बेलुकीको सात बजिसकेछ, बिहान हतार-हतारमा कुन बेला घरबाट निस्केको अड्कलसम्म गर्न नभ्याएको उस्ले बल्ल यतिबेला लामो सुस्केरा हाल्दै पुरानो भइसकेको घडीमा समय नियाल्न थाल्छ।
दिउँसोभरि थुप्रिएका कामका चापले कमी हुने नाम लिएका छैनन्, रात क्रमशः छिप्पिँदै छ तर ऊ समयलाई साइड लगाएर काम पूरा गर्नतिर लाग्छ। बेलुकी ९ बजिसक्यो..
काम थाँती छ, थकानको कुरा नगरौं, तर पनि अफिसको ढोका बन्द गर्छ अनि निकाल्छ पुरानो हिरो होन्डा। चलाउने मन पटक्कै छैन, तर फेरि पुग्नु त छ-बस् त्यो सानो कोठामा, जसलाई उसले पूरै घरझैं बनाएको छ,-भान्सा कोठा, लिभिङ रूम, बेडरूम ....।
‘केबल सुत्नलाई महिनाको ७ हजार तिरेको छु, भने जति पानी चलाउन पाइन्न, हिँड्दा खुट्टामात्रै बजे पनि घरभेटीको आवाज तल चोकसम्म पुग्छ’, यस्तै: सोच्दा-सोच्दै घर पुग्छ।
मेन गेट बन्द भइसकेको हुन्छ। उसले बजाएको एकोहोरो घन्टी पनि घरबेटीको गालीसँग हारिसकेको हुन्छ।
समयमा भाडा आउने हैन, काम चाहिँ के-के न गर्ने जस्तो रातिरातिसम्म कामकै बहानामा आफूलाई सम्म निन्द्रा पर्न दिने होइन। यस्तै यस्तै वाणीहरू सुनिराख्छ। उसलाई आदत बसिसक्यो, त्यसैले आश्चर्य मान्दैन।
लल्याक-लुलुक परिसकेको ज्यान कोठाभित्र पस्ने बित्तिकै ढलिसक्छ, यसरी ढल्दा ढल्दै ज्यानले खानासम्म नपाएको धेरै रातका कथाहरू छन्।
थकानले प्यारो बनाएको निन्द्रा ,भोलिपल्ट सात बजेको अलार्मले छुट्याइदिन्छ। भारी मन लिएर जुरूक्क उठ्छ, फेरि सम्झन्छ उसका अफिसमा गर्नुपर्ने चाकडी। हिजोकै बाँकी रहेका कामका रास।
हतार हतार खाटमुनि राखेको चामल केलाउन थाल्छ, तरकारी केलाउने जाँगर फिटिक्क छैन, गोजीबाट पैसा झिक्छ, अन्डालाई भातको साथी बनाउन पसलतिर लम्किन्छ।
अफिसबाट फोन आइसकेको थियो। एकाबिहानै खानासँगै गालीले पनि पेट भरिसकेको थियो, आखिर अर्काको काम न हो, बिना गाली कसरी चलिन्छ ..!
हिजो पसिनाले निथ्रुक्क भिजेको लुगा,भुइँमा फालेको ब्यागसँगै उस्को कोठाको ढोका बन्द हुन्छ। उस्को पुरानो भइसकेको बाइक निकालेर स्टार्ट गर्न थाल्छ, तर अफसोस ..ऊ आज स्टार्ट हुनुभन्दा पहिल्यै इन्ड भइसक्यो। स्टार्ट होस पनि कति, बाइक किनेको साल सम्झन्छ, खिस्स हाँस्छ र हतार-हतार चोकतिर दौडिन्छ।
गाडी कुर्दै गर्दा उसले ऊ जस्तैः थुप्रै मान्छे देख्छ, उही भारी मन, थकित शरीर, कामको डर, ..घुमाउरो हिसाबमा कसैको कामको दास। तर यस्तैको भिडमा सरकारी नम्बर प्लेटका गाडी एक्कासि गुज्रिदिन्छन्, जुन ऊजस्तैः धेरैका सपना थिए- सायद अझै पनि छन्। बस्-सरकारी जागिर , पेन्सन, सरकारले नै छुट्याइदिएको समयमा काम, सबैको मान-सम्मान...आदि/इत्यादि।
उस्को अगाडिबाट गुज्रेको सरकारी गाडी, सरकारी जागिरेले फेरि उसका अतीत ताजा गराउँछ।
सरकारी स्कुलमै भए पनि राम्रो नम्बर ल्याएर पास गर्ने ऊ सायद गाउँकै अब्बल कहलिन्थ्यो।
बुढापाकाले सरकारी जागिरे भएस् भन्दै टाउकोमा राखेको हात ऊ आज पनि स्मरण गर्न सक्छ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण प्लस टु गाउँमै शिक्षा विषय लिएर सक्छ। स्कुल/कलेजमा उसका तारिफ गर्न कोही थाक्दैनथे। सबैको उम्मिद थियो सायद, केही गर्छ यसले, सुब्बा बन्छ यो, चौतारीमा बसेर आफ्ना जाने दिन गन्ने हजुरबाका आवाज उसका कानमा गुन्जिन थाल्छन्। प्लस टु सकिन्छ , त्यसपछिको पढाइ गाउँमा सम्भव थिएन, सहर गएर केही बन्छु भन्ने अठोट गर्छ, बाले गोजीबाट पाँच रुपैयाँ भाडासँगै दिएको सहरमा घर भाकी फुपूको ठेगाना सम्झन्छ। फुपूको घरमा केही महिनाको बसाइपछि उसले एउटा घडी-टिभी बनाउने पसलमा काम पाउँछ।
सानैदेखि यस्ता काम पनि सहजै गर्ने हुँदा पसलमा काम खासै असहज लाग्दैनथ्यो उसलाई, बिस्तारै जोगाएको पैसाले कम्प्युटर सिक्छ, केही महिनापछि सानो कोठा खोज्छ, अनि काम गर्दागर्दै लोक सेवाका किताबहरू क्रमश: जम्मा गर्न थाल्छ।
बिहान बेलुकी फुर्सद मिल्दा एकोहोरो तयारीमा लाग्छ। कक्षामै पढ्न सक्ने अवस्था थिएन, काम गरेर बचेको समयमा हरबखत लागिरहन्थ्यो।
कहिलेकाहीँ सहर बजार घुम्दै गर्दा केही लोक सेवाकै लागि लडिरहेका साथीहरूसँग चिनजान बढाउन पुग्छ, अनि कहिलेकाहीँ उनीहरूसँग लुकीलुकी कक्षा समेत जान्थ्यो।
कक्षाका हरेक मान्छेका आँखामा उसले स्वयंको सपना देख्थ्यो, उसका मनोबल बढ्थे, साथीहरूले झन् सरकारी जागिरका कुराबाट झन् उत्सुक बनाइदिन्थे।
एकोहोरो टोलाएको ऊ एक्कासि झस्किन्छ, किनकि अहिले उसमा त्यो मनोबल र उत्सुकता क्रमश: खस्किसकेका छन। उतिबेला सरकारी जागिरको सपनासँगै काम गर्ने जाँगर पनि बढ्थ्यो तर अहिले अर्काको काममा एक न एक दिन राम्रो भइएला भन्ने आस भएता पनि जाँगर झन्-झन् घर्केका छन्। किनकि वर्षौंको मेहनतले पनि उसको कामले कोही सन्तुष्ट हुँदैनथे, सायद उसले गर्ने चाकडीमा कमी पुग्यो या त देखावटी दुनियाँमा उसले केही व्यक्त गर्न सकेन।
पसलबाट आएका पैसाले खर्च-भाडा कटाएर किताब किन्ने जोहो गर्थ्यो। समय बित्दै गयो।
केही समयपश्चात उसले पहिलोपटक परीक्षा दियो।
पहिलोपटक ऊ विफल भयो, तर पनि हिम्मत हारेन। दोस्रो पटक फेरि परीक्षा दियो, तर अफसोच फेरि हार मानेन। तेस्रो /चौथो/ पाँचौं पटक फेरि परीक्षा दिइराख्यो तर ऊ परीक्षामा अब्बल कहलिएन।
बिस्तारै उसमा लडेर उठ्ने साहस हराउँदै गए। सरकारी सेवाका मनोभावना घट्दै गए। सायद त्यसैले होला त्यसपछि सरकारी जागिरका सपना आजसम्म फेरि देखेको छैन उसले, देखेको छैन या देखाउन चाहेन!
दिन क्रमशः बित्दै जाँदा समय घर्किसकेको आभास गर्थ्यो ऊ, पैसाको अभावमा हुर्केको उसले धेरथोर भए पनि पैसा कमाउन जरूरी थियो आखिर उसका मात्रै सपना थिएनन्, उसले बुढा आमाबाका पनि केही रहर पूरा गर्नु थियो। उसले सरकारी जागिरका सपनाका बाटो मोडेर अर्कै गन्तव्यमा पुग्ने अठोट गरिसकेको थियो।
उसले त्यही पसलमै निरन्तर काम गर्दै थियो। एकदिन अचानक प्राइभेट अफिसमा जागिरको अवसर विज्ञापनमा उसका आँखा पुगे। सरकारी जागिरका सपना मरेता पनि केबल जागिरका सपना बा आमाकै लागि भए पनि सलामत थिए, त्यसैले सरकारी कामका लागि विफल भएका प्रयासलाई कसैको निजी संस्थाका लागि पुनः उठाय। खुसीको कुरा ऊ त्यहाँ विफल हुनुपरेन।
अस्ति दु:खमा झरेका आँसु त्यस दिन हर्षमा पनि कति बेला झरिसकेछन् पत्तो पाएन।
सरकारका लागि गर्ने योगदान निजी संस्थामै भए पनि गर्ने अठोटको साथ उसले रातदिन मेहनत गर्यो, तर केहीदिनमै उसलाई अर्काको काम बोझ जस्तो लाग्न थालिसकेको थियो।
उसलाई कसैले केबल काम गर्ने मेसिनको रूपझैं मानिरहेको महसुस गर्थ्यो। जतिसक्छौ काम गर ,अरूलाई खुसी बनाऊ। तर उसको खुसी ??
‘चक्रपथ झर्ने हुनुहुन्छ?’ छर्लंग ब्युँझेजस्तो हुन्छ ऊ।
अतीतका दिनहरूको स्मरणमा गाडी चढेकोसम्म पत्तो पाएन आज। बिहानै एक चक्कर खाएको गाली सम्झन्छ र हतार -हतार गर्दै अफिस पुग्छ।
आज अफिसको वातावरण बेग्लै देख्छ उसले, हिजो रातिसम्म काम गर्दा पनि सायद कसैलाई रिझाउन सकेनछ, त्यसैले आज उसले नानाभाँती सुन्नपर्यो। यसै पनि अतीतले भक्कानिएको मन, फेरि उसको भक्कानो छुट्छ। अन्तत: अर्काको कामबाट उसले सदाको लागि अवकाश पाउँछ ।
उसका केही नगरी गाउँ जाने बाटो पनि बन्द हुन्छन्। सरकारी सेवाका सपनामै लागिपरेको उसले पढाइमा पनि निरन्तरता दिन छोडिसकेको थियो अन्ततः ऊ सबै कुराबाट पछि परेको आभास गर्छ। उसको अब्बलताले पनि कसैको काममा केबल थोरै समयको लागि मात्रै स्थान बनाउन सक्यो।
एकचोटि बजारिएको ऊ पुनः बजारिन पुग्छ।
बारबार लडेको ऊ पुनः लड्छ, खस्छ, हिम्मतहरू टुट्छन्। हातगोडा लगलग काँप्न थाल्छन्। आखिर उसका प्रयास र मेहनतले न त सरकारी काममा रङ ल्यायो न त कसैका निजी।
ऊ त्यसदिन भारी मन र थकित दिमागसँग जुधिरह्यो, त्यो बेचैन रातमा आँखाभरिका सपनासँग नाचिरहेको रातको अन्धकारमा बस् उसका सपना,आशा, इच्छा, निराशा, चिन्ताले घर बनाइरहे।
तर आजको रातमा सुनसान, अन्धकार र अँध्यारोमै लुकिरहेको उसको आवरणले भोलिको त्यो घामको किरणको तेजको प्रकाशसँगै एउटा रङको अन्तिम बाटो देख्छ।
-हरियो रङको पासपोर्ट।
अन्ततः सरकारी जागिरका सपनाले उसलाई बारबार लडाए, अर्काको कामले उसलाई गिराए, अब झनै बिरानो मुलुकले के गर्ला ऊ अन्जान छ आशा छ, लडेर, गिरेर उठेको ऊ फेरि लड्न र गिर्न नपुगोस्।