तपाईं के गर्नु हुन्छ?
न त मैले केही गर्छु
न त मैल केही गर्दिनँ पनि
सोध्नेले जे सोधुन्
न त मलाई कसैको लिनु थियो
न त मलाई उत्तर दिनु नै थियो
न त मलाई पैसा कमाउनु नै थियो
मलाई थाहा छ
पैसा भनेको मात हो
यसले त रक्सीले भन्दा पनि मात चढाउँछ
मान्छेलाई यसरी मत्ताउँछ कि
मत्ताउँछ, मत्ताउँछ अनि फेरि बेस्सरी थच्चाउँछ पनि
त्यसैले न त मलाई जागिर खानु थियो
न त केही गर्नु थियो
न त धेरै पैसा कमाउनु नै थियो
पढ्न त मैले पढेँ
के पढेँ, के पढिनँ
आफैले बुझिनँ
तर बाँकी जीवन जिन्दगी पढेँ
एक्लो हुँदा भावुक हुन्छु कहिलेकाहीँ
अनि सोच्छु
न त जिन्दगी जिउनेहरूले किताब नै बोक्छन्
न त कापी, किताबको रङ्ग नै देख्छन्
तर जिन्दगी बुझ्नेहरूले देख्ने रङ्गिन तस्वीर
केवल जिन्दगी जिउनेले मात्र देख्छन्
त्यसैले मेरो परिचय
म मेरो जिन्दगी पढ्दैछु
जिन्दगीका थरीथरी आयामहरूबाट
केही सिक्दैछु
केही भुल्दैछु
कहिले रून्छु कहिले रम्छु
आफ्नै-आफ्नै दुनियाँमा
न त त्यहाँ पैसाको मात छ
न त कुनै बात छ।