लक्ष्य कुर्सी हो
जनता होइन
थाहा छ उसलाई
तथापि झूटको भारी जिब्रो
कुनै आमसभामा
कुनै अन्तर्वार्तामा
कुनै पार्टी कार्यालयमा
चलाइरहन्छ
'म देश र जनताका निम्ति मर्न तयार छु,
मलाई भोट दिनुहोस्।'
सदाझैँ योपालि पनि भन्छ-
मेरा आँखाले कर्णालीको दर्दनाक दुःख देखेको छ
मेरो हृदयले त्यहाँका बासिन्दाको पुकार सुनिरहेको छ
मेरा पाइलाले त्यहाँको विकटता भलिभाँती पहिचानेको छ
मलाई भोट दिनुहोस्
कर्णालीले विकासमा छलाङ मार्छ
इहू समृद्धि चुट्कीमा आइहाल्छ
जनता पछुताउने मार्ग बनाउने छैन
तर
थाहा छ उसलाई यो उसको राजनीति बोलिरहेको छ
जुन चुनाव ताका उफ्रिने अनि चुनावपछि थाक्ने गर्छ।
अब उप्रान्त
यो माटोमा फलेकी फुलेकी चेली निमोठिने छैनिन
यो माटोको रक्षार्थ खटिएका जवान मारिने छैनन्
यो बाटोले दिउँसै रगतको मदिरा सेवन गर्ने छैन
कैलाली पुगी घाँटीका नशा फुल्याउँदै भन्छ-
'मलाई भोट दिनुहोस्
समृद्धि हाम्रै पालामा'
यही भाषण बझाङ पुग्दा दोहोराउँछ
'मलाई भोट दिनुहोस्
तपाईंहरूको कोख चिथोरिने छैन।'
लालपुर्जा छ, जमिन छैन
भकारी छ, खेत छैन
देश छ, आश छैन
र पनि
लाज अहँ! कत्ति छैन
सुस्ता पुगी हात जोड्दै मधुरो स्वरमा अनुरोध गर्छ-
'मलाई भोट दिनुहोस्
विदेशीको थिचोमिचो आइन्दा सहनु पर्ने छैन।'
उसलाई भलिभाँती थाहा छ
ऊ नेता हो
उसको शरीरमा लालच बगिरहेको हुन्छ
दिमागमा शकुनी हाबी भइरहेको हुन्छ
दिल सिंहदरबार हेर्दै धड्किरहेको हुन्छ।
उसका खुट्टा हवाई सफारी चाहन्छ
भोक फाइभ-स्टार पुग्न चाहान्छ
तिर्खा थाइल्याडको मिनरल वाटर चाहान्छ।
तर आजकाल मजबुरीमा
ऊ पैदल हिँड्दै छ
खरे छानोमुनि खोले निल्दै छ
खोलाको पानी नमिठो मानी पिउँदै छ
किनकि उसलाई
जसै कुर्सीमा बस्नु छ
सिंहदरबारको बार्तलीमा
राजनीती जमाउनु छ।