केही समयको अन्तरालमा
उस्तै स्वरुप, रंग उस्तै छ
मरिच चाउरिए जसरी
निराशाले चाउरिएका तिम्रा अनुहारहरूमा
चमक ल्याउने संकल्प लिएर
एक हुल मान्छे तिमीलाई भेट्न
आउँदैछन् भन्ने हल्ला चलेको छ
तिम्रो गरिबीलाई निम्ट्यान्न पार्न
तिम्रो कुपोषित छोरोलाई पोषिलो खानेकुरा ल्याएर
तिम्री छोरीलाई रङ्गिन कपडाको कोसेली ल्याएर
तिम्रो अँधेरो मझेरीमा कहिल्यै ननिभ्ने उज्यालो ल्याएर
एक हुल मान्छे तिमीलाई भेट्न
आउँदैछन् भन्ने हल्ला चलेको छ।
तिम्रो तिर्खाले काकाकुल बस्तीमा
कहिल्यै नसुक्ने पँधेरी खनाउन
दुर्गन्धले रन्थनिएको तिम्रो बस्तीलाई
अत्तरजस्तो सुगन्धित बनाउन
जडवादले गाजेको तिम्रो बस्तीमा
रामराज्य बनाउने सङ्कल्प लिएर
एकहुल मान्छे तिमीलाई भेट्न
आउँदैछन् भन्न्ने हल्ला चलेको छ।
यो हल्ला हल्ला मात्र हैन
यो सत्य हो
एक हुल मान्छे तिमीलाई भेट्न अवश्य आउने छन्
तिमी भित्रको डरको पोको फ्याकेर सोध
तिमीजस्तै रुपरङ्ग भएको
तिम्रोजस्तै ढाँचा अनि वाचा ल्याएर
आधा दशक अघि
तिमीलाई भेट्न आएको
एक हुल मान्छे कहाँ हरायो भनेर?
एक पटक त्यो हुल र यो हुललाई हेर
पात्र उस्तै, प्रवृत्ति उस्तै
अनि तिमीले भोगेको जिन्दगी उस्तै
तिमीलाई आभास हुनेछ
जीवनको मूल्यवान आधा दशक
निरसता र यथास्थितिमा कसरी बित्यो?
त्यसैले त बिन्ती तिमीलाई
तिम्रो अनि तिम्रो बस्तीको
प्रगतिको राजमार्ग खन्ने कोदाली
वास्तविक कर्मवीरलाई हस्तान्तरण गर्नु है!