कविता
साथी
कति सहरमा मात्र बस्छौ
कति सहरियाको गुलामी गर्छौ
अब त गाउँ जाऊ
आफ्नो गाउँ आफैं बनाऊ
साथी
गाउँ-गाउँमा रोजगारी सिर्जना भएको छ
न त तिमीले परीक्षा दिनुपर्छ
न त प्रयोगात्मक पास गर्नुपर्छ
बस, तिमीमा
घाँटी सुकाउने र
सपनाको पोको फुकाउने क्षमता भए पुग्छ
साथी
तिमीलाई कहिले नचिन्नेहरू
कहिले नचिनेको जस्तो गर्ने हरू
तिम्रो घरमा आएर
निहुँरिमुन्टी लाएर
जागिरको नियुक्ति पत्र थमाउँछन्
र आफ्ना कामदार कमाउँछन्
पुराना दौंतरी जम्मा गर
कार्यालय नै पिछे फारम भर
पछि लाग्न र लगाउन
फकाउन र थर्काउन
परिआए ढुङ्गामुढा र हुलहुज्जत गर्न
हरदम तयार छ भनी विश्वस्त पार
खाना नाना र दाना रोजेर पाउँछौ
एक महिने जागिरमा भरपुर रमाउँछौ