जब आँखा धमिलिन थाल्छ
अनि देखिन्छ गाउँको सुन्दरता
सेता हिमाल, टम्म मिलेका बस्ती
फराकिलो फाँट अनि रातै फुलेका गुराँसका जंगल
मेलापात बनिबुतो गर्न जानेका हुल
हाटबजारबाट फर्कनेहरूको ताती
बस, यही त हो सम्झिने
किनकि
बुढेसकालमा शरीरले केही गर्न नसक्ने
र
मनले गर्न सक्ने सबै हुन्छ नि त।
जब कान सुन्न नसक्ने हुन थाल्छन्
अनि सुन्न थालिन्छ गाउँमा बग्ने खोलाको आवाज
वनपाखाका कोइलीका आवाज
गाउँको नौमती बाजाको ताल
मुरली र बासुरीका मधुर धुन
गोठमा बाँधिएको लैनो भैँसीको आवाज
टौवामुनि घाम ताप्दै लडिरहेका बाछाबाछीको चकचक
बस,
यही त हो सम्झिने
किनकि
बुढेसकालमा शरीरले केही गर्न नसक्ने
तर
मनले गर्न सक्ने सबै हुन्छ नि त।
जब शरीरका छाला चेतनशून्य हुन थाल्छ
अनि महसुस हुन थाल्छ
गाउँको स्वच्छ हावाको चिसोपनको स्पर्श
घाँस-दाउरा र स्याउलाका भारी बोक्दा
ओसिएको ढाड र चिलाइको अनुभव
गाउँका वैद्यले नाडी र निधार छाम्दाको तातोपन
पाखा पखेराका काँडाले पैताला घोच्दाको चस्को
खोला खोल्साका सिस्नुका पातले पोल्दाको डाहा
बस,
यही त हो सम्झिने
किनकि
बुढेसकालमा शरीरले केही गर्न नसक्ने
तर
मनले गर्न सक्ने सबै हुन्छ नि त।
जब इन्द्रीयहरूले गति लिन छोड्छन्
अनि यादहरू पल्टिन थाल्छन् जवानीका
रोधी र घाटुनाचमा रमाउँदाको दृश्य
प्रेमिकाका नशालु आँखासँग हारेको क्षण
आफूले कोरेको पहिलो प्रेमपत्र र पहिलो सम्बोधन
प्रेमिका सँगको पहिलो चुम्बन
पहिलो सुहागरात, त्रासै त्रास बीचको शीघ्र स्खलन
यही त हो सम्झिने
किनकि
बुढेसकालमा शरीरले केही गर्न नसक्ने
तर
मनले गर्न सक्ने सबै हुन्छ नि त।
सांसारिक रमिता हेरेर जब मन थाक्छ
अनि खोज्छ एकान्तको बसाइ
भक्तालुहरूको संगत शंख, घन्टाको धुन
पूजापाठ, भक्ति, भजन, तीर्थ, व्रत
मठ मन्दिर, चैत्य, गुम्बाको शीतलता
माया र मोह सँगको मुक्ति
आध्यात्मिक संसारको चिन्तन
अलौकिक शक्ति प्रतिको समर्पण
यही त हो सम्झिने
किनकि
बुढेसकालमा शरीरले केही गर्न नसक्ने
तर
मनले गर्न सक्ने सबै हुन्छ नि त।
यो जिन्दगी के छ र
केवल सम्झनु त छ नि
जब केही गर्न सकिँदैन
त्यति बेला सबै-सबै थोक गर्न सकिन्छ
केवल स्मरणमा
सबै चिज सबै थोक
स्मरण भित्रको अतीत सबै-सबै।