सबै सुत्दा पनि अमेरिकाको त्यो ग्यास स्टेशन सुत्दैनथ्यो। बरू घडी ब्याट्री सकिँदा रोकिन्थ्यो तर ग्यास स्टेशन कहिले रोकिँदैन थियो। हावा-हुरी आए पनि, घनघोर वर्षाले बाढी पहिरो गए पनि, भुँइचालो नै आए पनि त्यो ग्यास स्टेशन चलिरहन्थ्यो। दिउँसो त अरूले नै काम गर्दथे। रातिको ड्युटी भने सधैँ भीमसेनको परेको थियो।
ग्यास स्टेशनमा तेल हाल्न आउने गाडीहरू आउने जाने गरिरहन्थे। मान्छेहरू भित्र-बाहिर गरिरहन्थे। खानेकुरो र ड्रिङ्स किन्ने, लट्रीको टिकट किन्ने, पेट्रोल हालेको पैसा तिर्ने मान्छे लाइनमा देखिन्थे। भीमसेन एकोहोर रजिष्टरको मेसिनमा ट्याक-ट्याक, टुक्-टुक् हानेर रसिद काट्दै दिँदै गर्दथ्यो।
ऊ गम्भीर प्रकृतिको मान्छे थियो। चुपचाप भएर एकसुरले काममा लागिरहन्थ्यो। ऊ कहिल्यै हाँसेको देखिँदैन थियो। फेरि त्यस्तो उदास भएको पनि देखिँदैन थियो। कसैले उसलाई हँसाउने कुरा गरे पनि हँसाउनेको सम्मानको लागि यसो मुस्काएजस्तो गर्दथ्यो अनि फेरि मौन भइहाल्थ्यो।
भीमसेनले सुनेको थियो कोही-कोही नेपालमा सांसद हुने पनि यहाँ आएर आखिरमा ग्यास स्टेशनमै काम गरे रे भन्ने। फेरि कति सिनेमामा ख्याति कमाएका कलाकार पनि ग्यास स्टेशनमै काम गरे रे भन्ने।
कतिले त धेरै वर्षको मेहनतले ग्यास स्टेशन नै किने रे भन्ने पनि सुनेको थियो। आखिर एकदिन ग्यास स्टेशनकै मालिक पो हुन पाइने हो कि भन्ने आश पनि भीमसेनको मनमा आउने गर्दथ्यो। त्यही आसले रातिको ड्युटी परे पनि भीमसेन मनभित्र आशा निराशा जे भए पनि बाहिर ग्राहकको सेवामा सधैँ तत्पर भइहाल्थ्यो।
त्यो ग्यास स्टेशन तीन फ्रीवेको जङ्सनमा थियो। त्यसैले कानैखाने गरी चौबिसै घण्टा गाडी कुदेको घ्याँइघ्याँइ कर्कश आवाज आइरहन्थ्यो। त्यसैले हो कि के हो भीमसेनले कान पनि कम सुन्न थालेको थियो। तीन फ्रीवेको बीचमा सानो त्रि-कोणात्मक जमिनमा त्यो ग्यास स्टेशन भएकोले त्यसको नजिक आवादी थिएन।
मोटरगाडीको आवाजै आवाज बीच पनि त्यो ग्यास स्टेशन डरलाग्दो सुनसान ठाउँमा ठिङ्ग उभिएको थियो। केवल मोटरबाट आउनेजानेको मात्र आउजाउ हुन्थ्यो। त्यही आउजाउ गर्ने पनि आइलाग्ने हुन् कि भन्ने खतरा सधैँ भइरहन्थ्यो।
घरीघरी एउटै मोटर नआउँदा सुनसान भएर बाहिर चिहाउँदा निष्पट अन्धकार देखेर आङ सिरिङ्ग गर्दथ्यो। कहिलेकाहीँ जीउभरि ट्याटू कोरेका अजङ्गका मानिस आउँदा भीमसेनलाई डर पनि लाग्दथ्यो। बेलाबेलामा त बदमास मानिसहरू आएर सामान र पैसा लुटेर पनि लग्दथे। तर पनि प्रभुको कृपाले ऊ भने त्यो बेलासम्म सकुशल नै थियो।
नेपालबाट आएको सुरुसुरुमा त उसको ड्युटीमा ग्यास स्टेशनमा मान्छे पस्दा डोरओपन बेलको घण्टी बज्ने बित्तिकै ऊ कुलर-र्याकको पछाडि गएर लुक्दथ्यो। अनि कुलर-र्याकको पछाडिबाट चियाएर हेर्थ्यो। किनकि उसलाई डर थियो कि कोही चिनेजानेको नेपालीले उसलाई देख्छ कि भनेर। लाज पो हुने हो कि भनेर।
नेपालमा सानोतिनो काम गर्दा इज्जतै जाने होकि भन्ने हुन्थ्यो, त्यही भएर होला उसलाई पनि त्यस्तो लागेको। ग्यास स्टेशनमा रजिष्टरमा काम गर्ने, कुलर भर्ने, सामान मिलाउने थप्नेदेखि मोप गरी भुँइ पुछ्नेसम्मको काम गर्नु पर्दथ्यो भीमसेनले। सुरु-सुरुमा लाज लागे पनि अब विस्तारै उसलाई बानी पर्दै गएको थियो।
नाइट ड्युटीको सधैँ सातै दिन काम भएकोले उसले उज्यालो अमेरिका देख्न पाएको थिएन। एकैछिन खाली जस्तो भयो भने बाहिर निस्केर रातको अन्धकारमा टाढा टाढासम्म धेरैथोक सोचेर नजर दौडाउँथ्यो। माथि-माथि आकाशका जूनतारा हेरेर टोलाउँथ्यो। ग्राहक आउने बित्तिकै फटाफट भित्र पसेर काम गर्दथ्यो।
बुवाआमाबाट र आफ्नो मातृभूमिबाट टाढा आएको एक्लो भीमसेनलाई कामको चापले थकाइ लागेर हो कि के हो पकाउन पनि अल्छी लाग्दथ्यो। प्रायःजसो लन्च, डिनर त्यही ग्यास स्टेशनको चिसो स्यान्डविच र ड्रिङ्क्स कप्लाककुप्लुक खान्थ्यो।
लन्च भने पनि, डिनर भने पनि त्यो दुवै रातकै खाना थियो। त्यसरी बेसमय र जङ्कफूड खाएर अनि एक्सरसाइज जिरो भएर उसको जीउ छन्द न मन्दको भएर मोटाएको थियो।
उसको ग्यास स्टेशनको मालिकले उसलाई त्यहीँ पछाडिको कोठामा बस्न दिएको थियो। बिहानै पालो दिने साथी आएर ड्युटी सकेपछि ऊ कोठामा सुत्न जान्थ्यो। अरु उठ्दा ऊ सुत्थ्यो। अरु सुत्दा ऊ उठ्थ्यो। उसको समय, उसको जीवन उल्टो चलिरहेको थियो।
सबै उज्यालोमा रमाउँदा उसले अँध्यारोमा झोक्राउनु पर्दथ्यो। त्यसैले उसलाई थाहै थिएन अमेरिका कस्तो छ भनेर। थाहा पनि कसरी होस्। एक त ग्यास स्टेशन छोडेर कहीँ जान पाएको थिएन अनि फेरि राति बत्तीको उज्यालोमा देखोस् पनि कसरी वरिपरिको दृश्य?
कस्तो न होला भनेर अमेरिका आएको उसलाई घरीघरी त साह्रै बैराग लागेर ननिको लाग्दथ्यो। 'चोक्टा खान गाकी बुढी झोलमा डुबेर मरी' भनेको यही हो कि क्या हो भन्नेजस्तो पनि लाग्दथ्यो। त्यही पनि एकदिन त उज्यालोमा अमेरिका हेरेर डुल्न उसलाई ठूलो इच्छा थियो।
एकदिन एउटा भुटानिज नेपालीले ग्यास हाल्न आउँदा भीमसेनसँग चिनजान गर्यो। ऊ साह्रै जाति र दयालु प्रवृत्तिको मानिस थियो। विदेश आएपछि नेपालीहरू कोभन्दा को कम भन्ने अहंकार पाल्छन् भन्ने सुनेको भीमसेन भुटानिज नेपालीको बोलीवचन र व्यवहारले प्रभावित भयो।
ऊ त्यहीँ आधा घण्टा ड्राइभको दूरीमा परिवारसहित बस्दो रहेछ। भीमसेनको रातिको ड्युटी भएकोले भुटानिज नेपालीले भीमसेनलाई एकदिन काम सुरु गर्नुभन्दा पहिले रातको खाना खान निम्तो गरेको थियो। भीमसेन त त्यस्तो गर्मीको बेला पनि हिँडेरै पसिनै पसिना भएर भुटानिज नेपालीको घर पुगेछ।
'कार छैन भनेर भन्नुभएको भए म लिन आइहाल्थेँ नि,' भुटानिज नेपालीले उसको माया लागेर भनेको थियो।
अमेरिकामा सेकेण्ड ह्याण्ड थोत्रे नै भए पनि सबैले कार राखेका हुन्थे। त्यसैले भुटानिज नेपालीलाई भीमसेनको कार होला भन्ने लागेको थियो। खैर! भीमसेनले अझै कार किन्ने पैसा जम्मा गर्न सकेको थिएन। फेरि एकैठाउँमा खानेबस्ने र काम गर्ने भएकोले उसलाई अहिले कारको जरूरत पनि थिएन।
भीमसेनको एक्लिएको परिवेश र साधारणपन देखेर भुटानिज नेपालीले उसलाई घरीघरी बोलाएर नेपाली परिकार खुवाउँथ्यो र नेपालीमा कुराकानी गरेर एक्लो महसुस नहोस् भन्ने वातावरण श्रृजना गरिरहन्थ्यो।
एकदिन राति काम गर्दागर्दै नेपालमा उसको घर नजिकैको छिमेकी साइँलाबाको फोन आयो। वडाका अध्यक्ष आत्मारामलाई सबैले साइँलाबा भन्थे।
'भीमसेन, तिम्रो बुवा सिकिस्त बिरामी हुनुहुन्छ। तिमी तुरून्त नेपाल आऊ।'
अब भने भीमसेनलाई आपत पर्यो। अमेरिका आएको एक वर्ष पनि भएको छैन। अमेरिकै देखेको छैन। सातै दिन काम। त्यही पनि रातको काम। घुमेको भनेको त्यही भुटानिज नेपालीको घर जाँदा र आउँदासम्मको बाटो मात्र देखेको छ।
अस्ताउने बेलाको घामजस्ता बुवाआमालाई सम्झेर भीमसेनको मन साह्रै रोयो। अमेरिका आएर कमाएर बुवाआमालाई पनि अमेरिकामै बोलाएर बस्ने उसको इच्छा अब पूरा हुने हो कि हैन भनेर ऊ छटपटिन थाल्यो। आमा पनि बाथको बिरामी भएकोले सजिलै हिँडडुल गर्न सक्नु हुँदैन थियो।
'ढुंगाको भर माटो, माटोको भर ढुंगा' भनेजस्तो दुई बुढाबुढी दु:खसुखले घरव्यवहारका सबै काम गरेर धन्न अहिलेसम्म गुजारा गरिरहनु भएको थियो। भीमसेनलाई चिट्ठा परेकोले बुवाआमाको सल्लाहमा नै ऊ अमेरिका आएको थियो। ऊ जाने अनि बुवाआमालाई पनि स्पोन्सर गरेर अमेरिका लाने योजना बनेको थियो। तर अब यो सबै सपनाबीच बाटोमै तुषारापात हुने होकि भन्ने उसलाई लाग्नथाल्यो।
उसलाई काकाहरूको याद आयो। बुवाको जागिर छँदा तीनै जना काकाहरूलाई बुवाको पोष्टिङ जता-जता हुन्थ्यो त्यता-त्यतै लिएर हिँडेर बुवा र आमाले उनीहरूलाई पढाउने लेखाउनेदेखि लिएर सधैँ नै स्याहारसुसार र हेरविचार गर्नुभएको थियो। काकाहरू विवाह नगरून्जेलसम्म बुवाआमाकै छत्रछाया र पालनपोषणमा बस्नुभएको थियो। सबैको राम्रो-राम्रो जागिर भएर बिहे गरेपछि, उहाँहरू आफू-आफू बस्न थाल्नुभएको थियो।
सानो काका धेरै समयसम्म ऊसँगै घरमा खाने, खेल्ने, घुम्ने र सिनेमा हेर्न जाने भएकोले उसलाई माया गर्ने नजिकको जस्तो लाग्थ्यो। त्यसैले यो दु:खको बेला सानो काकाले पक्कै बुवालाई अस्पताल लगेर बुवाको हेरविचार गर्दिनु हुन्छ कि भनेर फोन गर्यो।
'सानो काका, बुवा साह्रै हुनुहुन्छ रे। अस्पतालमा लगेर म नआउन्जेल हेरिदिनुस् न। म तुरून्त आउन टिकट खोज्दैछु।'
'भीमसेन, बाबु तँ नआत्ती,' केहिबेर रोकिएर भने, 'ए बर! दाइलाई त्यस्तो भएछ। सुन् त, तेरो काकीलाई अहिले नै लिन म ससुराली जान लागेको।'
फेरि एकछिन चुप लागेर केही सोचेजस्तो गरेर भने, 'ठूली भाउजू त घरमै हुनुहुन्छ हैन? ट्याक्सीमा लिएर जानु भन न। बरू पर्सितिर फुर्सद भयो भने यसो ठूल्दाइलाई हेर्न जाउँला।'
बाथ भएको मेरी आमाले सिकिस्त मेरो बुवालाई कसरी सम्हालेर ट्याक्सीमा चढाउनु होला र अस्पताल पुर्याउनु होला! सानो काकाको त्यो छुद्र सुन्नै मन नलाग्ने वचनले भीमसेनको रोइरहेको मन चटक्कै काटियो।
उसले सम्झियो, 'यही हो त बुवाआमाले सानो काकालाई बालकदेखि खुट्टा नटेकुन्जेलसम्म गरेको स्नेह र सेवाको फल! स्याहारेर हुर्काएर योग्य बनाएको फल! काकीलाई ससुरालीमा लिन त पछि गए पनि त हुन्थ्यो नि।'
बुवालाई जसले भए पनि तुरून्त अस्पतालमा इमेरजेन्सी लानु पर्ने भएकोले भीमसेन हतारमा थियो। उसले फोन चटक्कै काटिदियो। बुवालाई चाँडोभन्दा चाँडो अस्पताल पुर्याइदिने देउताजस्तो मानिसको खोजीमा थियो ऊ। त्यैसैले उसलाई सानो काकाको अरू गन्थन सुन्ने समय थिएन।
अब भीमसेनलाई साइँलो काकाको ठूलो आश लाग्यो। जे भए पनि साइँलो काका त त्यति खराब हुनुहुन्न भन्ने लाग्यो। पक्कै पनि बुवाआमाको गुण त बिर्सनु भएको छैन होला जस्तो लाग्यो। भीमसेनले एकदम पोजिटिभ नै हुन्छ भन्ने मात्र सोचेर साइँलो काकालाई फोन गर्यो र बुवा सिकिस्त बिरामी भएकोले अस्पताल पुर्याउन बिन्ती गर्यो।
'अहिले मेरो ड्राइभर बिदामा छ। अफिसदेखि आफै हाँकेर आएँ। एकदम थकाइ लागिरहेको छ। अलि रूघा लागेर सञ्चो नभएको जस्तो भइरहेछ। माइलो काकालाई भन् न। तँ कहिले आइपुग्छस्? बरू तँ आएपछि ठूल्दाइलाई हेर्न जाउँला।'
धिक्कार होस् साइँलो काका, अहिले यहीबेला इमर्जेन्सी परेको छ। तुरून्तै औषधोपचार चाहिने, म पुगेपछि त तपाईंको किन जरूरत छ र!
बुवाआमाले छोरो सरह पालेर गरेको गुन बिर्सेको देखेर भीमसेन तीनछक पर्यो। साइँलो काकाको सिकिस्त बिरामी भएको ठूल्दाइप्रति अलिकति पनि दयामाया नभएको देखेर भीमसेनको मन धुरूधुरू रोयो।
दुई जना काकाको नकारात्मक जवाफ सुनेर हिम्मत हारेको भीमसेनले विवश भएर माइलो काकालाई सम्झ्यो। सबै जोगी त कान चिरिएका हुँदैनन् होला त। माइलो काकाको मन त दयालु हुन पनि सक्छ भन्ने उसलाई लाग्यो। जे भए पनि बुवा पछिको काका।
उहाँलाई पक्कै ठूल्दाइको अपार स्नेह होला जस्तो लाग्यो। त्यो पनि यस्तो मर्नु न बाँच्नुको दोसाँधको अवस्थामा। यस्तो बिरामी परेको बेला नचिनेको मानिसलाई त दया जाग्छ भने आफ्नै ठूल्दाइ। पक्कै पनि माइलो काकाले ऊ नपुगुन्जेल सेवासुश्रुषा गर्नुहुन्छ भन्ने उसको मनमा लाग्यो। तर बुवाको त्यो स्थिति सम्झेर अनि कसैको सहयोग पाउने झिनो आशा नदेखेर भीमसेन रूवाइ रोक्न नसकी घ्वाँ-घ्वाँ रुँदै माइलो काकालाई फोन लगायो।
'के भो बाबु? किन रोको भन बाबु? नरो बाबु,' माइलो काकाको स्नेहभरि बोली सुनेर भीमसेनले रुँदै बोल्दै बुवालाई तुरून्त अस्पताल लानुपर्ने खबर खररर एकै स्वरमा सुनायो। माइलो काकाको सहयोगको ठूलो आश गरेर।
'बाबु, तँ दु:ख नमान। कुरा बुझ। रून चाहिँ नरो। हेर्न अहिले चुनावको बेला छ। मसँग भएको तीन वटै गाडीहरू स्ट्यान्डबाई राखेको छु। जित्ने-जित्ने उम्मेदवारलाई सहयोग अहिले गरेपछि आफूलाई पनि फाइदा। अर्को चोटि त तेरो काकी पनि उठछु भन्दैछिन्। तँ चाडो आइज म सबैकुरो भनुँला। बरू अरू काकालाई भन् न। उनीहरू त फुर्सदी छन्। त्यति ठूल्दाइलाई अस्पताल लान पनि सक्दैनन् त!'
थुइक्क माइला काका! तपाईं झन ठूलाबडा जानेबुझेको भनेको त त्यस्तो सानो बुद्धि। आफू ठडिन नसकुन्जेल ठूल्दाइ र ठूली भाउजू चाहियो। ठडिएर बंगला, जागिर, गाडी, ड्राइभर, काम गर्ने मानिस सबै जमेपछि चाहिँ ठूल्दाइको यत्रो पीडामा अलिकति समय दिएर साथ दिन नखोज्ने? राजनीतिका नेताहरूको चाकरीलाई ठूल्दाइको जीवनभन्दा अमूल्य ठान्ने।
भीमसेनको अत्तालिएर दु:खेको मन को नातासम्बन्ध, को आफ्नो को अर्काको, अब के होला, भन्ने अनेक तरङ्गहरू उब्जिरह्यो।
'के सुख हुँदा मात्र नातासम्बन्ध? दु:ख, बिरामी र बुढेसकालले गलाएपछि आफ्नै दाइको पनि भाइहरूलाई वास्ता नलाग्ने। को हो, को हो जस्तो लाग्ने! त्यतिधेरै माया गरेर पालनपोषण गर्ने दाइको गम्भीर अवस्थामा साथ दिनलाई आनाकानी गर्ने। आफ्नै दाइको त माया नगर्नेलाई कसरी आफ्नो भन्ने।
मान्छे भएदेखि त अर्को मन्छेको दु:खमा उसलाई दया जाग्छ र उसको दु:खमा केही न केही सकुन्जेल सहयोग गर्छ। पशुले त आफ्नो परिवारको हेरविचार गर्छ भने मेरा काकाहरूको मति कतिसम्म तल खसेको त।'
आफ्नै मनमा कुरा खेलाउँदा खेलाउँदै अहिलेसम्म उज्यालो नदेखेको अमेरिकाबाट रातिकै फ्लाइटमा उडेको भीमसेन एकदम हतास भएर आँसु पुछ्दै, बिलौना गर्दै, प्लेनमा चढिसकेको उसलाई पत्तै भएन।
प्लेनमा दिएका खानाका डब्बाहरू खोल्दै नखोली भोकैप्यासै बसेर बुढो भएको बुवाको मायाले विभोर भएर उसले बुवालाई सम्झिरह्यो। अमेरिकामा दिन नदेखेको उसले एकैचोटि काठमाडौँ त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा दिउँसो ओर्लिँदा झलमल घाम देख्यो। घरमा पुगेर तल भाँडामा बस्नेसँग सोध्दा त बुवा अस्पतालमा भएको थाहा पायो। अनि अस्पतालको ठेगाना लिएर सोझै ऊ अस्पताल पुग्यो।
बुवाको हातमा र मुखमा लामो नली जोडिएको थियो। बुवा बिरामी र कमजोरीले दुब्लो देखिनु भएको थियो। आमा छेउमै कुरुवाको कुर्सीमा बसेर बुवालाई टुलुटुलु हेरिरहनुभएको थियो। त्यो करूणामय दृश्यले एउटा छोरोको मन नरोओस् पनि कसरी! यसो रसाएको आँखा घुमाएको त बुवाको छेउमा रामप्रीतम काका उभिरहनु भएको थियो।
'बाबु, आउनु भयो!' भीमसेनलाई देख्नेबित्तिकै रामप्रीतमको अनुहार उज्यालो भयो।
रामप्रीतम भीमसेनको काकाको उमेरको थियो। ऊ पहिले भीमसेनको घरमा काम गर्दथ्यो। उसलाई बुवाले काकाहरू सँगसँगै एउटै स्कुलमा पढाउन हालिदिनु भएको थियो।
ऊ बुवाआमाको साह्रै सहयोगी थियो। दत्तचित्त भई आफ्नै घरजस्तो गरेर लाइअह्राइ आएको घरको सबै काम इमान्दारीपूर्वक मेहनतले गर्दथ्यो। भीमसेनलाई त एकदमै माया गर्दथ्यो। भीमसेनले रामप्रीतमलाई काका भनेर सम्बोधन गर्दथ्यो।
रामप्रीतम भीमसेनको बुवाआमाको साथसहयोग र आफ्नै मेहनतले सडक विभागको डिभिजनल इन्जिनियर भएको थियो। उसैले पो बुवालाई उसको भर्खर किनेको ठूलो आउडी गाडीमा अस्पताल ल्याएर उपचार गराउँदै गरेको भीमसेनले थाहा पायो।
भीमसेनले खुसीको आँसु खसाल्दै 'रामप्रीतम काका' भन्दै अंकमाल गर्यो। उसले हृदयदेखि नै पूजा गरेर रामप्रीतम काकाको अनुहार एकछिन हेरिरह्यो। उसले रामप्रीतम काकाको अनुहारमा भगवान देख्यो।
'रामप्रीतम काका! बुवाको उपचारको लागि मैले सबै काकालाई फोन गरी हारगुहार गरेँ। तर आफ्नै काकालाई चाहिँ बिर्सेछु,' भन्दै उसले आत्मैदेखि रामप्रीतम काकालाई सम्मान गर्दै भन्यो।
'आमाले फोन गरेपछि थाहा भो अनि तुरून्त अस्पताल लिएर आएँ। भतिज बाबु, धन्धा नमान्नुस् अब सबै नर्मल छ। आजै बेलुकादेखि यो नलीहरू हटाइदिन्छ। भोलि डिस्चार्ज गर्ने भनेको छ।'
छोरोको स्वर सुनेर बुवाले 'बाबु' भन्दै आँखा खोलेर हँसिलो र मायालु अनुहारले उसलाई हेर्नुभयो। आमाले धमिलिएको चश्मा पुछ्दै मुसुक्क हाँसेर भीमसेनलाई आफ्नो नजिक देखाउदै 'बाबु, यहाँ बस्' भन्नुभयो।
आमाले भनेपछि पो थाहा भयो कि आमाले हारगुहार गरी सबै देवरलाई बिन्तीभाउ गर्दा पनि केही सीप नलागेपछि रामप्रीतम काकालाई फोन गर्नुभएको रहेछ। थाहा पाउने बित्तिकै अफिसबाटै बिदा लिएर रामप्रीतम काकाले बुवालाई अस्पतालमा भर्ना गराएर एकछिन नछोडी बुवाकै साथमा चौबिसै घण्टा रहनु भएको रहेछ।
'रामप्रीतम काका मात्र पो मेरो काका हुनुहुँदो रहेछ, है आमा?' आमाको नजिकै बसेको भीमसेनले चोखो पवित्र मनले भन्यो।
'हो बाबु' भन्दै आमाले रामप्रीतमलाई हेर्दै उज्यालो मुहार पारेर खुसी हुनुभयो।
'भतिजबाबु, ठूल्दाइ र ठूलीभाउजुले मलाई दिएको माया म कहाँ भुल्नसक्छु र!' भन्दै रामप्रीतम काका पनि असाध्यै खुसी देखिनु भएको थियो।
भतिजोसँग धेरै समयपश्चात भेट भएर पनि होला रामप्रीतम काका खुसी हुनुहुन्थ्यो। अनि उहाँ दङ्ग परेर भीमसेनसँग केही पुराना र धेरै नयाँ कुराहरू गर्न थाल्नुभयो। धेरै वर्ष पहिलेको एकै साथमा भएजस्तो रमाइलो अनुभव भइरहेको थियो। बुवाआमाले पनि बीच-बीचमा कुरा थप्नुहुन्थ्यो। सबैजनालाई कुरा जति गर्यो त्यति मिठो लागिरहेको थियो।
अब भीमसेनले उज्यालो नदेखेको अमेरिका फेरि जान मन गरेन। सधैँ बुवाआमाको हेरचाह गरेर बस्ने अठोट गर्यो। अप्ठ्यारो परेको बेला सहृदयले सहयोग गर्ने उसको रामप्रीतम काका पनि साथै हुनुहुन्थ्यो।