जब मेरो छाती भित्रका दसगजाहरूमा
मडारिरहन्छन् अनेकौँ सपनाका सीमा रेखाहरू
स्वनिर्धारित सिमानाहरू मिचिँदै
मनको एकापट्टि गोलीहरू पड्कन्छन्
ठिक त्यति नै बेला
अर्को तिरबाट पड्कन्छन् एम्बुसहरू
हत्या हुन्छन् अनेकौँ निर्दोष सपनाहरू
अपांग हुन्छन् अनेकौं सवालङ्ग रहरहरू
पानी बिनाको माछीजस्तो हुन्छ मेरो रास्ट्रप्रेम।
पटक-पटक ध्वस्त हुन्छ मेरो स्वाधीनता
पटक-पटक मुर्छिंदै ब्युँझिन्छ मेरो आत्मसम्मान
पटक-पटक मर्दै बाँच्छ मेरो देशभक्ति
पटक-पटक बिक्री हुन्छ सार्वभौमसत्ता
त्यत्तिकैमा नैतिकता, र मर्यादा समेत
बेचेको अर्को समाचार आउँछ
'मालिकलाई खुसी बनाउन दूतावासमा लम्पसार नेताहरू।'