गुमाएको त एउटा डायरी मात्र न हो बसन्तले तर ठेगाना हराएको मानिसझैं भौंतारिँदै थियो।
जीवनमा हिस्सा बन्न आएका कतिपय कुराहरू बिस्तारै हराएझैं लागिरहन्थ्यो उसलाई। एकदिनको कुरा हो भौंतारिँदै एउटा पुस्तकालयको ढोकामा पुग्यो बसन्त। भित्र मानिसहरूको भीडभाड थियो। ऊ पनि भिडमा निसास्सिँदै पस्यो। उसका लागि पुस्तक सरस्वतीका वाणीझैं लाग्थे। अध्ययनलाई साथी बनाउने बसन्तले विश्व ब्रह्माण्डका धेरै कुरा खर्लप्प निलेको थियो। विद्वानको पद दिए पनि कमै हुन्थ्यो उसलाई। तर पनि केही पीडा र छटपटीसँगै एक्लोपन बोकेर बसन्तले तीन वर्ष बिताइसकेको थियो। अझै कति समय यसरी बित्ने हो?
पुस्तकहरू आलमारीमा चारतिर सजाएर राखिएका थिए। बीच-बीचमा पनि तेर्स्याइएका आलमारीमा अटाइ नअटाइ पुस्तक राखिएका थिए। उसले चौरतिर आँखालाई डुलाउँदै परिस्थितिको अवलोकन गर्यो।
कता कता मस्तिष्कले पूर्वस्मृतिमा पुर्याएको हो कि भनेर उसले पुस्तकालयका भित्ताहरू नियाल्यो। परिचित ठाउँ हो कि भनेर ऊ निकै अल्मलिएको थियो। अचानक भिड हट्यो। उसलाई भिड किन थियो र अचानक हट्यो? रहस्यमय लाग्यो। ऊ एकछिन अलमल्ल पर्यो।
पुस्तकालयको गोलो टेबुल उसको मानसपटलमा घुमिरह्यो परिचितझैं गरेर। त्यसमा घोप्टिएर पढिरहेको एक युवकको छेउमा पुगेर बसन्तले बिस्तारै सोध्यो,
'महोदय, यो के को भिड थियो?
अघिका मानिसहरू कहाँ गए?'
युवकले बिस्तारै टाउको उठाएर भन्यो, 'आज पुस्तक विमोचनको कार्यक्रम थियो।
मानिसहरू कार्यक्रम सकेर यहाँबाट हिँडिसके। सायद पछाडि गोदामको खाली भागमा चियापान हुँदैछ।'
महोदय, कसको पुस्तक विमोचन भएको?
कवि रोजिला स्मृतिको। उहाँ निकै राम्रो कवि हुनुहुन्छ।
कहिल्यै नसुनेको नाम 'रोजिला स्मृति' ऊ मनमै बोल्यो।
'पुस्तक हेर्न मिल्छ होला?' पुनः बसन्तले जिज्ञासा थप्यो।
'किन नमिल्नु? पछाडि गोदाममा जानुस् न।' युवकले सहजै उत्तर दियो।
'धन्यवाद महोदय' बसन्तले टाउको झुकाएर छातीमा हात राख्दै बिदा भयो।
बसन्तको जिज्ञासा अझ बढेर पुस्तक हेर्ने रहरमा बदलियो। ऊ अरू मानिसझैं गोदामभित्र हानियो।
मानिसहरू लाइनमा बसेर चिया र खाजा लिँदै थिए। ऊ एउटा कवि। ऊभित्र तिखारिएको भावना छ जसले देखेका घटनालाई सजिलै कवितामा उतार्न सक्छ। उसको लेखनले धेरै ठाउँमा उच्चस्तरीय कविताको संज्ञासमेत पाइसकेको थियो। ऊ पनि चियाको पङ्क्तिमा बसेर अगाडि बढ्यो। गोदाममा पनि आलमारीहरू थिए तिनीहरू वर्षौदेखि पुस्तकका भारी बोकेर किचिएका जस्ता थिए। चिया र खाजा खाइसकेपछि पुस्तक उपहार पाइने कुराले उसलाई लाइनमा उभिन बाध्य बनायो।
पुस्तक मोहमा उसले आफ्नो इमानदारितामा अलिकति पर्दा लगाएर लाइनमा बसेको थियो। पुस्तक हातमा पर्नासाथ गाेदामको पछाडिको ढोकाबाट ऊ फुत्कियाे र ह्वार्ह्वर्ती सास ओकल्याे।
उसलाई पुस्तक पढ्ने भोक जागेर आयो। सबभन्दा पहिले उसका आँखाले पुस्तकको शीर्षक निल्यो 'जिन्दगीको नयाँ पाना'
टक्क रोकियो र गम्भीर मुद्रामा मस्तिष्कलाई घुमायो तर कुनै निष्कर्ष निस्किएन उसको दिमागबाट।
उसको अनुहार थोरै बदलियो। शीर्षक कतै सुनिरहेको जस्तो लाग्यो। हत्तपत्त उसले लेखक परिचय पल्टायो। धुलैधुलोले छोपेको गोदामको पछाडिको ढोकाबाट निस्किएर उसले धुलाे टक्टक्याउँदै पुरानै रङमा फर्किन खाेज्याे।
उसले भित्रकाे वातावरणलाई झट्ट सम्झने काेसिस गर्याे। मस्तिष्क गएर एउटा अनुहारमा टक्क अल्झियाे। खादा, माला र टीका लगाएको निकै चम्किलो सेलिब्रेटी जस्तो अनुहार उसको अगाडि नाच्यो। उसले फेरि स्मृतिको पाना खोल्यो र आफैंलाई छोडेर जाने प्रिय मुटुलाई सम्झ्यो।
उसको सामु त्यही प्रिय अनुहार नाच्यो। उसलाई बधाई दिन मन लाग्यो तर औकात थिएन। ऊ सास नफेरी बिस्तारै उही गाेदामकाे भिडमा हराएको अनुहार नियाल्न थाल्यो। सबैले उसलाई पागललाई झैं हेर्न थाले। उसले पहिलेको अनुहार फेरि कतै भेटेन। आलमारीतिर नजर लगायो। आलमारीको कुनामा चेपिएकाे एउटा कालो डायरीमा उसले आफूलाई देख्यो। उसले सोच्यो मेरो हराएको डायरी भेटियो। त्यो डायरी आलमारीबाट फुत्त थुत्यो चिच्यायो 'भेटियो, भेटियो'। जीवनको ठूलै हिस्सा हात परेको थियो उसको। परबाट गोदामको पालेले हेरिरहेको थियो।
'पख्नुस्, पख्नुस्' त्यो लान मिल्दैन पाले चिच्यायो।
पालेले भन्दै गयो, 'म कविज्यूलाई बोलाउँछु पख्नुहोस्।' पालेसँगै उभिएका एक जना भलाद्मीले पाना पल्टाएर हेर्दै भने, 'ल यो त कवि रोजिला स्मृतिको कविताको पाण्डुलिपि हो। ओहो! यसले त चोर्न खोजेको पो रहेछ। '
वसन्तले भन्यो,'यो मेरो डायरी हो।' सबैका ध्यान बसन्तमाथि बज्रिए। पाले डायरी समाउन पुग्यो। 'पागल पो रहेछ' भिडबाट कसैले प्याच्च वाणी छोड्यो। कसैले चोर रहेछ भन्दै थिए। भिडमा हलचल मच्चियो। पालेले डायरी खोस्दै गर्दा एउटा पाना भुइँतिर खस्यो। बसन्त त्यही खसेको सेताे पाना समाउन पुग्याे।
मानिसहरूले पछाडिबाट बसन्तलाई झ्याप्प समातेर भित्र पुस्तकालयतर्फ लगे। त्यही टेबुल जहाँबाट बसन्तले कविताको डायरी हराएको थियो। त्यही वेदनामा आफ्नी प्रियाको सुन्दर तस्बिर कोरेको थियो।
उही नाचिरहेकाे अनुहार उसकाे दिमागबाट खुत्रुक्क पानामा झरेर पाेतिएझैं लाग्याे। त्यही पुरानो पानो जसमा बसन्तले राज पुस्तकालयको टेबुलमा बसेर तीन वर्षअघि आफूअगाडि प्रेम पोखेर मुस्कुराइरहेको सुन्दर आकृतिलाई चित्रकारिताले सजाएको थियो।
त्यही पानाे चेपेर ऊ निरीह अनुहारमा तिनै सुन्दर आकृतिअगाडि झुकिरह्यो। चुम्यो हृदयबाट चित्रलाई र दुई थोपा आँसुले श्रद्धा व्यक्त गर्यो।
साेच्याे, सजाउन रंगीन र सादा बुट्टाहरूले यही पानालाई कतै पनि मसी नलत्पताई, पानामा झरेकाे त्यो सुन्दर आकृतिलाई नबिगारी। राता र गुलाबी गुलाब मग्मगाउने गरी फुलिरहून् संसारमा उनकै कृति मग्मगाउने गरी। थपिएकाे छ डायरीमा एउटा नयाँ पाना उसकाे प्रेमकाे निसानी बनेर हराएको डायरीबाट।'
'नसोचेको मोडमा जिन्दगी पुगेर अड्कियो
आफ्नै मन अविश्वासमा मदेखि तड्पियो।
पर्खिनेहरूको पनि यहाँ विश्वास रहेन आज
सँगै जान्छु भन्थ्यो किन मदेखि भड्कियो?'
यसरी लेख्दै थिएँ म उसकाे डायरी। अचानक एकदिन हुरी चल्याे र ....! क्रमश:...