कविता
पहिले बुवा
आउनुहुन्छ कि भनेर डर लाग्थ्यो
अहिले बुवा
जानुहुन्छ कि भनेर डर लाग्छ।
अहिले
बुवाको बैंसालु पौरखसँगै उभिएको यो घर
बुवाजस्तै खिइएको छ
बुवाले सम्याउनु भएका खेतका गराहरू
सन्तानहरूसँगै टुक्रिएको छ
बुवाले हुर्काउनुभएका रूखहरू
बुवाजस्तै कमजोर हुँदै गएका छन्
बुवाले खन्नुभएको कुलो
बुवाजस्तै सुकेर गएको छ
बुवाले बनाउनुभएको करेसाबारी
स्मृति धमिलिएजस्तै हराएको छ
त्यसैले होला
पहिले बुवाले
कराउनुहुन्छ कि भनेर डर लाग्थ्यो
अहिले बुवा
कराउन छोड्नुहुन्छ कि भनेर डर लाग्छ।
अहिले बुवा
एक तमासले
आफूले हुर्काएको बूढो रूखमा
आफ्नो बच्चालाई उड्न सिकाउँदै गरेको
चरीलाई हेरिरहनु भएको छ
शायद
बुवाले सम्झिरहनुभएको होला
पखेंटा लागेर गुँड छोडेर गएपछि
फर्केर नआउने सन्तानहरू
मुटुमा साँचेर राख्नुभएको होला
छोराछोरीको मुख हेर्ने इच्छाहरू
त्यसैले होला
पहिले बुवाले
देख्नुहुन्छ कि भनेर डर लाग्थ्यो
अहिले बुवाले
देख्न छोड्नुहुन्छ कि भनेर डर लाग्छ।
***