उद्यमीहरूलाई,
बारम्बार सन्देश पठाउन र ताकेता धाउन नपरोस्!
पू्र्खाहरूले आर्जेर बसोबास गर्दै गरेको घरजग्गाहरूलाई,
धितो लिलाम गरेर सुकुम्बासी बनाउन नपरोस्!
अनि परिस्थिति बुझेर पनि बारबार अबुझ बन्दै गर्दा,
आँसुले भिजेका श्राप हरेक दिन खान नपरोस् !!
सोचिरहेछु,
यति निर्दयी म हुँ वा मेरो जागिर??