गायत्रीले रुन्चे स्वरमा 'म बिरामी छु, मेरा स्तनमा गाँठा अनुभव गर्दैछु' भनेपछि चिनजान र बोलचाल भएको केही वर्षपछि मैले आफ्नो ठानेको थिएँ उसलाई।
फोन संवादमा उसले आफू बिरामी भएको वृत्तान्त बताइरहँदा म भने चेतना शून्य भएर प्रेमिका गायत्रीले अन्तरमनबाट स्वीकार गरेकोमा दंग थिएँ। बालापनदेखिको साथी माधवलाई मैले मेरा निजी कुरा सबै भन्थेँ र सुनाउँथेँ, उसले जसरी नै।
टिनएजको यात्रा सुरूआत भएसँगै उसले एकदिन मलाई भनेको थियो, 'मलाई एउटी केटीले मन पराएको कुरा गर्छे, म के जवाफ दिउँ?'
मैले उसलाई सोधेको थिएँ, 'तँ उसलाई मन पराउँछस्?'
मेरो जिज्ञासाको जवाफ दिनुभन्दा बढ्ता आफ्ना निजी कुरा मलाई भन्न माधवले पहिलो पटक मसँग सङ्कोच मानेको थियो। त्यसपछि मैले माधवसँग उसलाई मन पराउने केटीको विषयमा कहिल्यै प्रश्न गरिनँ। उसले पनि मलाई सुनाउन आवश्यक ठानेन।
हामी दुवै एकै छिमलका भए पनि समयसँगै हामी दुवै जनामा परिर्वतनका रेखाहरू देखा पर्न थालेका थिए। माधव मभन्दा केही सम्पन्न परिवारको थियो। बोर्डिङ स्कुलमा पढ्ने ऊ अरू साथीसँग भन्दा म सरकारी स्कुल पढ्नेसँग बढी भिज्थ्यो, हरेक कुरामा।
ब्याचलरको पढाइ सकेपछि माधवको ब्रह्म ज्ञानले जीवनमा पढाइभन्दा अर्थ महत्वपूर्ण हुने निष्कर्ष निकाल्यो। उसले पासपोर्ट बनाएपछि मलाई पनि विदेश जाने सल्लाह दियो। त्यही बखत मैले माधवलाई मेरो जीवनको एकदमै महत्वूर्ण र निजी कुरा सुनाएको थिएँ, मेरा कुराले माधव अवाक् भयो।
मैले माधवलाई भनेको थिएँ, 'तँलाई कुनै केटीले मन पराए झैँ म पनि एउटी केटीलाई मन पराउँछु।'
मैले माधवलाई 'तँ मन पराउँछस्? तँलाई मन पराउने केटीलाई गरेजस्तो' प्रश्न उसले मलाई गरेन। मैले मन पराएको केटीको कुरा सुनाएपछि माधवले मलाई भन्यो, 'उसले तँसँग प्रेम गरेको हो कि व्यापार? पहिले प्रष्ट हो।'
माधवका कुराले मेरो मन भारी भयो, कता-कता माधवप्रति नै रिस उठ्यो। मेरो मगजले जीवनमै पहिलो पटक कसैलाई दुश्मन मान्यो त, त्यो माधव नै थियो। माधवले मलाई साथीभन्दा माथि रहेर मैले मन पराएको केटीले साँच्ची प्रेम गरेको हो कि होइन, त्यो खुट्याउन निर्देशन दिएको थियो जसरी आज्ञाकारी विद्यार्थीलाई वर्ग शिक्षकले दिए जसरी नै।
माधवले मलाई जीवनको अर्थ बुझाउने कोसिस गर्दै भनेको थियो, 'यदि तैँले मन पराएको केटीको तँ प्रतिको प्रेम साँच्चो हो वा सर्तमा अडिएको व्यापारिक स्कीम भन्ने कुरा समयमा छुट्टयाउन सकिनस् भने, तेरो जीवन अनि तेरो अमूल्य प्रेम तैँले मन पराएको केटीलाई बुझाउँदैमा बित्नेछ।'
समयसँगै सबै कुरामा बद्लाव आयो, माधवले आफूलाई मन पराउने केटीसँग विवाह गरेर घरजम गर्यो। बितेको एक दशकमा थुप्रै परिर्वतन भए। माधवको ब्रह्मले दिएको ज्ञानले आज ऊ पारिवारिक जीवनको चटारोमा छ। वैदेशिक रोजगारीमा गएको माधवले आजभोलि मलाई हाई-हेल्लो, सञ्चो-विसञ्चो सोधीखोजी गर्नुघि म्यासेन्जर कलमा पहिले कहिले घरजम गर्छस्, बिहे कहिले गर्छस्? भनि सोध्छ।
माधवको प्रश्नले मात्र होइन, आजभोलि जो कोहीले यो प्रश्न गर्नाका साथ मेरो सास ढक्क फुल्छ, निष्पट औँसीको रातमा दृष्टि भएर पनि दृष्टिविहीन भएजस्तै। मेरो जीवन आज मलाई प्रेम गर्ने गायत्रीको प्रेम साँच्चो हो वा होइन भन्ने उल्झनमा बितिरहेको छ।
गायत्रीसँगको लामो चिनजान र बोलचालपछि एकदिन म आफैले माधवलाई म्यासेजहरू देखाएको थिएँ। मेरा म्यासेजहरू हेरेपछि उसले मलाई शीरदेखि पाउसम्म हेरेर भनेको थियो, 'तेरो एउटा सालिक बनाउनु पर्छ, प्रेममा शहीद हुनेको सालिक।'
उसको भनाइ मलाई प्रेमको भेलबाट बाहिर निकाल्नुमा केन्द्रित थियो, तर म भने गायत्रीको उल्झनवाला प्रेममा झनभन्दा झन् ढुबुल्की मारिरहेको थिएँ। मैले गायत्रीलाई पठाएका सयौँ, हजारौँ टेक्स्टका उत्तरहरू आएका थिएनन्, सयौँ कलहरू रिसिभ भएका थिएनन्। त्यसैले त माधवले मेरो सालिक बनाउने कुरा गरेको थियो।
माधवले मात्र होइन, मेरा धेरै समकक्षी र परिवारले मलाई जीवनको गन्तव्य अन्यत्र मोड्न पटक-पटक सल्लाह दिए। ती सल्लाह मलाई कहिल्यै उचित लागेनन्। मेरो मन मस्तिष्कमा सधैँ गायत्रीले रुन्चे स्वरमा भनेको 'म बिरामी छु' भन्ने वाक्य तरोताजा बनिराखे।
जति-जति समय बित्दै जान्छ, उति-उति मैले गायत्रीलाई स्वीकार गरी उसको समस्या आफ्नो समस्या मान्दै समाधान गरेका दृश्यले म प्रतिदिन कमजोर बन्दै गएँ। गायत्रीको साथ पाउन मैले सबै किसिमका चुनौतीहरूलाई स्वीकार गरेको थिएँ। नगर्नु पनि कसरी, जसलाई मैले अन्तरहृदयबाट चाहेको थिएँ, त्यो कुरा मैले उसलाई बुझाउँन सकिन वा उसलाई बुझ्नु नै थिएन।
त्यो कुराले मेरो मगजमा सधैँ चर्को बहस गरायो, गायत्री मलाई बुझ्नुभन्दा मलाई खिसीटिउरी गरेर औधी रमाउँथी। बेलाबेला गायत्रीको म प्रतिको व्यवहारले मलाई यस्तो लाग्थ्यो, उसले मलाई पटक्कै प्रेम गरेकी छैन। त्यसैले त ऊ मलाई बेवास्ता र तुच्छ बोलेर रमाउँछे।
उसको म प्रतिको बेवास्ता ऊ आत्मनिर्भर भएपछि अझ बढेर गएको थियो। कुनै दिन मैले त्यो कुराको विरोध गरेँ भने गायत्रीबाट ममाथि भिख माग्ने भिखारीको जस्तो व्यवहार बढ्ता हुन्थ्यो। हो, त्यही बेला मलाई माधवले भनेको प्रेम कि व्यापार भन्ने शब्दले नराम्रोसँग चिम्ट्दथ्यो।
गायत्रीले मलाई जतिसुकै बेवास्ता गरे पनि ऊप्रतिको मेरो प्रेम कहिल्यै कमजोर भएन। अझ गायत्री दुःखमा हुँदा उसले सबैभन्दा पहिले मलाई सम्झने व्यवहारले मेरो मुटुले गायत्रीको जुनसुकै व्यवहारलाई पनि प्रेममा नै परिणत गरिदिन्थ्यो। त्यसैको सहारामा जीवनमा पाइलाहरू बढेकै थिए। एक दशकको यात्रामा गायत्रीसँगको प्रेमलाई विवाहमा परिणत गर्ने मेरा कोसिसहरू पटक-पटक उसकै कारण फेल भएका थिए।
सहज हुँदा बिर्सने र असहज हुँदा मलाई सम्झने गायत्रीको अनौठो प्रेमले मलाई भ्रममुक्त गर्न कहिल्यै सकेन। गायत्रीका लागि आफ्नो आत्मसम्मान निछावर गर्ने मेरो आत्माले गायत्रीको मप्रतिको बेवास्ता र तुच्छतालाई सधैँ माफी गरिराख्यो।
अचानक माधवले एकदिन म्यासेन्जर कलमा गायत्रीको कुरा निकालेर उसले मलाई पहिल्यै दिएको जिम्मेवारीको जवाफ माग्यो, म संवादविहीन भएँ। म संवादविहीन हुनुका पछाडि गायत्रीले साथ नदिनु हो भन्ने जानेरै पनि मैले माधवलाई मेरै कमजोरीका कारण मैले गायत्रीको साथ पाउन नसकेको बताएँ।
तर मैले गायत्रीको साथ माग्दा उसले 'तँसँग विवाह गरे मेरो जीवन बर्बाद हुन्छ' भन्ने शब्द माधवलाई कहिल्यै बताउने आँट आएन, कहिल्यै कोही कसैलाई पनि बताउन सकिनँ।