तिमी त भन्ने गर्थ्यौ
सन्यास नलेऊ है
सुझाव पनि दिन्थ्यौ
माला नलगाऊ है
समाजले के भन्ला
इष्टमित्रले के सोच्लान्
जन्मेपछि मर्नु पर्छ
मरेपछि जन्मनु पर्छ
थाहा छ सबैलाई
पूजापाठ गर
शान्तिले बाच
मनै त हो
धेरै सम्झायौ मलाई
धेरै बुझायौ मलाई
घर, घर हो
परिवार, परिवार हो
शिष्टता र इमान्दारिता पनि त हुनुपर्छ नि
हैन र?
यसैले
उसले भनेजस्तै गरेँ
उसले सोचेजस्तै मानेँ
मन्दिर गएँ
मस्जिद गएँ
गुरुद्वार गएँ
जस्तो गएँ
उस्तै फर्किएँ
न शान्ति पाउन सकेँ
न अशान्ति फाल्न सकेँ
भुर्भुरी थियो यो मन
भुर्भुरी नै भइरह्यो
जताततै खोजेँ
यताउता चाहारेँ
भन्छन्
खोज्दै जाँदा
देउता भेटिन्छ रे
साँच्चै
तिमी भेटियौ
तिमी पनी खोज्दै थियौ
तिमीले नै भेटायौ
म अलमलमा थिएँ
तिमीले नै तिमीलाई चिनायौ
तिमीले नै तिमीलाई पहिल्यायौ
म ढुङ्गा भएँ
म मूर्ति भएँ
म मौन भित्रको मौन भएँ
म शून्य भित्रको शून्य भएँ
म आकाशझैँ विराट भएँ
म पानी भै बग्दै गएँ
म बाफ भै हराउँदै गएँ
अस्तित्व भित्रको अस्तित्वले
मलाइ गाँज्दै गयो
म हराएँ
म बिलाएँ
अपूर्व मिलन थियो
अनौठो संगम थियो त्यो
तिमीलाई नै हेरी रहेँ
तिम्रो इशारा
तिम्रो मुस्कान
मलाई पछ्याइरह्यो
सुन्नु थियो तिमीलाई
सुनिरहेँ, सुनिरहेँ
कोलाहलको बीचमा पनि
नाद गुन्जी रह्यो
गुन्जी रह्यो
हेर्नु थियो तिमीलाई
हेरी रहेँ, हेरी रहेँ
बस्तीको माझ पनि
नूर चम्की रह्यो
चम्की रह्यो
मालामा उनिएका तिम्रो तस्बिरले
आत्म बोधको झिल्को दियो
बुद्धका झैँ आँखाले
शान्तिको आभास दिलायो
यसैले त आज
हेर्दा हेर्दै हाँसिदिन्छु
सम्झनामा नाचिरहन्छु
तर पनि
अनासायै
टिलपिल, टिलपिल भरिरहन्छ
त्यसै त्यसै बगिरहन्छ
छैन प्रवाह दुनियाँको
पागल हुन्छु नजरको
आफूभित्र रमाइरहन्छु
दुनियाँलाई नमन गर्छु
सन्यास मेरो दुनियाँ हो
कर्म मेरो संसार हो
मालाभित्रै आनन्द छ
ध्यान भित्रै तिम्रो जगत छ
कस्तो थिएँ?
कस्तो भएँ?
दुनियाँको नजरमा
साँच्चै हजुर,
आज म पागल भएँ।