यो हावा, यो पानी, यो बादल
भिन्नाभिन्नै छ यिनको ताल
खुब सिपालु छन् इमानदार देखिन
बाहिर-बाहिर बाँसुरी बनेका छन्
भित्रभित्रै अरूले नै फुकिदिनु पर्छ।
आफ्नै स्वर छ यिनीहरूको
आफ्नै धुन छ यिनीहरूको
तैपनि अरूले फुके मात्र आवाज दिन्छन्।
आफ्नै ओठ छ यिनीहरूको
बोल्नलाई भने
कि दक्षिणबाट दबाउनु पर्छ स्वीच
कि उत्तरबाट।
आफ्नै सामर्थ्य छ चुम्बकको जस्तै
तर, घरी ढल्किन्छन् दक्षिणतर्फ घरी उत्तरतर्फ।
आफ्नै मुहान छ पानीको
पानी पिउन भने
घरी कुवामा छिर्छन्
घरी इनारमा।
जतिबेला जहाँ गए पनि
जतिबेला जहाँ ढल्किए पनि
उद्देश्य एउटै हो यिनीहरूको
पहिला आङ छोप्नु, अनि आङ मुनिको आभूषण छोप्नु।
एक लाइनमा उभिएका छन् बाघहरू
अर्को लाइनमा उभिएका छन् बाख्राहरू
बाख्राले घाँस खायो भुइँको
यही कुरा पचेन बाघलाई
र बाघले खाइदियो सिङ्गै बाख्रो।
पहिलाका मान्छेले
खुब खाए आफ्नै बारीको ताजा साग
पछिको मान्छेले सुरु गर्यो विद्रोह
र भन्यो मैले पनि खान पाउनु पर्छ।
बुढो मान्छेले स्वीकार गर्यो विद्रोह
र खान दियो नयाँ मान्छेलाई
खान पाएपछि नयाँ मान्छे के कम
उसले खाइदियो साग सँगसँगै क्वाप्प पुरानो मान्छेलाई।