पाँच छोरीहरू जन्मिएपछि
छोरो जन्मियो
बा र आमालाई गाउँले सबैले बधाई दिए
फूल, माला र अबिर पनि लगाइदिए
यति धेरै खुसीयाली छोरी
जन्मिँदा खासै भएको थिएन।
गाउँलेहरूले बा र आमालाई भने
यसपटक भगवान दाहिना भएछन्
तिमीहरूलाई आशीर्वाद दिएछन्
आमा असाध्यै रोइन्, खै किन रोइन्?
सबैले खुसीको आँसु भने
छोरो हुर्कँदै गयो
एकदिन
छोरालाई जीवनको घोषणापत्र थमाइयो
घोषणापत्रको सबैभन्दा शिरानमा
पहिलो बुँदामा लेखिएको रहेछ-
वंश धान्नु
दोस्रो बुँदामा लेखिएको रहेछ-
फलानाले जस्तै
नाम कमाउनु
तेस्रो बुँदामा लेखिएको रहेछ-
फलानाले जस्तै धन कमाउनु
चौँथोमा लेखिएको रहेछ- कहिल्यै नरुनु
र अन्तिम बुँदामा लेखिएको रहेछ-
स्वतन्त्र जीवन बाँच्नेलाई बहिष्कार गरिनेछ
समाजका ठूला ठेकेदारहरू मिलेर
जीवनको घोषणापत्र लेखिएको रहेछ!
छोराले जीवनको घोषणापत्र
हेरेर भन्यो- आमा, मैले
यो वंश धान्ने घोषणापत्र च्यातेँ भने के हुन्छ?
आमाले छोरालाई भनिन्
छोरी जन्माउन नचाहने मेरो समाजमा
हुर्कँदै गरेको छोरालाई बुहारी चाहन्छ
तेरी हजुरआमा भएर त
बा हुनुभएको हो
म छोरी भएर जन्मिएँ
अहिले आमा भएकी छु
र तिमीहरू भएका छौ
तेरा दिदीहरू पनि एकदिन आमा हुनेछन्
मेरी बुहारी पनि एकदिन आमा हुनेछिन्
जीवनको घोषणापत्र लेख्ने
समाजका ठेकेदाहरू पनि त आमाको कोखबाटै जन्मिएका होलान् नि है?
आमा नै नभए यो सृष्टि कसरी चल्छ होला?
म त यो संसारमा सृष्टि होस् भन्ने चाहन्छु तर यो समाजले
वंश धान्ने तमसुक निधारमा टाँसिदियो
बाबु, मेरी बुहारीलाई मजस्तै हुनु नपरोस्
तँ जीवनमा जे चाहन्छस्
त्यही गरेस्
एउटा साहसिक आशीर्वाद
दिँदै भनुँ
तँ स्वतन्त्र भएर बाँचेस्!