म र मेरी श्रीमती उपचारको सिलसिलामा बुटवलतर्फ जाने निधो गर्यौं।
केमा जाने भन्ने सानो भलाकुसारीपछि हामीहरू दुबै जना सानो गाडीमा जाने निधो गर्यौं। किनकि समयको बचत र छिटो छरितोलाई मध्यनजर गरी, हामीहरू बिहान १० बजे सदरमुकामबाट बुटवलको लागि हिँड्यौं। जम्मा आधा घण्टाको बाटो मात्र के अगाडि बढेका थियौं, बुढीलाई विचित्रै बान्ता भयो। हुनत चालक पछाडिको सिटको ढोकाको छेउमा थियौं, तर बान्ता भएसि ढोकाले के गरोस् र बरै, त्यहाँ बसेका सबै यात्रुले छि:छि र दुर:दुर गर्न थाले।
बान्ता सबैलाई गन्हाउने तर मैले जसोतसो खटाएरै भए पनि टाउको समाएको थिए। बुढी भने प्लास्टिकको झोलाभित्र मुख राखेर जोड- जोडसित कराउँदा, मलाई निकै दया लागेर आएको थियो भने यात्रुहरूको कोलाहल कराई अलि बढी नै सुरू भयो।
मैले चालकलाई साह्रै परानै जान लाग्यो, लौ न एकैछिन रोकिदिनु न भनेको चालकले झर्किंदै ‘कस्तो वाक्न परेको, आफूलाई समयमा नपुगे फाइन हान्छन्। कस्ता-कस्ता आइलाग्छन् यार यो गाडीमा पनि भनेर रोके। म चुप लाएर बाटोमा झरें, अनि बुढीलाई हात समाएर बिस्तारै सडकको पारि पट्टि लिएर गएँ, जुन किनारामा घर थिएनन्, बुढी बसेर के कस्सेकी थिई। पारि चिया पसलबाट अधबैंसे महिला ‘फेरि त्यो लादी त्यही फाल्नुपर्ने मेरै घर अगाडि आएर, म एकल महिलालाई हेपेर’, भन्दै कुर्लन सुरू गर्नुभयो।
मानौं हाम्रो जमानादेखिको रिसइबी भएजस्तै गर्नुभयो, मैले ‘आमा वान्ता चाहेर हुने होइन, यसरी सडकमा फालिएर आफ्नो ज्यानलाई बिमारी गराउँछु भनेर कसले गराउँछ, समस्या परेको बेलामा किन कराउनु हुन्छ, मैले पानी लिएर सफा गर्दिन्छु’ भनेर सम्झाउन खोजेको, ‘ए मेरै घर अगाडि आएर लादी फाल्ने मैसँग कराउने, म एक्ली आईमाईलाई देखेर, मलाई हेपेर, यसको बोल्ने कोही छैन भनेर, ए साँच्चै गाउँका केटा बोलाम हँ?’ भनेर बम्कन सुरू गर्नुभयो।
कहाँको कुरा कता कता पो गयो, उल्टै लफडा होला बरू नबोली नबोली त्यही तीन लिटर पानी किनेर पानीले बगाइदिए, अनि गाडी चढ्यौं र बाटो लाग्यौं।
पाँच मिनेट अगाडि के बढेका थियौं फेरि उही काम सुरू भयो। गाडीमा बसेका सवारी यसरी कराउनु भयो कि, जानी जानी बान्ता गरी उहाँहरूलाई, जानाजान वान्ताको गन्ध दिएर बस्न नहुने वातावरण सिर्जना गरेजस्तै गरी कराए, अनि चालक पनि यति रिसाएकी,यता वान्ता गरिराख्ने उता यात्रु कराइराख्ने हैरानै भएर होला नि, तपाईं दुईजना भुइँमा झर्नु त भनेर झारे। अनि बीच बाटोमा छाडेर टाप कसे। हामी भुइँमा बसेर हेरिराख्यौ दुबै जना मौन, गाडीले आफ्नो रफ्तार लियो।
घटना-२
करिब दिउँसोको २ बजेको थियो होला। वैशाख महिनाको चर्को गर्मी, मानिसहरू ओहोर-दोहोर गर्न गाह्रो मान्थे। त्यति साह्रो ओहोर दोहोर थिएन, म पसलमा त्यत्तिकै बसेको थिएँ। मेरो मोबाइलमा फोन आयो, घर माथि डोजरले बाटो खन्दा, फलेतोको रूख भाँचिएर बुवा-आमा दुबै जनाको शरीर माथि पर्यो टाउकोमा चोट छ, दुबै जना बेहोस हुनुहुन्छ तुरून्त आउनुपर्यो भनेर फोन आयो। आकस्मिक यसरी फोन आउँदा म छाँगाबाट खसेजस्तै भएँ।
मैले एम्बुलेन्स बोलाएर हस्पिटल पठाउनुस् म पनि आउँदै गर्छु भने, फेरि उताबाट दुबै जना बेहोस हुनुहुन्छ छिटो आइजा भन्नुभयो।
मेरो पनि होस हवास उड्यो, सटर बन्द गरेर जस्तो थियो, त्यस्तै हालतमा टयाक्सीमा लागेँ घरतर्फ।
घर जान ट्याक्सीमा करिब एक घण्टा लाग्थ्यो, केही समय अगाडि बढेको मात्र के थिएँ, मेरो मोबाइलमा फोन आउन सुरू गर्यो।
जति पटक फोन आउथ्यो मेरो मन त्यति नै झस्किन्थो, कसले के खबर सुनाउने हो भन्ने मात्र मनमा चिन्ता लाग्न थाल्यो। नराम्रो चिताउने मन पापी हुन्छ भन्थे पहिलो पटक थाहा पाएँ मैले।
कहाँ ल्याउनुभयो भनेर फोन गर्नै पाएको थिएन। मनभरि पीडा बोकी अगाडि बढेको, बुबा आमालाई के हुने हो? बिचरा बुढेसकालका बुबाआमा, उमेरले ८० नाघेका बुबा र ७५ वर्षकी आमा मलाई असाध्यै माया गरेर हुर्काउनु भएको, अब मैले राम्रोसँग सुखसयलमा राखौंला भनेको के भो एक्कासि, मन भरिँदै आयो,आँखामा आँसु बर्सिन थाले।
प्रत्येक फोनले मेरो मनमा शंका र पीरको ज्वारभाटाले सताउने गर्थ्यो, तर पनि हामीप्रति सहानुभूति राखेर जो जसले फोन गर्नु हुन्थ्यो, मैले मेरो क्षमताले भ्याएसम्म फोन चाहिँ उठाएको थिएँ। यत्तिकैमा मानबहादुर काकाले फोन गर्नुभयो। ‘कहाँ आइस्’ भनेर सोध्नुभयो।
मैले ‘यहाँ आएँ’ भनेँ।
अनि उहाँले ‘हामीले हस्पिटलमा पुर्यायौं। अहिले होसमा हुनुहुन्छ तर पनि टाउकोको चोट एक पटक काठमाडौं पुर्याउनपर्छ भनेर डाक्टरले भन्नुभएको छ, नआत्ती आइजा’ भन्नुभयो।
अलि राहत महसुस भयो। फोन आउने क्रम जारी नै थियो एउटा नयाँ नम्बरबाट फोन आयो मैले रिसिभ गरेँ,अनि उहाँले आफ्नो परिचय दिनुभयो, मैले दर्शन टक्राएँ, उहाँले आशिष दिनुभयो, अनि बुबा आमा को बारेमा वृत्तान्त कहनुभयो। मैले हजुर मैले सबै थाहा पाएँ म आउँदै छु म आएर काठमाडौं लिएर जान्छु भनेँ।
अनि उहाँले जे नहुनु भैहाल्यो यसमा म दु:खी छु। २,४ हजार औषधि उपचार खर्च मैले यसलाई पनि बेहोर्न भनौंला, तिमीलाई पनि राहत हुन्छ, विकास निर्माण काम हो यो, डोजर यहाँबाट गयो भने अब आउँदैन, तिमीले हुन्छ भने हुन्छ, काम नरोंकौ काम संचालन गर्न भन है बाबु’, भनेर मीठो स्वरमा भन्नुभयो। म अक्क न वक्क भएँ।
मरा जन्मदिने बुबाआमालाई यसरी बेहोस हुने गरी चोट लागेको छ जीवन र मरणको दोसाधमा छटपटाई रहनु भएको छ, यस्तो बेलामा दुई चार हजारका भिखका कुरा, अनि बाटो खन्न नरोक्न आग्रह, विकास निर्माणमा अवरोध नगर्न आग्रहले मेरो मन चसक्क छोयो।
आफूलाई समाजको जान्ने, सुन्ने,भलादमी,निकै पढालेखा,कुशल प्रखर वक्ता,आधुनिक समाजको अगुवाले सानो कुरामा मलाई ललिपप दिएर फकाउन खोजेको।
मेरो पीर मर्कामा राजनीति गर्न खोजेको? मैले धेरै नबुझे पनि अलि अलि बुझेको थिएँ घटना, दुर्घटना भए प्रशासनले सवारी साधन नियन्त्रणमा लिन्छ भन्ने। तर ती आफूलाई ठूलो ठालु र समाजको बुज्रुक हुँ भनाउँदा ब्यक्तिलाई यति पनि थाहा नभएर होला कि म माथिको कुठाराघात वा मानवियता हराएकै होला कि ?
घटना -३
असारको महिना थियो घरमा पनि नगएको पनि धेरै भएको थियो। घरमा पनि भेटघाट हुने, अनि वर्षामा काम पनि हुने, दुई चार दिन खेत रोपेर फर्कनु पर्ला भनेर, बजादेखि तीन घण्टाको मोटरसाइकलको यात्रा तय गरेँ।
पहाडको बाटो निकै अप्ठयारो, खाल्टाखुल्टी र ढुङ्गा त्यस्तै। त्यसै माथि कच्ची बाटो मोटरसाइकल चलाउन गाह्रो परेको थियो। तर पनि पसिनै पसिना भए पनि चलाएकै थिएँ। जेनतेन अप्ठयारो बाटो क्रस गरेँ।
अब सजिलो बाटो आयो, अनि खेतमा खेत रोप्ने मानिसहरूको चहलपहल पनि प्रशस्तै देखिन थाल्यो।
मलाई पनि साहस बढ्यो,अब त मरिन्न अप्ठयारो बाटो काटियो, अब त सजिलो बाटो आयो भन्दै मनमनै गुनेर आएको थिएँ ,कुनातिर पानी जमेको खाल्टो रहेछ यसो छेउतिरबाट मोटरसाइकल हाल्छु भनेको मोटरसाइकल त चिप्लेर सिलित्तै बाटोमुनि धान रोप्ने खेतमा पुग्यो। खेत रोप्ने मानिसहरू टनक्कै थिए। मलाई चिप्लनु भन्दा पनि लाज बढी लाग्यो र त्योभन्दा बढी सहयोगको अपेक्षा गरेको थिएँ, किनकि मलाई मोटरसाइकलले च्यापेको थियो। तर सहयोग गर्नुको साटो मोबाइल निकालेर फोटा खिच्न थाले। हाँसोका फोहोरा छुटने गरी हाँसे, एङ्गल मिलाई मिलाई फोटा र भिडिओ बनाए। मलाई तत्काल सहयोग गर्न कोही आएनन्।
सबैले फोटा खिचेर भ्याएपछि बल्ल आए र मोटरसाइकल बाटोमा निकालियो।
वर खोलामा आए मोटरसाइकल धोएँ, मैले पनि कपडा पखाल पुखुल पारेर घरतर्फ अगाडि बढेँ।
केही समयपछि घरमा पुगेँ। घरमा पुग्दा गाउँका साथीभाइ घरमा आएर बसेका रहेछन्। बुबा आमालाई प्रणाम गरेँ र साथीभाइहरूसँग हात मिलाउने काम भयो।
अनि एक जना दाजुले बाटोमा निकै तरिकाले पछारिए छ है भन्नुभयो, अनि मैले भने ‘हैन म त सजिलोसँग आएँ’ भनेँ।
अनि उहाँले गोजीबाट मोबाइल निकालेर, यहाँ त निकै भाइरल भएको छ त टिकटकमा मोटरसाइकलले च्यापेको भिडिओ त भन्नुभयो।
हेरेँ। मेरो दु:ख पीर अरूको लागि हाँसोको पात्र बन्यो, लाइकको वर्षा बन्यो,र ङिच्च दाँत देखाएर मनमनै सोचेँ कठै बरै के साँच्चै हराएकै हो त मानवियता?