म
तिम्रो आँखामा
सर्लक्क स्नेह र मायाका थोपाहरू देख्छु
तर किन तिमी
नजरमार्फत खोक्रा प्रेम र मितका बातहरू बताउँछौ?
म
तिम्रो ओठमा,
फूलबुट्टे, बासनादार र रंग भरिएका आशाहरू देख्छु
तर किन तिमी
बोलीमार्फत सपनाहरूलाई लछारपछार पारेर निराशामा बदलिदिन्छौ?
म
तिम्रो हत्केलामा
आशाले भरिपूर्ण, जोशले परिपक्व, साहसका रेखाहरू देख्छु
तर किन तिमी
सर्लक्क परेका चाहनाका काँचलाई टुक्राउँछौ?
म
तिम्रो पाइलाहरूमा
म्याराथनमा दौडिरहेको जस्तो तर थकानरहित गन्तव्य देख्छु
तर किन तिमी
महत्वाकांक्षाको खेलमा धैर्यताको बाँधलाई फुटाउँछौ?
म
तिम्रो जिन्दगीमा
आकाशजस्तो निश्चल र पहाडजस्तो अडिक अभिलाषाहरू देख्छु
तर किन तिमी
परिवर्तनलाई अंगालेर अस्वतन्त्रताको मार्गलाई संगाल्छौ?
म
तिम्रो आत्मामा
परिपक्व, अटल र आकर्षक दृश्यहरू देख्छु
तर किन तिमी
रंग बेगरको भूमरीमा आफ्ना अभिप्रायलाई धकाल्छौ?