बजार खुलिसकेको छ
त्यसैले फौबन्जारको भिड लागेको छ
कसैले सामान किनुन् नकिनुन्
ग्राहकको त के कुरा
बाटोमा हिँड्ने बटुवाहरूलाई समेत
उनीहरू रंगीन टालाहरूमा बाँधेको
सामान देखाउन हतारिएका छन्
ठ्याक्कै चार वर्ष भयो
फौबन्जारहरू यो गाउँमा फर्केर नआएको
जनताले एकपटक सामान किनिदिएपछि
उनीहरूलाई चार वर्षसम्म सामान बेच्नै परेन
आफूले बेचेको सामानले यी अवधिमा
काम गरे कि गरेनन् भनेर सोध्नै परेन
आफूले बेचेको सामानको गुणस्तर
के-कस्तो रह्यो भनेर सोधपुछ गर्नै परेन
व्यापार गर्ने बेलामा यी फौबन्जार
बोलीमा तीन माना घ्यू दलेर कुरा गर्छन्
कमसल सामानलाई अत्यन्त असल भन्छन्
ग्राहकले सामान किनिदिउन् भनेर
ग्राहकको पाउमै पर्छन्
एकपटक हैन दिनको सात चोटिसम्म
धनुष्टंकारे नमस्कार गर्छन्
बोलीमा यिनको सत्यता पटक्कै छैन
यिनको सामानमा सात सालदेखि नै गुणस्तर छैन
सामान बेच्ने बेलामा हजुर-हजुर भन्न छाड्दैनन्
तर सामान बेचिसकेपछि आफ्नै ग्राहकलाई नि चिन्दैनन्
यी कहिले चिल्ला गाडीमा आउँछन्
कहिले भिन्न-भिन्न साधन चढेर आउँछन्
रंगीन ध्वजापताका बोकेर ग्राहक लोभ्याउँछन्
सामान बेच्ने बेलामा यिनले
आकाशको तारा नै झारिदिउँला झैँ गर्छन्
ताराको के कुरा यी व्यापारीबाट माखो मरेको छैन
धारोबाट पानी आएको छैन
बाटोको खाल्डो पुरिएको छैन
बैँसालु उमेर विदेशिन रोकिएको छैन
दुष्ट छिमेकीले आफ्नो भूभाग कोरिँदा पनि रोक्ने चेष्टा छैन
प्रत्येक पटक सामानसँगै
यी आश्वासनको पोको बोकेर आउँछन्
तर सम्पूर्ण ग्राहकको घर अँध्यारो बनाएर
आफ्नो घरमा उज्यालो छर्छन्
त्यसैले फेरि फौबन्जारहरू आउने क्रम सुरु भएको छ
तर खबरदार!
यिनको चिप्ला कुरामा नभुलौँ
मौका यही हो आफ्नो विवेक प्रयोग गर्ने
प्रत्येक चार वर्षको हिसाब खोज्ने।