सागरलाई के थाहा
नदीहरूको पीडा
कति चट्टान र उकालो ओरालो
सहँदै बल्लतल्ल आइपुगेको छ
नूतन नौलो ठाउँमा
नयाँ रहनसहन
नवीन भाषाको परिवेशमा
आ-आफ्नै वंश बोकेर
आ-आफ्नै पहिचान बोकेर
आ-आफ्नै धर्मसंस्कृति
रीतीरिवाज र संस्कार बोकेर
उद्गम स्थलका आ-आफ्नै देशको
माटोको गन्ध बोकेर
साना-साना नदीका रहरहरू
चाहना र इच्छाहरू
जीवन सुखका संपूर्ण आकांक्षाहरू
एकछिन त्यो छालहरूको रमाइलोमा
भेट्दै खुसी हुँदै जस्तो गरेर
आखिरमा मिलाइदिन्छ
संगालेको र सम्हालेको सम्पूर्ण गाथा
अनि हराउँछ साना-साना नदी
सागरको त्यो विशालतामा
डुबिएर त्यो त्यत्रो गहिराइमा
समयको चक्र न हो
एउटा विशाल सागरभित्र
विलीन हुन्छन् सबै नदी
न त त्यसले आफ्नो
भाषा सम्हाल्न सक्छ
न त वंश अँगाल्न सक्छ
न त धर्मसंस्कृति
न त रीति-रिवाज र संस्कार
जोगाउन सक्छ
बुँद-बुँद मिलेर बनेको
सागरको विशालतामा
हरेक बुँद घोलिइसकेको हुन्छ
विशालतामै बिलाएर
आफ्नो पहिचान गुमाएर
माटोको गन्ध हराएर।