अनौठो शान्त स्वप्निल रङ्गको
आकर्षक पर्दाभित्रै
बिना कोलाहल चुपचाप चुपचाप
जीवनको इन्द्र धनुषमा
कस्तो-कस्तो रङ्गको धुन भर्दैछ
सम्साँझै त्यो तन्नेरी सुनगाभा
चिप्लँदो साँझसँगै तिर्खाले व्याकुल
आशक्तिको भोकमा छट्पटिँदै
भुलेर जीवनको आयु
लपेटिन आउँछ भवँरा
प्रिय सुनगनभा,
रातो रङ्गको आगो फुलाउनू तिमीले
जलाउनू निमिट्यान्न पार्दै
लुटपुटिन आउनेलाई
निचोरेर एक मुठ्ठी श्वास
रगतपच्छे पार्दै
स्वाट्टै निलेर भवँराको आयु
विजयउत्सव मनाउनू तिमीले
लगाएर अस्तुको सेतो टीका
प्रिय छोरी,
रातो गुलाब होइनौ तिमी
हुँदै होइन
त्यो आकर्षक गुलाब
त्यहीँ सुनगाभा हौ तिमी
जुन आफ्नै लागि फुल्छ
र पूरा आयु बाँचेर
ओइलिन्छ आफ्नै रहरमा।