'पूर्णिमा शर्मा?' आत्तिँदै प्रश्न गरेँ।
'हजुर म्याम' भन्ने जवाफ आएपछि बोल्ने मान्छेको अनुहारमा हेरेँ। एउटा निर्दोष अनुहार, अन्दाजी तीस वर्षीय एक गर्भवती महिला मेरो क्याबिनको सोफामा बसेकी थिइन्।
'ल अहिले तपाईं जानुस्, म तपाईंको अहिलेको विशेष अवस्था हेरी सजिलो शाखाको व्यवस्था गर्छु। ती महिलालाई केही ढाडस दिएर म कार्यालयबाट एक भारी मन सहित घरमा आएँ।
मामूको बाटो हेरेर बसेको भर्खरै मन्टेश्वरी जान थालेको मेरो छोरो जासनलाई एक अंगालो हालेर जोडसँग उसलाई भनेँ, 'छोरा, आज अफिसमा तिम्रो पूर्णिमा सानिमाको जस्तै नाम गरेको एउटा अन्टी भेटेँ नि मैले।'
'ह्वाट? सेम नेम मामू?' भर्खरै सिक्दै गरेको अंग्रेजी शब्द सहित छोरोले प्रश्न गर्यो।
'तिम्रो नाम तिम्रै पूर्णिमा सानिमाले राख्दिनु भएको है छोरा?' भन्ने प्रश्नसँगै 'जाऊ, हजुरआमालाई आज मामूले पूर्णिमा सानिमाको सेम नेमको मान्छे भेट्नु भयो रे भन' भनेर म किचेन छिरेँ।
मैले मेरो श्रीमानलाई पनि दिउँसोको एउटै नामवाला कहानी सुनाउन बेर गरिनँ। मेरो विगत १० वर्ष देखिको डायरी लेख्ने बानी। डायरी फाइलिङ गरीदिने र डायरीको कभरमा मिति र डायरी नम्बर लेख्ने काम मेरो श्रीमानको थियो।
आज ती डायरीमा पूर्णिमाकै बारेमा लेखेका सबै यादहरू पढेँ। एउटा नमिठो याद आज फेरि बल्झियो।
भोलिपल्टको कार्यालय समयको पहिलो प्रहर...
'थाहा छ पूर्णिमाजी? मेरो मिल्ने साथीको नाम पनि पूर्णिमा थियो नि। तर अहिले कोही साथी छैन, मलाई साथी नै बनाउन मन लाग्दैन पूर्णिमाजी।'
ती महिला मलाई एकोहोरो मात्र हेरिन्, केही बोल्न सकिनन्। उनले सुन्ने इच्छा देखाइन् कि नाई थाहा भएन तर मलाई सुनाउन मन लाग्यो। म सिधैँ ८ वर्ष पहिले पुगेँ।
पहिलो भेट
२०७० साल असार १५, कार्यालयको वार्षिक उत्सव।
'म्याम नमस्कार!'
मैले नमस्कार फर्काउँदै 'हिजो फेसबुकमा कुरा भएको थियो है हाम्रो?' भनि प्रश्न गरिहालेँ।
हामीले वार्षिक उत्सवको अघिल्लो दिन पहिलो पटक फेसबुकमा कुरा गरेका थियौँ। त्यसपछि हाम्रो कुरा अलि धेरै हुँदै गयो। न हामी समान पदका थियौँ, न एउटै भेगका। न एउटै कलेजका विद्यार्थी नै। सम्झिँदा पनि अजीव लाग्ने हामी यसरी नजिक भयौँ कि मानौँ हामी मात्र होइन, हाम्रो नाता हाम्रा हजुरबुवा देखिको छ।
ह्वेन टु म्याडम कन्भर्टेड इन्टु टु सिस्टर्स...
हाम्रो हरेक भेटमा हामी मज्जाले सेल्फी लिन्थ्यौँ। दिनहुँ भेट हुँदा पनि हामीले लिएका सेल्फी मितिअनुसार अझै पनि मेरो हार्डडिस्कमा सुरक्षित छन्। उमेरले दुई वर्षको फरक रहेका हामी बानीमा भने कत्ति पनि फरक थिएनौँ। म्याडम, म्याडम भन्ने सम्बोधनबाट हामी एकाएक दिदीबहिनीमा परिणत हुन भेटेको एक हप्ता पनि लागेन।
हजुर, तपाईं हुँदै कति बेला तिमी र कति बेला तँ सम्ममा हाम्रो सम्बोधन हुन थाल्यो। उनले ममःको डल्लो मुखमा राख्दै मेरो नम्बर आफ्नो मोबाइलमा सेभ गरिन्- प्यारी दिदु। म पनि के कम् र? उनले भन्दा पहिले नै सेभ गरिसकेकी थिएँ- प्यारी बहिनी।
एक जोडदार सेल्फी खिचेर मैले उनलाई ट्याग गरी फेसबुकमा स्ट्याटस् लेखेँ- ह्वेन टु म्याडम कन्भर्टेड इन्टु टु सिस्टर्स।
एक कफी दुई गफी...
मलाई यस्तो लाग्छ त्यो बेला हामी नगएको काठमाडौँ उपत्यकाको राम्रो क्याफे कुनै बाँकी थिएन। हामीले नचाखेको खाजाको परिकार नै थिएन। दार्जिलिङको ममः, वसन्तपूरको पानीपुरी, बौद्धको लाफिङ, बागबजारको केक हामीले कहिल्यै नभुल्ने खाने कुरा।
पशुपति मन्दिर, पाटन मन्दिर, भक्तपूर दरबार स्क्वायर, युएन पार्क, बौद्ध स्तुपा, कृष्ण मन्दिर लगायतका अधिकांश ठाउँहरू हामी दुई बहिनी मिलेर घुमेका छौँ। एक राम्रो क्याफेको एक कप कफी अगाडि राखी एक सेल्फी खिचेर पूर्णिमाले पोष्ट गरिन्- एक कफी दुई गफी, पूर्णिमा शर्मा फिलिङ ह्याप्पी विथ सीता ज्ञवाली एट बागबजार काठमाडौँ।
अहिले ती यादहरू सम्झिँदा अझै पनि हिजोजस्तै लाग्छ तर समयले कसैलाई पर्खिंदैन रहेछ। त्यो कफीले सम्झन्छ कि नाई होला ती गफीलाई जो वर्षौंदेखि हराएका छन्।
उई लभ यु पूर्णिमा -योर्स दादु एण्ड दिदु...
मसँग पूर्णिमाको बहिनी नाता जोडिएपछि मेरो श्रीमानको पनि पूर्णिमा मनपर्ने साली। हामी तीनै जना एकअर्कालाई सप्राइज गिफ्ट दिन कहिले पछि परेनौँ। उनले 'भिनाजु त मलाई दाइजस्तो लाग्छ, म भिनाजु हैन दादु भन्छु' भन्दा 'मलाई के भाउजू भन्न्ने अब?' भन्दै म खुब झर्किन्थेँ।
उनले यो भनेर मलाई जिस्काउन कहिल्यै छोडिनन्। २०७३ साल श्रावण २७, हाम्रो एनिभर्सरीको दिन पूर्णिमाले मज्जाले सप्राइज दिने सोचमा थिइन् होला। तर म र मेरो श्रीमानले उनलाई नै सप्राइज दियौँ। एक केक अर्डर गर्यौं र म्यासेज लेख्न लगायौँ- 'वी लभ यु पूर्णिमा -योर्स दादु एण्ड दिदु।'
र त्यसपछि कहिले भेट भएन...
म कार्यालयको काममा बाहिर जिल्ला गइराख्नु पर्ने, कहिले पूर्व कहिले पश्चिम। म काममा जाँदा 'छिटो आऊ है दिदे' भनेर एक अंगालो मार्दै बिदाइ गर्ने मेरी पूर्णिमाको यो पटक बिहे हुने वाला थियो। त्यस दिन म उनलाई कार्यालयको तल छोडेर एक अंगालो मारेर पाँच सय रुपैयाँ दिएर छिट्टै आउँछु है भनि बिदा भएर बुद्ध एयरको जहाजमा नेपालगञ्ज विमानस्थल उत्रिएँ।
उनको बिहेपछि मैले उनलाई दिनमै हजार कल र म्यासेज गर्थें। तर न कल रिसिभ भयो न कल ब्याक न म्यासेजको रिप्लाई नै। फेसबुक, ह्वाट्सएप, भाइबर, ट्विटरलगायत हामीले प्रयोग गर्ने सामाजिक सञ्जालमा उनलाई खोजेँ। मैले मेरो साथी भेटिनँ।
म एक महिना जति रातभर निदाइनँ। उसको याद नआउने कुनै चिज थिएन। मोबाइल छोयो कि उनको नम्बर डायल हुने, फेसबुक खोल्यो कि उनकै प्रोफाइल चेक गर्न मन लाग्ने। मैले एउटा कठोर निर्णय गरेँ, मेरो फेसबुक सदाका लागि डिलिट गरेँ र एउटा फेक फेसबुक एकाउन्ट खोलेँ।
त्यसपछि मैले मेरी पूर्णिमालाई सम्पर्क गर्न छोडेँ। कहाँ मान्दो रहेछ र मनले? मिल्ने साथी सम्पर्क विहीन हुँदा मलाई डिप्रेसन भयो र यसबाट बाहिर निस्किन मैले एउटा नयाँ काम गरेर व्यस्त हनु पर्ने बाध्यता भयो।
बिछोडलाई सफलतामा परिणत...
यस्तो जटिल समयमा श्रीमानको राम्रो सहयोग, साथ पाएँ। त्यसको लागि उहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहान्छु। मेडिसिटी हस्पिटलका डाक्टर प्रकाश अधिकारीप्रति हार्दिक धन्यवाद। उहाँको परामर्शले नै म डिप्रेशनबाट मुक्त हुन सफल भएँ।
साथीको सम्बन्ध पनि अनौठो हुँदो रहेछ, आफूले आफ्नो सम्झेर मात्र पनि नहुँदो रहेछ। समयले सबथोक परिवर्तन गर्दै लैजाने रहेछ। उनको लागि म खास नभएता पनि मेरो लागि सधैँ विशेष सम्झनाको मुख्य पात्र रहनेछिन् मेरी पूर्णिमा।
मेरो मनमा उनलाई भेट्ने आशाहरू मरेका थिएनन्। २०७७ मंसिर १४ मा लोक सेवा आयोगको माथिल्लो पदमा सिफारिससँगै मेरो त्यही कार्यालयमा पोष्टिङ भयो जहाँ अन्तिम पटक मैले मेरी पूर्णिमालाई भेटेकी थिएँ।
र त्यसपछि...
पूर्णिमाले आँसुका धारा बगाउँदै मलाई आएर जोडले अंगालो हालेर भनिन्, 'आई एम सरी दिदु!'
आज मेरो छोरो जासनले आफ्नो नाम राखिदिने सानिमा पाएको छ। मैले आफ्नी पूर्णिमा। सबैभन्दा खुसीको कुरा त म ठूलिमामू बन्दैछु।