उहिलेको कुरा हो। कुनै गाउँमा एउटा मानिस आफ्ना दिवङ्गत पिताजीको श्राद्ध गर्ने तयारीमा लागेको थियो। उसले घरमा साह्रै माया गरेर एउटा बिरालो पालेको थियो। घरमा पुरोहितको आगमन भएपछि श्राद्धका सामाग्रीहरू ठिक पार्न लगायो।
उसको घरको बिरालो साह्रै चकचके थियो। श्राद्ध गर्न ठिक पारेका सामाग्रीहरूमा मुख लाइदिन थाल्यो। एकातिरबाट धपायो, अर्कोतिर गएर चिजविजहरूमा थुतुनो गाड्न थाल्यो। बिरालोले साह्रै दुःख दिएपछि श्राद्ध गरुन्जेल त्यसलाई कुनै ठाउँमा बाँध्ने विचार गर्यो।
नभन्दै छोरालाई बिरालो समात्न लगाएर डोरीले जाँतोको हातोमा त्यसलाई टनटनी बाँधिदियो। बिरालो बाँधेर ऊ ढुक्कले श्राद्ध गर्न थाल्यो। यसरी बाबुले बिरालो बाँधेर श्राद्ध गरेको दृश्यलाई पाँच वर्षको सानो छोराले गहिरो गरी हेरिरहेको थियो।
समयको गतिसितै त्यो सानो छोरो जवान बन्यो। उसको बाबु बूढो भए। एकदिन कालगतिले ऊ पनि मर्यो। अब वर्ष-वर्ष दिनमा उसले बाबुको श्राद्ध गर्न थाल्यो। उसको घरमा बिरालो थिएन। तर पनि ऊ श्राद्धको दिन गाउँभरि खोजेर भए पनि बिरालो ल्याउँथ्यो। अनि त्यसलाई जाँतोको हातोमा बाँधेर श्राद्ध गर्न थाल्थ्यो।
उसले बिरालो बाँधेर श्राद्ध गर्नुको पछाडि एउटै कारण थियो, आफू सानो छँदा बुबाले बाजेको श्राद्ध गर्दा त्यसरी नै बिरालो बाँधेर गरेको देखेको थियो। बुबाले जुन रीतले जसरी श्राद्ध गरेका थिए त्यसलाई हुबहु अनुशरण गर्नु आफ्नो कर्तव्य ठान्यो।
बाबुले श्राद्धको दिन किन बिरालो बाँधे होला? यस विषयमा उसले थोरै तर्क, विवेक र प्रश्न उठाउने हिम्मत पनि गरेन। बाबुले किन बिरालो बाँध्नु परेको थियो? अहिले मलाई बिरालो बाँध्न आवश्यक छ छैन? सन्देह उठाउने चेष्टा पनि गरेन। बाबुबाजेले गरिल्याएको चालचलन रीतिरिवाज भनेर उसले आँखा चिम्लेर अन्धानुरण गर्यो।
हाम्रो समाजमा रहेका अनगिन्ती अन्धविश्वास र रुढिवादी प्रथालाई चिन्न, बुझ्न र सम्झिन बल पुग्ने सानो घटना हो यो। बाबुबाजेले मानिआएका, गरिल्याएका चालचलन, रीतिरिवाज र परम्परा भनेर राम्रो नराम्रो, वैज्ञानिक अवैज्ञानिक, जनमुखी जनविरोधी आदि कुराको ध्यानविचार नगरी आँखा चिम्लेर अनुशरण गर्नुलाई अन्धविश्वास भनिन्छ। अन्धविश्वासले विवेकका आँखा खोल्दैन। उसले कु नैपनि कुरालाई अन्धोपाराले अनुशरण गर्दछ।
मेरो परिवेशमा समाजलाई अग्रगति र प्रगतितिर अगाडि बढ्न नदिने अनेकौँ अन्धविश्वासहरू छन्। अनेकौँ रुढिवादी प्रथाहरू छन्। मानिसको चेतनालाई माथि उठ्ने अनेकौं कुसंस्कृति र रीतिथितिहरू छन्।
मेरो समाजमा निल आर्मस्ट्रङले चन्द्रमा टेकेर झरेको वर्षौँ नाघीसक्दा पनि अहोरात्र जून ढोगी रहने, जूनलाई पानी अचाइरहने आमाहरू छन्। यहाँ बच्चाले कुचो ठड्याउँदा पाहुना आउने भए भनेर नानीलाई हकार्ने बाबुआमा छन्। त्यति मात्र होइन, आगो भर्भराउँदा, मुखमा मोसो दलिँदा, कुखुरा साउती मार्दा पनि घरमा नयाँ पाहुना आउने भए भनेर हृदयबाटै विश्वास गर्ने जमात छन्।
फोटो खिच्दा आयु घट्छ भनेर फोटो खिच्न तर्सिने बूढा बाजेबज्यैहरू छन् यहाँ। राति ऐना हेर्यो भने छिटै बुढो भइन्छ भन्ने थुप्रै अधबैँसे बा-आमाहरू छन् यहाँ। मरणीदेवीलाई बोक्सीको खतबात लाएर दिसा कोच्याउने शिक्षित सभ्यहरू छन् यहाँ।
कुखुराको पोथीले कथङ्काल 'किकिरी काँ' गर्यो भने यसले अलच्छिनी लायो, अब यस घरको मान्छे मर्ने भयो भनेर त्यसलाई काटेर धुरी कटाउने पुरुषहरू छन् यहाँ। घाँटीमा बाडुली चल्दा कसले सम्झ्यो भनेर प्रेयसीको खोजी गर्ने प्रेमीहरूको बीचमा छु म।
कसैको घाँटी खस्खसाउँदा अर्काले कुरा काट्यो भनेर शंका गर्नेहरू छन् यहाँ। आँखामा खटिरो आउँदा ढाँटेको बात लाइन्छ यहाँ। बाटोमा मन नपरेको दलित या अछुत जाति भेट्दा कुसाइत भयो भनी यात्रा रद्ध गर्ने यात्रुहरूको बीचमा छु म। भूकम्पको झड्काले पृथ्वी कम्पन हुँदा माछाको जीउ चिलाएछ भन्ने भूवेत्ताहरूको साथमा छु म।
रजस्वला भएकी नारीले मही पिउँदा भैँसी थाक्छ भन्ने पशुविद्हरुको गाउँमा छु म। त्यति मात्र होइन, ती नारीले सुन्तला, मेवा, आँप, कटहर, केरा खाँदा होइन छुँदा पनि बोट खुइलिन्छ भन्ने वनस्पतिविदहरूको बीचमा छु।
सपनामा सेतो घोडा चढे ठहरै मरिने सपनाशास्त्रीहरू छन् यहाँ। बिरालोले बाटो काट्दा दुर्घटनामा परिन्छ भनेर पिरिने मान्छेहरू छन् यहाँ। कतै जान बाटो लाग्दा रित्तो गाग्रो र रित्तो डोको देखिँदा साइत बिग्रियो भनेर गाग्रो फुटाइदिनेको गाउँमा छु म।
भदौरे गाई, कात्तिके छोरो, पुसे बाख्रो, माघे भैँसी, चैते घोडा यी पाँचै चिज पहरातिर फर्केर कराउँदा पहिरो जान्छ भनेर विश्वास गर्नेहरूको बीचमा छु म। क्षयरोगले समातेर रगत छाद्दा डायनले मन्तरेर यस्तो भएको भन्दै कालोबोको काट्ने धामी बाहरूको बीचमा छु म यहाँ।
दमले भेटेर फोक्सो खलाँती बन्दा पिशाचको दोष भनेर पिशाच मन्छाउनेहरू छन् यहाँ। लामो खडेरी लाग्दा मेघराजा रिसाएकोमा भाले भाकल गर्नेछन् यहाँ। खोलाले खेत लग्दा परेवा पूजा गरी खोलालाई घुस दिनेहरूछन् यहाँ। देवी, देउरालीलाई पनि घुस, मेघ, अग्नि, सिमेभूमे सबै-सबै चिजलाई घुस टकार्ने समाजमा छु म। यो अनाकन्टर गाउँमा घुस खाने घुस्याहा देउता र घुस खुवाउने मनुष्यहरूको बीचमा छु म।
बेलाबेलामा यहाँ मनुजभन्दा दनुजको भाउ वृद्धि हुन्छ। मान्छे डस्ने दुश्मन साँप नागराजाको रुपमा पूजिन्छ, छेदी मुसो गणेश देउताको आसनमा विराजमान हुन्छ। बाँदर बजरङ्गबली हनुमान हुन्छ। नर्क खाने कुकुर र कौवाको धुपधुँवार चल्छ।
गोरु बसाह बन्छ, सुँगुर बराह औतारमा पूजिन्छ, गाई माता बन्छिन् तर आफूलाई जन्म दिने साक्षात् माता चाहिँ सन्तानबाट अपमान, घृणा र ताडनाको शिकार बन्छिन्। आफ्नी आमालाई भन्दा अरु चिजलाई नै आमा ठानेर पूजा गर्ने सन्तानहरूको बीचमा छु म।
म बसेको ठाउँमा यहाँ मलसाप्रोले बाटो काट्नुको पनि अर्थ छ। बिरालोले चर्को स्वरमा ङ्याउ गर्नुको पनि अर्थ छ। हाप्सिलोको ह्याउ गर्नुको पनि अर्थ छ। कुकुर रोदनको आफ्नै पुराण छ यहाँ। 'क' नजान्ने कति हो कत्ति धुरन्धुर व्यासहरू छन्। म तिनै व्यासहरूको बीचमा छु।
जुनसुकै समाजमा पनि धेरै पहिलेदेखि चलिआएका अनेकौँ रीतिरिवाज, परम्परा, विश्वास, रहनसहन, चालचलन, संस्कार र संस्कृतिहरू हुन्छन्। ती राम्रा पनि हुन्छन् नराम्रा पनि हुन्छन्। समाजलाई हित गर्ने, मानव जातिलाई समुन्नतिर लैजाने खालका पनि छन्। व्यक्ति र समाजलाई अहित गर्ने, तिनलाई अधोगामी दिशातिर लैजाने खालका पनि छन्।
समाजमा रहेका असल, वैज्ञानिक र जनहितकारी विश्वासहरूलाई, चालचलन र रीतिरिवाजहरूलाई एकातिर जगेर्ना गर्दै अगाडि बढ्नुछ भने अर्कोतिर समाजको अन्तरगर्भमा रहेका अवैज्ञानिक, अवस्तुवादी अधोगामी खालका संस्कृति र विश्वासहरूलाई जरैदेखि उच्छेदन गर्नुपरेको छ।
पूर्खाको पालादेखि चलेको चलन, परम्परा, विश्वास भनेर त्यसको असल पक्ष र खराब पक्षलाई विचार नगरी तिनलाई वैज्ञानिक कसीमा कार्य-कारण सम्बन्धको विश्लेषणको नगरी अन्धोपाराले परम्परा या रुढिबाढीको कुरा पछि दगुर्नु घोर अन्धविश्वासी हुनु हो।
कुनै पनि कुरालाई विवेकका, ज्ञानका, तर्कका, विचारका आँखा खोलेर मात्र विश्वास गर्नुपर्छ। अनि मात्र हामी सुसंस्कार, सुसंस्कृति र सुसभ्यताको बाटोमा हिँड्न सक्छौँ।
म यतिखेर यिनै अन्धविश्वासीहरूको भिडमा बसेर विरोध बोलिरहेको छु। विरोध लेखिरहेको छु। तर मेरा प्रयत्नहरू यो विशाल साहारा मरुभूमिमा एक छिटो जल बन्न सकेको छैनन्। मेरा शब्द र अक्षरहरू विशाल समुद्रमा एक छुस्की रङ घोलेजस्तो हराइरहेछन्, बिलाइरहेछन्।
म जीवित रहेको परिवेश गैँडाको छाला बेरेर गजधुम्मिएर बसेको छ। मेरा छुवाइ र घोचाइहरू कुष्ठरोगीका सेता दागमा सिर्फ सिन्को छुवाइजस्ता भएका छन्। मेरा शब्द र अभिव्यक्तिहरू हात्तीको मुखमा जिरा भैरहेको बेला तपाईंहरूसँग मलाई अँध्यारोबाट उज्यालोतर्फ तान्नको लागि एक याचना गर्दछु।