खुसी खोज्ने बहानामा के के गर्दैन् मान्छेले।
म पनि त्यही भिडमा उभिएको एक यात्री हुँ। गाउँको एक कुनाबाट सुरू भएको यो यात्रा कहाँ गएर टुंगिने हो थाहा छैन।
बस् कुरिरहेको छु,भौंतारी रहेको छु। सपनाहरू अनेक छन्,तिनलाई पूरा गर्ने उद्धेश्यमा नै लागिपरेको छु।
साँच्चै नै संघर्षको एक दौरान हो जस्तो लाग्छ जिन्दगी। हिँड्दा हिँड्दै टुंगिन्छ कसैको यात्रा, त कसैले चाहेको कुरा हाँसिल गर्छन् पनि।
कहिले कहिले आफ्नाभन्दा पनि आफ्नाहरूले देखेका सपनाका लागि दौडनुपर्छ म पनि त्यही मध्येको एक हुँ।
आमा बाको सपना छोरा डाक्टर भएको हेर्ने। त्यही सपना पूरा गर्न म काठमाडौंसम्म आइपुगेको छु।
यो भिड अनि भिडमा हतासिँदै गरेका मान्छेहरू देख्दा मन आतिन्छ, आमाबासँग छुट्टिएर कहिले एक्लै नबसेको म आजकाल यो काठमाडौंको गल्लीको एक कोठामा बस्दा निसास्सिएको छु।
चिया पकाउन पनि आमा गुहार्ने म आजकाल युट्युब हेरेर खाना पकाउन सिक्दैछु।
कहिले मसला धेरै भएर खानै नसकेर तरकारी फाल्छु। कहिले खानामा पानी कम भएर खाना पूरै डढाउँछु।
आमालाई फोन गरेर भन्यो भने हाँस्नुहुन्छ। आमा भन्नु हुन्छ- बिस्तारै जान्दछस् छोरा अब, पकाउन पनि सिक्नु पर्यो नि सधैं मैले पकाएरमात्र कहाँ हुन्छ! अब त तँ ठूलो भइस् नि!
आमा पनि जहिल्यै त्यस्तै भन्नु हुन्छ।
काठमाडौंमा खासै साथीहरू बनाउन सकेको पनि छैन। अरू बेला त कलेजमै बित्छ फुर्सद भएका बेला कहिले स्वयम्भू गएर बाँदरको चटक हेरेर रमाउन मन लाग्छ।
कहिले पशुपति गएर लाइन लागेका मान्छेहरू हेर्छु त्यही मन्दिरमा जाँदा पनि मानिसहरू लाइन मिचेर अगाडि घुसिरहेका हुन्छन्। छक्याइरहेका हुन्छन् एक अर्कालाई तर पनि भगवानसँग यस्तो पुगोस् उस्तो पुगोस् भन्दै मागिरहेका हुन्छन् त कोही पाप हरण होस् भनेर मागिरहेका हुन्छन्।
कहिले त्यही पछाडि रहेको वृद्धाहरू बस्ने आश्रमको छेउमा गएर बुढाबूढीहरूको कथा सुन्छु मन भक्कानिएर आउँछ ती दर्दनाक कहानी सुनेर छोराछोरी हुनेहरूले अनि हुने खानेहरूले नै आमा-बा यसरी ल्याएर अन्जान ठाउँमा अलपत्र छोडेर गएको सुन्दा आफ्ना आमा बुवा सम्झेर रूँन मन लाग्दो रहेछ।
आखिर किन यति निर्दयी बन्छन् मान्छेहरू सोच्न बाध्य छु। यिनै यस्तै कुरा हेर्दै एक्लै रूँन अनि हाँस्न मन लाग्छ मलाई। आखिर मान्छे जतिसुकै स्वार्थी भए पनि आफ्नो खुसीका लागि अरूलाई दु:ख दिन पनि पछि हट्दैनन्। गल्ली गल्ली दौडन मन लाग्छ मलाई रमिता हेर्न मन लाग्छ मान्छेका यी हर्कतहरू।
बाँकी समय त घरको छतमा बसेर तल बाटोमा हिँडेका मान्छेहरू हेर्छु अनि तिनीहरू किन दौडिरहेका होलान् भन्दै आफैं परिकल्पना गर्दै बस्छु। मेरा दिनहरू यसरी नै बित्दै थिए।
एकदिनको कुरा हो। म छतमै बसेको थिएँ, घरबेटी बा छतमा आउनु भयो। घर भाडा माग्ने बेला सिंगल छु भन्यो भने कोठा दिँदैनन् रे भन्ने सुनेको थिएँ। त्यही भएर म विवाहित हुँ भनेको थिएँ।
देख्यो कि बुहारीलाई कस्तो छ बाबु। अब कहिले ल्याउने हो भनेर हैरान पार्छन्। त्यही भएर बाजे आउने बित्तिकै तल झर्दै थिएँ तिनको पछि एउटी युवती पनि थिइन्।
‘मेरी छोरी ..दिया.. देखेको थिएन होला बाबुले’
मैले ‘नमस्कार’ गरेँ।
पहिलो नजरमै उसको सर्लक्क परेको जिउमा गयो।
हातले नमस्कार मात्रै फर्काइ तर बोलिन ऊ।
भर्याङबाट तल झरेँ पुलुक्क फर्केर हेरेँ।
उसले पनि हेरिरहेकी रैछ। मुसुक्क हाँसी। हाँसो फर्काएँ मैले पनि।
स्कुल/कलेज पढ्दा केटीहरूसँग साथी बनाउन त परै जाओस् बोल्न पनि डर लाग्थ्यो मलाई। लजालु त थिइनँ तर पनि आफैं गएर बोल्दिन थिएँ। कोठामा गएर सधैंझैं चिया पकाएँ र झ्यालमा बसेर चिया पिउँदै तल बाटोको रमिता हेरेर बसेको थिएँ।
ढोका ढ्कढ्क्याएको आवाज आयो।
हैन कसले होला घर भाडा पनि एक हप्ता अगाडि नै तिरेको हो। घरबेटी हो भनौं भने अरू साथी त छँदै छैनन्। कौतुहलताका साथ एक हातमा चिया बोकेर अर्को हातले ढोका खोलेँ।
घरबेटीकी छोरी थिई।
‘हे हजुर पो हो? म त को होला भन्दै थिएँ।’
‘किन म आउनु हुन्न र?’ हाँस्दै सोधी।
‘हैन मैले हजुर होला भनेर अनुमान नै गरेको थिइनँ।’
‘मलाई तपाईंको डिम्पल राम्रो लाग्यो..यु आर लुकिङ टु क्युट’ भनेर …थ्याक्यु भन्नुभन्दा अगाडि नै बुर्कुसी मारी।
अलमल्ल परेछु। अहिलेसम्म कसैले यस्तो भनेको थिएन मलाई, मुसुमुसु हाँस्दै ढोका लगाएर फेरि झ्यालमा बसेर चिया पिउन थालेँ। उसले यु आर लुकिङ टु क्युट भनेको कुरा कानमा गुन्जिरहेको थियो।
त्यो दिन त त्यसै बितिदियो। भोलिपल्ट कलेज जान बिहानै उठेर तल झरेँ सदाझैं।
बाटोमा जाँदा पनि मलाई ती शब्दहरूले सिर्का हानिरहेको थियो। कलेज सकेर घर आइपुग्दा घरबेटीकी छोरी पनि स्कुटर थन्क्याउँदै थिई।
‘तपाईं त भविष्यको डाक्टर पो हुनुहुँदो रैछ है?’
‘कसले भन्यो तपाईंलाई?’ उसको प्रश्न भुइँमा झर्न नपाउँदै सोधेँ। ‘मैले थाहा पाएको’मुस्कुराई।
‘हे हे हजुरको ड्याडीले भन्नुभयो होला नि अरूले त कसले भन्छ र?’
‘हैन मलाई अरू कसैले भनेको’
‘अरू त कसले भन्यो होला र? मलाई चिन्ने कोही छैन यहाँ त’ बोल्दैबोल्दै माथि गयौं।
‘छ नि अरू कोही, अनि साँच्चि तपाईंको झूट पनि पत्ता लगाएकी छु।’
म झसंग हुन्छु।
‘कस्तो झूट भन्नुभएको? मैले त आजसम्म कसैलाई झूट बोलेको छैन्। सायद तपाईं झुक्किनु भयो होला?’
तिखो स्वरमा भनि ‘हम् झूटमाथि अर्को झूट।’
मलाई खासै तर्क गर्न मन लागेन म सरासर माथितिर लागेँ।
‘डराउनु पर्दैन म ड्याडीलाई भन्दिनँ हजुरको झूट’ त्यति भनेर ऊ भित्र लुसुक्क गई।
कोठामा गएर ब्याग खाटमा राखेर पल्टेँ।
के होला त त्यस्तो घरबेटीलाई थाहा दिन नहुने मैले बोलेको झूट???
कल्पना गर्नै सकिनँ किनकि म झूट बोल्ने मान्छे त हुँदै होइन।
रिस पनि उठ्यो घरबेटीकी छोरी सम्झेर त्यसै जे पायो त्यही बोली भनेर।
बेलुकाको खाना बनाएर सधैं झैं झ्यालबाट रातिको तल बाटोमा देखिएको रौनक हेरेर बसेको थिएँ। एक्कासि घरबेटीलाई विवाहित भनेर झूट बोलेको कुरा याद आयो। तर त्यसलाई कसरी थाहा भयो, मेरो गाउँको त कोही छैनन् यहाँ, न त मेरा कोही साथी। छक्क परेँ।
रातभरि पनि कसरी थाहा पाई होली भन्ने कुराले झस्काइरह्यो।
सदाझैं बिहानै कलेज गएँ। हिजोकै कुराले पिरोलिरह्यो। तर मसँग त्यसको केही उत्तर नै थिएन। फेरि उसलाई सोध्ने आँट पनि गरिनँ।
एक हप्ता जति बितिसकेको थियो। पशुपतिको डाँडाको चौरमा हातमा किताब लिएर पल्टेर पढ्दै थिएँ। बेला बेला हात समातेर हिँडिरहेका जोडी देख्दा त रहर लाग्थ्यो मेरी पनि गर्लफ्रेन्ड भाको भए, यसरी नै हिँड्ने थिएँ भनेर फेरि सम्झन्छु म जस्तोलाई कसले पो पत्याउला भनेर।
बस् अरूका जोडी हेरेर थुक निल्नुबाहेक अरू उपाय थिएन।
झोक्रेर किताबका पानामा डुबिरहेको थिएँ।
‘ए हजुर त यहाँ आएर पो पढ्नु हुन्छ?’ आवाज कानमा आएर ठोक्कियो। फर्केर को रैछ भनेर हेरेँ। मलाई नै पो भनेको रैछ।
‘ओहो हजुर कहाँबाट यहाँ?’
‘किन हामी आउनु हुन्न र?’
पल्टेको म जुरूक्क उठेँ।
हैन तिनै घरबेटीकी छोरी पो रै’छिन्।
‘अचानक देख्दा भनेको हुँ’ नजिकै आएर बसी।
म हल्का पर सरेजस्तो गरेँ। चस्मा खोलेर पकेटमा राखेँ।
‘चस्मा पनि लगाउनु हुँदो रैछ कति चाँडै आँखा बिग्रेछ? हुन त पढन्तेहरू सबैले चस्मा लगाएको देखेको छु।’
नाजवाफ भएर बसेँ। उसैले कुरा उप्काई।
‘साँच्चि तपाईं गर्लफ्रेन्ड कुरेर बस्नु भएको थियो होला मैले डिस्टर्ब त गरिन?’
‘हे हे हैन मेरो गर्लफ्रेन्ड नै छैन कहाँ कुर्नु र त्यतिकै कहिले कहिले रमिता हेर्न यहाँ आउँछु।’
‘हेर फेरि अर्को झूट?’ खितिति हाँसी।
म केही बोलिनँ। उसलाई प्रस्ट्याउनु जरूरी ठानिनँ। बरू त्यो झूट कसरी थाहा पाई भनेर सोध्न मन लाग्यो।
‘अनि साँच्चि हजुरले मेरो झूट कसरी थाहा पाउनु भयो?’
ऊ हाँसी।
‘अस्ति हजुरको ममीले कल गर्दा मैले उठाएकी थिएँ। अनि कुरै कुरामा भन्नु भएको थियो हजुरको बिहे भएको छैन भनेर। तर पीर नमान्नु ड्याडीलाई भन्दिनँ।’ खित्त हाँसी।
म निलो कालो भएँ।
हत् कस्तो भन्न बिर्सेछु आमा बुवालाई। यताउता हेरेजस्तो गरेँ। हातमा भएको घडी हेर्दै म अब घर जान्छु भनेँ।
‘ए म पनि घर जाने हो आउनु स्कुटीमा म पुर्याइदिन्छु’ मैले ठाडै उसको अनुरोध अस्वीकार गरेँ।
‘हैन म माइक्रो चढेर जान्छु’
ओहो फेरि घरबेटीले देखे अर्को आपत घरबाटै निकाले भने म कहाँ जानु बल्ल बल्ल पाको छ घर।
उसले निकै कर गरी नजाने भए ड्याडीलाई भनि दिन्छु भन्दै जिस्क्याइरहेकी थिई। तर म मानिनँ। केही सीप नलागेपछि बाई भनेर गई।
म एक्लै मुस्कुराउँदै झोला बोकेर बाटो लागेँ।
यसरी कुरैकुरामा घरबेटीकी छोरी मसँग नजिक भैरहेको महसुस हुँदै गैरहेको थियो मलाई। आजकाल त कहिले कहिले सपनामा पनि बोलेको देख्न थालेछु।
कहिले मलाई देखेर पनि बोलिन भने किन बोलिन आज जस्तो हुन्थ्यो।कहिले छतमा बसेको बेला आउथी अनि आज यस्तो भयो उस्तो भयो भन्दै उसको दिनचर्या सुनाएर मरीमरी हाँस्थी अनि हँसाउथी। पहिले पहिले मन्दिर रमिता हेर्न जाने म आजकाल थाहै नपाई घरकै छतमा समय बिताउन थालेको पत्तै पाउन छोडेछु।
ऊ पनि कहिले माथि नआउने घरमा कोही नभएको मौका पारेर मसँग कुरा गर्न छतमा कहिले लुगा सुकाउने बहानामा आउथी त कहिले हातमा चिया बोकेर आउथी अनि खै किन हो म पनि उसको कुरा सुनेर निकै रमाउन थालिसकेछु।
ऊ त मसँग धेरै नै नजिकिँदै थिई। मलाई पनि ऊ बोली रहे खुसी लाग्न थालिसकेको छ। कहिले छेउमा आएर कस्तो देखेको छ मलाई यो लुगामा भन्छे। कहिले चकलेट ल्याएर खानु ल भनेर छेउमा राखेर भाग्छे।
म पनि पहिले भन्दा धेरै खुलिसकेको छु उसँग कुरा गर्न।
ओछ्यानमा पल्टेर उसलाई सम्झेर एक्लै पागलजस्तो बोल्न, मुस्कुराउन थालेको छु। के ऊ पनि मैले जस्तै सम्झिन्छे होला र?
अब त कलेज र पढाइ पछिको समय म कोठामै बिताउन थालेको छु। त्यो उकुसमुकुस हुने कोठामा संंसार देख्न थालेको छु। हिजो कलेजबाट घर फर्केर ढोका खोल्दा एउटा पट्याएको कागज ढोकामा थियो। खोलेर हेरेँ।
‘अबदेखि मलाई हजुर हैन दिया अनि तिमी भनेर बोलाउनु हस्, अनि मेरो नम्बर यही हो मेसेज गर्नु ल आज बेलुका। म कुरेर बस्छु ‘दिया’ लेखेको थियो।
मुटु ढुकढुक गर्दै मायाको अनुभूति शरीरभरि छरिरहेको थियो।
मायाले कागज पट्टाएर सिरानीमुनि राखेँ। कम्तीमा पनि सय पटक खोलेर पढेँ होला उसले लेखेको। त्यै सुरमा खाना पनि बनाउन बिर्सेछु। तल पसलमा गएर म:म: अर्डर गरेर माथि छतमा गएँ।
कतै ऊ आउछे कि भनेर कुरे तर आइन।
बेलुकाको आठ बजेको थियो। निकैबेर बसेपछि कोठातिर झरेँ। सिरानी पल्टाएर कागज खोलेर फेरि पढेँ।
मेसेज पठाउन मन लाग्यो, ‘हाई म दिपक नम्बरको लागि थ्याक्यू’ लेखें तर पठाउन डर लाग्यो कतै मेरो मन पो चोरेको मात्रै हो कि! फेरि घरबेटी बाले थाहा पाए भने? फेरि मेटाएँ। त्यै कागजको टुक्रा हेरेरै एक दुई घन्टा नसुती बिताएँ।
फेरि सोचे मनमात्रै चोर्ने भए नम्बर किन दिन्थी र? हजुर भन्नु पर्दैन तिमी भन्नु किन भन्थी र? मनले मान्दै मानेन।
‘हाई म दिपक’मात्रै भनेर लेखेर पठाएँ।
डरले गर्दा मुटुले ढ्यांग्रो ठोकिरहेको थियो उसको रिप्लाई आयो।
झ्वाट्टै खोले 'थ्याक्यु' भनेर लेखी।
यसरी सुरू भएको छ हाम्रो एउटा सुन्दर कहानी अब त्यसको भविष्य कहाँ र कतिसम्म हो त्यो त हेर्नै बाँकी छ तर आजकाल दियासँग नबोली, नभेटी अनि रातभरि मेसेजमा कुरा नगरी दिनै बित्दैन मेरो।