पर्दा खुल्ने र बन्द हुने
क्रम चलिरहेछ
छद्मवेशीहरू
पर्दाभित्र पर्दाबाहिर गरिरहेछन्
डबलीमा जमघट भइरहेछ।
पर्दाभित्र हेर्दा, सुन्दा-
बादकहरू बेसुरा बाजा बजाइरहेछन्
ढोलकीहरू बेतालमा
ढोलक ठोकिरहेछन्
साधकहरू बेरागी राग अलापिरहेछन्
नर्तकहरू बेढङ्गी नौँताली
नाच नाचिरहेछन्
भँडारेहरूले भाग मिलाउँदैछन्
साधुहरू बर्बराइरहेछन्
बडो अचम्म हुँदैछ
एक पटक होइन
पटक-पटक
डबलीमा जमघट भैरहेछ।
पर्दा बाहिर हेर्दा, सुन्दा-
बादकहरूले सुर पकडिएका छन्
ढोलकीहरू तालमा छन्
नर्तक-नर्तकी मयुर झैँ नाचिरहेछन्
भँडारेहरू कतै देखिँदैनन्
साधुहरूले सिद्धान्तको व्याख्या मिलाइरहेछन्
द्रोणाचार्यहरू भद्र उपदेश- योजनाहरू पस्किरहेछन्
एकलव्यहरू ताली ठोकिरहेछन्।
बडो अचम्म हुँदैछ
एक पटक होइन
पटक-पटक
डबलीमा जमघट भैरहेछ।
पर्दाभित्र जे देखिन्छ
पर्दाबाहिर त्यो देखिँदैन
पर्दाबाहिर जे देखिन्छ
पर्दाभित्र त्यो देखिँदैन
किनकि-
पर्दाभित्र हुने ताण्डव पर्दाबाहिर हुँदैन
पर्दाबाहिर हुने उत्सव पर्दाभित्र हुँदैन
नबुझ्नेले बुझेको छैन
बुझ्नेले जिल खाइरहेछ।
बडो अचम्म हुँदैछ
एक पटक होइन
पटक-पटक
डबलीमा जमघट भैरहेछ।