दिनदिनै बढ्दैछ हत्या-हिंसा
तर अहँ! बोल्दैन यो सरकार
दिनदिनै मारिएका छन् आफ्नै श्रीमानबाट श्रीमतीहरू
तर अहँ! कुनै नियम बनाउँदैन यो सरकार
कहिले ससुराबाट बुहारी बलात्कृत हुन्छिन्
कहिले सासूबाट त कहिले नन्द-आमाजूबाट यातना सहन्छिन्
तर अहँ! केही बोल्दैन सरकार
हैन
छोरी हुनु नै अभिशाप हो भने
छोरी जन्माउन मनाही छ भनेर घोषणा गर सरकार
हैन भने देशमा हत्याहिंसा रोक्ने नियम बनाइदे सरकार।
के आमाबुबाले छोरीलाई विवाह गरेर
पराई घर दिनु नै गलत हो भने
विवाह गर्ने नियमलाई रोकिदे सरकार
हैन भने छोरीलाई खुसीले जीवन बिताउन सक्ने
नियम कानुन बनाइदे सरकार
जिन्दगी बिताउने सपना देखाएर
घरमा लगी हत्या गर्ने त्यस्ता नरपिसाचलाई
किन फाँसीको सजाय दिन सक्दैनस् सरकार?
ती अबोध दूधे बच्चाहरूको
आमाको काख छुटिरहेका बच्चाहरूको चिच्याहटलाई
किन सुन्दैनस् सरकार?
बिन्ती छ ती दूधे बच्चाहरूलाई आमाको काखमा
रमाउने अधिकार दिलाइदे सरकार।
हिजो छोरीलाई सानो चोट लाग्दा रुने ती आमा
जो आज छोरीको हत्याको खबर सुनेर के गर्दै होलिन्
ती आमाहरूको मनमा बलेको आगो त निभाउन सक्दैनस् सरकार
तर बिन्ती छ ती आमालाई हत्यारा यही हो भनेर चिनाइदे सरकार
बिन्ती छ सरकार यो देशमा हत्या हिंसा बन्द गरिदे सरकार
छोरीहरूले स्वतन्त्रतापूर्वक बाच्ने वातावरण बनाइदे सरकार।