एकान्तमा बसेर सोच्दै थिएँ, कुनै कुराको स्मरण भयो। सम्बन्ध रगतको होस् या मित्रताको सबै क्षणिक मात्र हुन थालेका छन्। सम्बन्ध चाहे रगतको होस् या मित्रताको परिस्थितिले होइन मनस्थितिले टुट्न थालेका छन् यहाँ।
कसैसँगको गहिरो मायामा चुर्लुम्म डुबिन्छ नि अनि संसार जितेको आभाष हुँदोरहेछ। हो, म पनि नवीनको मायामा यसरी नै डुबेको थिएँ।
उसको त्यो प्रेमले मलाई उहीतर्फ खिचेको थियो। कहिले हामी कफी सपमा हुन्थ्यौं, कहिले फिल्म हल त कहिले पार्कमा।
समयको यो बहाव कति चाँडै बहँदो रहेछ। सायद, मायाभन्दा ठूलो केही छैन जस्तो लाग्ने ती एकान्त ठाउँमा हाम्रो प्रेम यसरी नै झाँगिँदै थियो।
तर अपसोच म एउटा सामान्य परिवारको छोरी। ऊ एउटा सम्पन्न परिवारको एक्लो छोरा। म चाहन्थें समानता होस् सबैप्रति हाम्रो प्रेममा कोही बाधक नभैदियोस् तर सम्भव थिएन किनकि ऊ आफैं मदेखि छुट्टिन खोज्दै थियो।
अचानक हाम्रो मायाको सुवासमा बिस्तारै हावाको झकेटाहरू लाग्न थाले। नवीन मसँग बिस्तारै टाढिन लाग्यो। म भने उसको प्रेममा म पौडी रहेको थिएँ।
स्वार्थ र आवश्यकता पूरा गर्न तिमीले दिएको धोका अनि मकैसँगै घुन पिसिएजस्तै म पिल्सिरहेको छु।
कुनै सम्भावना नदेखेपछि हामी दुई छुट्टिने निर्णय लियौं। छुट्टिनुअघि उसको काँधमा टाउको राख्दै भने 'प्लिज हामी बिहे गरौं न। म तिमीबिना छुट्टिएर बस्न सक्दिनँ।
गाउँ, समाजको डरले मलाई छोड्न खोज्दै छौ भने बरू हामी कतै नयाँ ठाउँ गएर नयाँ जिन्दगी सुरू गरौं न' भन्दै पोल्टो फैलाउँदै थिएँ। तर उनले मलाई बुझ्ने कोसिस नै गरेन।
हामी छुट्टियौं।
दिन बित्दै गयो, महिनौं भयो वर्ष बिते। नवीनसँग मेरो दूरी बढेर गयो। दूरी जति नै बढे पनि ऊप्रतिको प्रेममा कहिल्यै कमी आएन।
नवीनले विवाह गर्यो, म उसकै यादले ओछ्यानमा थलिएको बेला अंगालोमा बाँधिएको फोटो मलाई पठाउँदै बिहे गरेको सुनायो।
कस्तो अजिवको चिज रहेछ यो माया भन्ने पनि। हिजोसम्म मलाई अंगाल्दै गरेको त्यो काखमा आज उसले अरू कसैलाई अंगाल्दै भन्यो- म अरू कसैको भैसकें।
कसैलाई अंगाल्दैमा, शरीर साट्दैमा माया भन्ने हुन्छ र!
यदि अंगालेको भरमा, शरीर साटेको आधारमा प्रेम हुन्छ र!
‘प्रेम त दु:ख हो, कमजोरी हो। आफ्नो निम्ति फुल्ने, आफ्नै, निम्ति फक्रिने।’ मर्नुजस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भमरासँग लाप्पा खेल्नैपर्छ र? झर्नु त पर्छ पर्छ भने आफ्नो इच्छाले झर्ने नि!
याद छ नवीन अझै पनि ती दिनहरू मलाई।
तिम्रो छातीमा टाँसिएर गुटुमुटु हुँदै अनेक सपना सजाएका ती पल बिहे गर्ने रहर, बिहेपछिका योजना अनि मुनामदनजस्तो नमूनाको जोडी बन्ने मेरा सपना सबै एकै झड्काले भताभुङ भए।
नवीनले दिएको धोकाको कुनै सीमा नै रहेन। जुन प्रेम प्राप्तिको लागि मैले घर, समाज छोडिसकेको थिएँ। त्यही प्रेम आज मेरो हुन सकेन। न त मैले जोगाएर राखेको मेरो प्रेम मेरो नै भयो। न त नवीनले बुझ्ने कोसिस नै गर्यो।
धेरै समयपछिको पीडा पछि म सम्हालिँदै छु। देख्न मन लाग्छ अझै पनि उसलाई। फेसबुकमा साथी छ नभए पनि सर्च लिस्टको पहिलो नम्बरमा उसकै नाम छ नवीनको फोटो हेर्दै, सुम्सुमाउँदै ती पल सम्झँदै दिनहरू बिताउँदै छु।
जिन्दगीबाट म हराएको पनि धेरै भैसकेको छ। कुनै बेला थियो म सूर्यको चमकजस्तै चम्किन्थें। तर म अचेल अस्ताएको छु अशान्तबाट शान्त भैसकेको छु ती यादसँग लुकामारी खेल्न मन लाग्छ।
हरेक कुना-कुनामा अनि यो सहर, यो गल्लीमा म मेरो नवीनलाई खोजिरहेको छु। उसको यादले निकै सताउँछ। वर्षाका भेलजस्तै गरी आँखाबाट बग्न थाल्छन् तिमीले छोडेसँगै मलाई बाँचेको कुनै आभास भएको छैन।
मैले मृत्यु भेटेको छु। यो शरीरको मृत्यु होइन यो त मन, मुटु, आत्माको मृत्यु हो। मैले तिमीलाई गरेको निश्चल प्रेमको मृत्यु।
तिमीले देखेको छौ होला मरेको शरीर चितामा जलेको। हो, त्यसरी नै जलिरहेको छु म भित्रभित्रै।
सायद तिमीले त मलाई भुलिसक्यौ होला हुन त सम्झिन लायक नभएर नै छाडेर गएको हुनुपर्छ। तर के थाहा नवीन, तिमीबिना म न जिउन सकेको छु न त मर्न सकेको छु।
नवीनको याद अनि आँसु मेरा सहारा बनेका छन्। तिम्रो सम्झनामा आँसु बगाइराख्दा उसले नरोऊ भनिरहेको आभास महसुस हुन्छ।
लाग्छ, कतैबाट ऊ आओस् अनि मलाई छातीमा टाँस्दै भनोस्, ‘यी सबै कुरा झूटो हो। मुस्कान, नवीन केबल तिम्रोमात्र हो। म तिमीलाई छोडेर कहाँ जान सक्छु र?’
तर यो सबै मेरो कल्पना र आशा मात्रै हुन् पूरा नहुने सपना हुन्।
नवीनले त मेरो माया मारेर, मेरो जीवनबाट पाइला झिकिसकेको छ। सायद मेरो भागमा खुसी नै लेखिएको थिएन।
मेरो ओठको मुस्कानभन्दा नयनमा आँसु नै धेरै सुहाउने भएर होला नवीनले आँसु दिएर गयो।
नवीनले हाम्रो प्रेममा मलाई दिएको नै पीडा हो, जिउँदो लास हुँदाको पीडा अधिक हुँदो रहेछ। नवीनसँग बिताएका पलपललाई एक-एक गरी समेट्दै छु। ती याद चन्द्रमाको दागजस्तै भएका छन्।
डरलाग्छ मलाई मृत्युदेखि, लास भएर चितामा जलें भने तिमीसँगका सबै यादहरू मेटी जानेछन्। सायद अब यो यादहरू मृत्युसम्म बाँच्नेछ।
मभित्र एउटा मूल्यहीन मुटु, धोकाका खाटा बसिसकेका छन्। बस् एउटा सास फेर्ने फोक्सो बाँकी छ, नवीन! म आफूभित्र एउटा मरूभूमि भएको छु। एउटा मुर्दा घर भएकी छु। मेरो प्रेम गर्ने अधिकार खोसिएको छ।
शिरिशको फूल जसरी न बास्ना छर्न सकेको छु न त भमरा डुलाउन। बस् बसन्त जस्तै हरियो छु।
मैले मृत्युसम्मको यात्रा गरिराख्दा तिम्रो प्रतीक्षा सधैं रहिरहने छ। म अधुरो, अपुरो भएको छु तिम्रो अभावमा। तिमी मुस्कुराउन नभुल्नु कुनै दिन। अनि तिमीलाई चोखो प्रेमको खाँचो भयो भने यो मुटुलाई सम्झनु। यो मुटुमा तिम्रो लागि अपार प्रेम रहिरहने छ।
लब यु नवीन! अझै पनि म तिम्रो यादसँगै यो प्रकृतिमा रमाउँदै छु।