मजा त आफ्नै देशमा मजा
जागिर छैन, पेसा छैन
बिहान-बेलुकी छाक टार्नै गाह्रो छ
महङ्गी बढेको बढ्यै छ
बाहिर निस्क पैसा, भित्र बस पैसा
थोरैले आउँदैन, धेरै हुँदैन
तर पनि
मजा त आफ्नै देशमा मजा।
गाउँमा मान्छे छैनन्
सहरमा टेक्ने ठाउँ छैन
खेतीपाती गर्न छोडिसके
यता पनि बाँझो उता पनि बाँझो
हरियाली छैन एउटा पनि रुख छैन
सबैका आ-आफ्ना पीडा छन्
खासै कोही खुसी छैनन्, कसैलाई पनि सुख छैन
तर पनि
मजा त आफ्नै देशमा मजा।
जो हेर्यो त्यही अहम्
ठूला त्यसै ठूला
साना पनि के कम
कोभन्दा को कम
आदर, सत्कार, दया, माया छैन
विकृति बढेको छ
संस्कृति हराएको छ
सानालाई माया छैन
तर पनि
मजा त आफ्नै देशमा मजा।
भोकभोकै मर्नु परे नि
जति दुःख गर्नु परे नि
आफ्नो देशमा आफ्नै शान छ
गर्व छ अनि छुट्टै मान छ
यही केही गर्नु छ
यही बाँच्नु छ अनि
यही मर्नु छ
जे सुकै होस्
मजा त आफ्नै देशमा मजा
मजा त आफ्नै देशमा मजा।