म त्यतिबेला लगभग २० वर्षको थिएँ। गाउँघरमा हुर्केकी म अलि छुच्ची थिएँ। छुच्ची भए नि सबैको प्यारी थिएँ। सबैको माया पाएरै होला कहिल्यै दुखी हुन्न थिएँ। सानैदेखि गीत गाउन, नाच्न अगाडि हुन्थेँ।
हल्का नक्कली पनि भएकाले गाउँमा सबैले मलाई मोनी भनेर बोलाउनु हुन्थ्यो। तीन जना छोरी मात्रै थियौँ हामी। सामान्य परिवारमा हुर्केको मलाई बुवाआमाले धेरै पढाउन सक्नु भएन, १२ पास भने गरेको थिएँ। दिदीहरूको बिहे भइसकेको थियो।
आमाबुबा वृद्ध भइसक्नु भएको थियो। गाउँमा मलाई पढाउन सक्ने अवस्था थिएन। केही काम भेटे काठमाडौँ गएर काम गर्दै पढ्ने भनेर गाउँका दाइहरूलाई काम खोजिदिन कुरा गरिरहेको थिएँ।
गाउँमा घाँस, दाउरा, मेलापाता गर्दै मेरो दिनहरू बित्दै थियो। पढाइमा धेरै रुचि राख्ने म बाध्यताले पढ्न नपाउँदा धेरै दुःख लाग्थ्यो। आफूसँगैका साथीहरू पढिरहँदा मलाई नि पढ्न मन त धेरै लाग्थ्यो तर बाध्यताले नपढी बस्न बाध्य भएँ।
एकदिन घाँस लिएर घरमा फर्कंदै थिएँ, बाटोमा तीन जना मान्छे भेटेँ। उहाँहरूले मेरो बुबाको नाम लिँदै सोध्नुभयो, 'नानी, हरिबहादुरलाई तिमी चिन्छौ?'
मैले हाँस्दै भनेँ, 'मेरो बुबा नै हो हरिबहादुर।'
एकजना अलि बुढो मान्छेले भन्नुभयो, 'ए तिमी नै हो हरिको छोरी?'
'हजुर, म नै हो उहाँको छोरी।'
'ल त्यसो भए हामी पनि तिम्रो घरमा हिँडेको, ल हिँड जाउँ।'
मैले उहाँहरूलाई लिएर घरमा गएँ। उहाँहरूलाई देख्नेबित्तिकै मेरो बुबा एकदम खुसी हुनुभयो।
'धेरै वर्षमा भेट्नु भएको, साथी हो तेरो बुबाको' भनेर ममीले भन्नुभयो।
मैले उहाँहरूको लागि पानी लिएर गएँ।
'हामी बसाइ सरेर जाँदा त नानी सानी थिइन्, अहिले त कति ठूलो भएकी' भन्नुभयो एकजना अङ्कलले।
बुबाले 'अब त ठूली भइसकिन्' भन्नुभयो।
उहाँहरू कुरा गर्न लाग्नु भयो, म भने खाना बनाउन लागेँ। सबैजनाले खाना खाइसकेपछि एकजना अङ्कलले 'हरि, मलाई त तिम्रो छोरी मनपर्यो अब हामी साथीबाट सम्धि-सम्धि पो बन्ने हो कि?' भन्नुभयो।
मेरो बुबाले पनि अरू केही नभनी भनिहाल्नु भयो, 'भइहाल्छ नि, केटाकेटीले मन पराए भने म केही भन्दिनँ।'
बुबाको कुरा सुनेर म अचम्म परेँ। म त्यहाँबाट उठेर रुममा गएर धेरै रोएँ। मलाई त पढ्नु छ, मेरो सपना पूरा गर्नु छ। म अहिले बिहे गर्दिनँ भनेर एकोहोरो बोल्न थालेँ। एकछिनमा ममी कोठामा आउनुभयो।
मैले ममीलाई सोधेँ, 'ममी, बुबाले के भन्नु भएको? म त बिहे गर्दिनँ, मलाई पढ्नु छ।'
यति भनेर म रुन थालेँ। तर ममीले 'केटो अमेरिका बस्छ रे, राम्रो काम गर्छे रे, तेरो सबै रहर पूरा गर्छ कान्छी बिहे गर्। फेरि हेर त कति राम्रो छ, तँलाई खुसी राख्छ कान्छी। केटाले मन पर्यो भने हुँदैन नभन्' भनेर जानुभयो।
म धेरै रोएँ। एकैछिनमा बुबाले बोलाउनु भयो, 'कान्छी, यता आइजा त।'
म रुँदै गरेको आँखा पुछदै त्यहाँ गएँ। बुबाले सोध्नुभयो, 'कान्छी, तेरो बिहे गर्दिन लागेको। केटा ऊ बाबु हो, तँलाई कस्तो लाग्यो भन् त? बाबुलाई त तँ मन पर्यो रे।'
मैले भनेँ, 'बुबा, म पढ्न चाहन्छु। म अहिले बिहे गर्दिनँ। मेरो सपना धेरै छन्, पूरा गर्नुछ।'
तर अङ्कलले भन्नुभयो, 'हामी पढाउँछौँ नानी, पिर नगर।'
मैले धेरै अनुरोध गर्दा नि आमाबुबाले मेरो बिहे गर्दिने निधो गर्नुभयो। 'यदि तिमीहरू कुरा गर्ने भए गर' भन्नुभयो अङ्कलले।
'अँ, केही कुरा सोध्नु छ' भन्यो त्यो केटाले।
अलि उता गएर म उभिएँ, उसले मलाई नाम के हो भन्यो। मैले 'मेरो नाम अंकिता' भनेँ। अनि उसले आफै 'म चाहिँ गौरब' भन्यो।
अलि नक्कल गरेर बोल्ने, हाँस्दा गालामा डिम्पल बस्ने ऊ हेर्दे राम्रै थियो। 'मलाई तिमी मनपर्यो, तिमीलाई म कस्तो लाग्यो?' भनेर सोध्यो।
केही नभनी म त्यहाँबाट रुममा गएँ र धेरैबेर रोएँ। भोलि ने टीकाटाला गरेर लाने सल्लाह भयो। भोलिपल्ट टीकाटाला गरेर म मेरो जन्मघर छोडी पराईको भएर गएँ। टाढाको बाटो, लगभग १२/१३ घण्टा बसको यात्रापछि केटाको घरमा पुगेँ।
बिहे गरेर आउँदै छौँ भनेर पहिला नै भनिसकेको भएर चहलपहल धेरै थियो। बसको लामो यात्रा भएर होला धेरै नै थकित भएको थिएँ। बिहेको माहोल थियो, जसोतसो बसिरहेँ। टीका लगाउन धेरै जना आउनु भएको थियो। म त गाउँमा हुर्केको मान्छे, खासै सहरको चलन थाहा थिएन।
गौरबको साथीहरू आउँदै उसको कानमा केही भन्दै जान्थे। नयाँ ठाउँ, नयाँ मान्छे मलाई धेरै नराम्रो लागेको थियो। मलाई बुबाआमाको धेरै याद आइरहेको थियो। केही समयपछि टीका लगाउने कार्यक्रम पनि सकियो।
एकजना नन्द हुनुहुँदो रहेछ, मेरो छेउमा आएर 'भाउजू, कोठामा जाउँ' भनेर लिएर जानुभयो।
रुम एकदमै राम्रो थियो, रुम गौरबको फोटोहरूले सजाइएको थियो। एकछिन हेरेको हेर्यै भएँ अनि नानीले 'भाउजू, हजुर आराम गर्नुस् म गएँ, केही जरुरत पर्यो भने मलाई कल गर्नु ल' भनेर जानुभयो।
मैले पनि हुन्छ भनेर सुतेँ। कतिबेला निदाएछु थाहा नै भएन। गौरब कतिबेला आउनु भयो, त्यो पनि थाहा पाइनँ। भोलिपल्ट ५ बजे मेरो निद्रा खुल्यो। गौरब पनि मेरो छेउमा सुतिरहनु भएको रहेछ।
म उठेर नुहाउन गएँ। नुहाएर आएँ अनि पूजा गरेर किचनतिर जाँदै थिएँ सासुआमा पनि आउनु भयो। 'कति छिटो उठेको' भन्नुभयो।
'म जहिले यतिबेला नै उठ्छु आमा' भनेँ।
'आज ठूलो पार्टी छ, तिमी सपनालाई लिएर एकछिन पार्लर गएर तयार भएर आउनु' भन्नुभयो।
मैले हस् भनेँ अनि हामी सासूबुहारी भएर सबैजनालाई चिया र नास्ता तयार गर्यौँ। म गौरबको लागि चिया-नास्ता लिएर रुममा गएँ। गौरब उठिसक्नु भएको थियो। मैले चिया दिएँ। उहाँले 'हिजो कति छिटो सुतेको, मलाई पर्खिन सकिनौ?' भन्नुभयो।
म चुप रहेँ। उहाँले 'तिमीसँग केही कुरा भन्नु छ' भन्दै हुनुहुन्थ्यो त्यत्तिकैमा नानी आएर 'भाउजू जाम् न, अहिले ढिला हुन्छ' भन्नुभयो।
म त्यहाँबाट गएँ। त्यो दिन पनि बित्यो। बेलुका गौरब रुममा हुनुहुन्थ्यो। दिनभरिको थकानले उहाँलाई केही नभनी सुत्न लागेको थिएँ, उहाँले 'सुन न, तिमीलाई केही कुरा भन्नु छ' भन्नुभयो।
'मेरो अब धेरै छुट्टी बाँकी छैन, केही दिनमा अमेरिका जानु पर्छ। तिमी नयाँ ठाउँमा राम्रोसँग बस्नू,' भन्नुभयो।
उहाँले मलाई धेरै कुरा सम्झाउनु भयो। मलाई उहाँ जाने भनेपछि नराम्रो लाग्यो। उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो। सासूआमा, ससुराबुबा, नन्द सबैको प्यारी थिएँ म।
दिन बित्दै गयो, अब गौरब अमेरिका जान तीन दिन मात्रै थियो। उहाँले मलाई भन्नु हुन्थ्यो, 'सानु, तिमीलाई छोडेर जान मन त थिएन तर क्यार्नु? जानै पर्ने। म तिमीलाई पनि छिट्टै लिएर जान्छु सानु, केही महिना आफ्नो ख्याल राख ल।'
म पनि 'हुन्छ, हजुर छिट्टै आउनुस् है, मेरो टेन्सन नलिनुस्, ममी, बुबा, नानी हुनुहुन्छ नि मलाई माया गर्ने' भन्दै उहाँलाई सम्झाउँथेँ।
तीन दिनपछि गौरब अमेरिका जान भनेर काठमाडौँ आउनु भयो। म पनि गौरबलाई एयरर्पोटसम्म पुर्याउन आएको थिएँ। हामी एयरर्पोट पुग्यौँ। रातिको फ्लाइट थियो उहाँको।
उहाँलाई बिदाइ गर्न मलाई धेरै गाह्रो त भएको थियो तर समय नै त्यस्तै थियो। उहाँ मलाई छोडर जानुभयो। म रूँदै घरतिर फर्किएँ। गौरब कति बेला पुग्नु हुन्छ? कति बेला कल गर्नु हुन्छ? भनि उहाँको फोनको प्रतीक्षामा थिएँ।
केही समयपछि उहाँको फोन आयो। उहाँले 'म राम्रोसँग पुगेको जानकारी गराउनु भयो र मलाई नि राम्रोसँग बस' भनेर फोन राख्नु भयो।
मलाई आमाबुबा, नानी सबैले धेरै माया गर्नुहुन्थो। गौरब पनि कल गरिरहनु हुन्थ्यो। यसरी दिनहरू चलिरहेको थियो। एकदिन बिहानै कल आयो, म त उठेको पनि थिइनँ।
'भाउजू, म गौरबको साथी। गौरब डिउटी सकेर रुम फर्किँदा गाडीले हान्यो, अब गौरब यो दुनियाँमा रहेन। केही दिनमा हामी गौरबको शव लिएर आउँछौँ,' यति सुन्दै म बेहोस भएछु, त्यसपछि के भयो मलाई थाहा छैन।
म होसमा आउँदा हस्पिटलमा थिएँ। मेरो सिन्दुर पुछियो, सबै सकियो। म कति अभागी! बिहे गरेको एक हप्ता नहुँदै छुटेको उहाँसँग अब कहिल्यै नफर्किने गरी मलाई छोडेर जानुभयो।
उहाँको र मेरो मायाको चिनो हाम्रो छोरा अमूल्य छ। गौरबजस्तै अनुहार छ। कहिलेकाहीँ मलाई सोध्छ, 'मामु, हाम्रो बाबा कहाँ हुनुहुन्छ? हाम्रो बाबा कहिले आउनु हुन्छ?'
कसरी भनौँ कि अब तिम्रो बाबा कहिल्यै फर्केर आउनु हुन्न!