'खाली दिमाग सैतानको घर' भनेझैँ म निकै अलमलमा थिएँ। भर्खर स्नातक परीक्षा सकेको, अब के गर्ने? यो सोचले निकै पिरोलिरहेको थियो। सहरको त्यो अन्धकार कोठामा बस्न थालेको पनि चार वर्षभन्दा बढी भइसकेको थियो। सहरको महंगी निकै चर्किरहेछ, जीवन गुजार्न गाह्रो परिरहेछ।
के गर्ने? गर्नै पर्यो भन्दै म जागिर खाने निर्णयमा पुगेँ। यत्तिकैमा धेरैजनालाई भेट्ने प्रयास गरेँ। धेरैसँग कुरा गरेँ रोजगारीका लागि। आखिरमा सरकारी जागिर वा विदेश, यी दुईमध्ये एउटा रोज्नुपर्ने बाध्यतामा थिएँ।
मध्यम वर्गीय परिवारमा हुर्किएको हुनाले अभावको सामना नगरेको पनि होइन तर आफू सँगसँगै पढेको र हुर्किएका साथीहरू विदेश पलायन भएर आफ्नो करियर बनाउनुका साथै घर परिवारमा खुसी छरिरहेको कुरा म प्रत्यक्ष नियालिरहेको थिएँ।
मलाई पनि जिन्दगीको मोडहरूमा कैयौँ पटक विदेश जाने इच्छा नभएको पनि होइन। आकाशमा उडेको त्यो प्लेनको आवाज मात्र सुनिँदा पनि कुनै दिन त्यो प्लेन मलाई लिन आउँदछ लाग्थ्यो। म्यानपावरलाई पासपोर्ट बुझाएर भिजा कहिले आउँदछ भन्ने आशा धेरै पटक मनमा नभएको पनि होइन। खै! कता-कता गइनँ! कतैबाट सोचेजस्तो हुन सकिराखेको थिएन।
आफूभित्र आफैलाई प्रश्न गर्दथेँ र उत्तरसहित उदासीन भई कोठा बाहिर निस्कन्थेँ। साथीभाइ हेर्यो रमाउन मन लाग्दछ, परिवार हेर्यो कमाउन मन लाग्दछ र भविष्य हेरेर केही गर्नुपर्दछ भन्ने भनाइ कताबाट ठ्याक्कै दिमागमा आयो।
धेरैबेर सोचेँ। त्यो सोचाइले केही परिवर्तन ल्याउँछ भन्ने आशा नै मबाट निराशामा परिणत भइसकेको थियो।
बुबाले गाउँमा दुःखले मेहनत गरेर जेनतन हाम्रो पढाइको खर्च पुर्याउनुभएको थियो। कुनै महिना, कुनै दिन त्यही खर्च नपुगेर साहुकोमा ऋण माग्न जाँदा 'आखिर पढेर के हुन्छ? बरु छोरालाई विदेश पठाए म ऋण हालिदिन्छु' भनेर कैयौँ पटक बुबालाई फर्काइएको कुरा नदेखेको पनि होइन।
त्यतिबेला मेरो मनमा अनेक प्रश्नहरूको धुन गुञ्जयमान हुन्थ्यो। आखिर पढेर के-के नै हुने रहेछ र? मलाई त्यतिबेला याद भयो कि मैले यति दुःख गरेर पढेर पाएको सर्टिफिकेटले आखिर विदेश नै खोजिरहेको रहेछ।
बुबाले मसँग भन्नुभयो, 'अब त केही गर्नुपर्दछ, सबैका छोराछोरीले प्रगति गरिसके।' यस्तै-यस्तै अरु केही भन्दै हुनुहुन्थ्यो बुवा।
सोचेँ, हुन पनि आफ्ना छोराछोरीको प्रगति हेर्ने इच्छा कुन आमाबाबुलाई हुँदैन र? यो सबै प्रगतीका लागि आमाबुबाले कति संघर्ष गर्नुभएको छ। त्यो सोच्नका लागि मेरो क्षमताले भ्याउने अवस्था पनि थिएन। म कैयौँ पटक बुबा-आमालाई सम्झाउँदै भन्ने गर्दथेँ, 'पर्खनुस् न, प्रयास त गरिराखेकै छु एकदिन त अवश्य सफल हुन्छु नि।'
सानत्वना निरन्तरण दिइरहन्थेँ। यो बाहेक म के नै पो गर्न सक्थेँ र?
सिजन चुनावको चलिरहेको, माहोल चुनावको बनिरहेको। हरेक वर्ष कति युवा युवतीहरू रोजगारविहीन छन्। त्यसको लेखाजोखा आखिर कहाँ भैरहेको छ? चुनाव आएपछि युवालाई रोजगारी दिन्छौँ भन्ने प्रलोभनमा छ पाइएका ती घोषणापत्र र ती झन्डा।
आखिर कहाँ गए त चुनावमा भोट पाउनका लागि अनेकौँ तामझाम गरेर घर-घरमा आउने ती नेता? चुनावको भोलिपल्टबाट हामीलाई चिन्न पनि चिन्दैनन् उनीहरू। भन्ने गर्दछन् कि युवाहरूको भविष्य बनाउने जिम्मा हाम्रो हातमा छ। यस्तै ठूला-ठूला धोक्रे भाषण गर्ने नेताहरू खै कता छन्? आजका युवायुवतीको जीवन बनाइदिने अनेक प्रलोभन देखाएका नेताहरू आज आफ्नो जिन्दगी बनाउँदै छन् होला।
आजका युवायुवतीको भविष्य के? विदेशिनु हो त? किन बुझ्दैन हाम्रो समाज? खै कसले समाधान गरिदिन्छ त हाम्रो समस्या? अहिलेको समयमा समाजले विदेशिने कुरालाई सामाजिक र आर्थिक हैसियतसँग जोडेको छ। आजको युवायुवतीको सोच विदेशीमा बढी रुचि देखिन्छ तर राजनीतितर्फ देखिँदैन।
हाम्रो समाज यति भ्रमित भइरहेको छ जहाँ पैसाले नै सबैथोक गर्दछ भन्ने मानसिकता एकदमै बढिरहेको छ। एउटा सामान्य परिवारमा त पैसा कमाउने र नकमाउनेबीच हेरिने दृष्टिकोण बदलिन्छ, अरु त झन् के कुरा गर्नु?
हाम्रो समाजमा यही कुरा बढी चर्चामा आउने गर्दछ कि फलानाको छोरो त्यो ठाउँ गयो, त्यति पैसा कमायो, त्यो ठाउँमा घर, घडेरी जोड्यो आदि इत्यादि। यी कुराले स्वदेशमा केही गर्न चाहनेहरूको मानसपटलमा धेरै असर पारेको छ। त्यसैले आजका युवायुवती विदेशिन बाध्य भएका छन्।
दिन प्रतिदिन बढ्दै गहिरहेको विदेशी मुद्रा प्रतिको आकर्षणले र वैदेशिक रोजगारीप्रति रुची बढाउने युवायुवतीको संख्या ह्वात्तै बढ्दै गइरहेको छ। त्यसैले त होला प्रत्येक दिन १५ सयको हाराहारीमा विदेश जानेको लर्को लागिरहेको छ।
आजका युवाको भविष्य विदेशिनु मात्र नभएर स्वदेशमै केही गर्ने रहर हुँदाहुँदै पनि बाध्य भएर परदेशिनु पर्दो रहेछ।
लौ हजुर, म त परदेश लागेँ है। हजुर नजाने?