यो हावा, यो बादल सबैको आफ्नै गज्जबको ताल छ। यो बादलले पनि अनेक आकृति दिन्छ। म झ्यालबाट नियाल्छु। मैले बनाउनै नसकेका आकृति दिन्छ। म जे सम्झिन्छु त्यस्तै बनाइदिन्छ। शनिबार आउनु र दसैं आउनु उस्तै उस्तै हो मेरा लागि। आज शनिबार मेरो मन निकै फुरूंग भएको छ।
दसैंमा मामाघर जानु र अहिले जानु मेरा लागि उस्तै हो। जहिले गएनि मैले खाने मासु भात नै हो। म मनमनै हराइसकेँ।
'आमा आज म मामाघर जाने नि' म कोठाबाटै चिच्याएँ। जानकारी गराएँ। मलाई थाहा थियो। मामाघर निकै रमाइलो गाउँमा छ। चारैतिर फुल्ने लाली गुराँस। मनकहाँ थाम्न सक्छु र म यहाँ बसेर।
धेरै वर्षपछि म एक्लै मामाघर निस्किएँ। गाडीको यात्रापछि कति पैदल यात्रा गर्नुपर्छ थाहा छैन। म सहरमा हुर्किएकी केटी। त्यो मामाघरको वरिपरि फुल्ने फूलले मलाई तानी रह्यो।
एक्लैको यात्रा केही सोचिनँ।
झोलामा दुई चार बोतल पानी अनि केही मिठाई थिए। गाडीमा पनि म कहिले पुग्नुमात्र भइरह्यो। गाडीको यात्रा सकियो। केही मिठाई र पानीको सहाराले बाटो काटिरहें।निकै यात्रा गरेपछि म भुलिएँ। कुन बाटो जाने होला?
देख्दा आकर्षक जिउडाल भएको मान्छे। म बोलाऊँ कि नबोलाऊँ? म दोधारमा परेँ। नबोलाऊँ बाटो थाहा भएन। बोलाऊँ के भनेर? हिम्मत बटुलेर बोलाएँ। जसो तसो यात्रा पूरा भयो।
मभन्दा पहिले मेरो मन पुग्यो मामाघर। स्वर्गको एक टुक्रा आहा! प्रकृतिको अनुपम सुन्दरता म कसरी बयान गरौं? यति सुन्दर ठाउँ त्यो भन्न सकिनँ।
बेलुका सबैसँग भेटघाट भयाे। एउटा छुट्टै उमङ्ग छायो। भोलि बिहानै घुम्न जाने योजना बन्यो। त्योभन्दा अर्को खुसी मलाई किन चाहियो र! म कल्पना गर्दागर्दै कति बेला निदाएँ पत्तै भएन।
एक हप्ताको बसाइँपछि घर फर्किएँ। सोही ठाउँमा सोही मान्छे आज नि देखें। मनमा खुल्दुली बढ्यो। नबोलूँम फेरि बोल्न पाइन्न। बोलूँ के बोलूँ। उसले बोलाए नि हुने नि! यतिकैमा उसैले बोलायो। उसको नाम रतन रहेछ। केही औपचारिक कुरा सँगैको यात्रामा सकिए।
सबै कुराहरू त मैले नि खुलाउन चाहिनँ। विस्तारै हामी सामाजिक सञ्जालमा साथी भयौं। पुरानो साथी भेटेको आभास भयो। हरेक कुराकानी एक अर्कालाई मनपर्थ्यो।
हामी भेट हुनु या बोल्नु हाम्रो संयोग अनि बोली रहन भेटी रहन मन लाग्नु चाहिँ प्रेम भयो। रतन साँच्चै नै रतन नै थियो।
उसले भन्यो तिम्रा एसएमएस नपढी मेरो बिहान हुन्न। एउटा यस्तो लत बसेको थियो कि अब हामी एक अर्कामा बाँचेका छौं। प्रेम एउटा ऊर्जा बन्यो। प्रेमले कहिले बर्वाद गरेको महसुस भएन। हामी आफ्नो आफ्नो भविष्यको लागि जानकार थियौं।
समयभन्दा अगाडि र भाग्यमा नभएको पाइन्न भनेझैं। मैले त्यो छोड्नै नहुने अवस्थामा पुर्याएर रतन सँगको प्रेम त्यागे।
थिएन होइन, एउटा गहिरो प्रेम थियो। हामी एक अर्कालाई यति प्रेम गर्थ्यौं। त्यो कुरा मलाई कि उसलाई मात्र थाहा थियो। बाध्यता भनौं या म परिवर्तन भएर प्रेम त्यागेँ त्यो मलाई मात्र थाहा छ।
आधा मरिसकेको मान्छे रतनलाई छाडेर। म मौसमसँग अमेरिका आए बिहे गरी। म आफूलाई तिलाञ्जली दिन सक्ने मान्छे। मौसमको हातको सिन्दुर पहिरेर अमेरिका उडेँ।
मनमा रतनबाहेक अरू अटाउन सक्दैनन्। अनि देख्नका लागि म मौसमको जीवनसंगिनी बनेँ। खुसीले हाँस्नुपर्ने म भित्रभित्र गलिसकेकी थिएँ। आमा बुवा घर परिवार छोड्नुको पीडा। अनि मेरो मुटुभन्दा प्यारो रतन।
म रतनको लागि धोकेबाज थिएँ। उसलाई थाहा थिएन। मेरो घरको सबै वास्तविकता। उमेर हुँदा व्यापार गर्छु भनेर बुवाले ऋणले सकाउनु भएको मेरो घर। दिदीहरूको पढाइ र बिहेले उजाडिएको मेरो घर। ती साना भाइ बहिनीको उज्जवल भविष्यको अगाडि लागेको पर्दा।
बसिरहेको घरमा कुन दिन बैंकले ताला मार्थ्यो थाहा थिएन।
मेरो पढाइको खर्च अब कसले कसरी पूरा गर्ने केही टुंगो थिएन। भाइ बहिनीको पढाइमा कुन दिन विद्यालयको ढोका बन्द हुन्थ्यो थाहा थिएन। यी सब कुराहरू सोचेर मैले प्रेम त्यागेँ।
प्रेमभन्दा पैसा ठूलो सम्झेँ। रतनलाई मेरो घरको यत्रो जिम्मेवारी उठाउन दिइनँ। विचरा मलाई एउटा गुलाफ दिनलाई उसले एकदिनको खाजा कटाउनुपर्थ्यो। दुई परिवारको जिम्मेवारीले थिचेर उसलाई मार्न चाहिनँ। स्वास फेर्न कठिनाइ नहोस् सम्झेँ। मैले हो प्रेम त्यागे, पैसाको लागि।
यो अमेरिका, यो मौसम मेरा लागि बिल्कुल नयाँ थिए। न म खुलेर बोल्न सक्थे न त नजिक जान नै। मेरो मनमा सधैं उही रतन थियो। जो सँगसँगै बाँच्ने कसम थिए। अझै प्रार्थना गर्छु। मेरो रतनलाई कहिले आँसु नदेऊ। उसका आँखा साह्रै छिटो दुख्ने गर्छन्। आधा रातमा बिउँझिएर छट्पटाउन थाल्छु। मेरो पीडा कसले सुनिदिन्छ र?मलाई रतन र पैसा उत्तिकै महत्वपूर्ण हुन् भनेर। रतन तिम्रो प्रेम ग्रीन कार्डले उडायो।