यमराज आफ्नो कालो जुँगा बटार्दै रन्किए, 'यो मानिसलाई किन यहाँ ल्याएको हँ?'
'यो मानिस द्वय चरित्रको छ महाराज,' उक्त मानिसलाई समाई राखेको दूतले ओठ बटार्दै भन्यो।
'यो मानिस कुन देशको हो? कुन ठाउँको हो?'
'यो नेपाल भन्ने देशको हो हजुर,' मृत मानिसलाई समातिराखेको दाँयातिरको दूतले व्यक्त गर्यो।
'ए त्यो सगरमाथाको देश! एक सिङ्गे गैँडाको देश! काँडे भ्याकुरको देश! लालीगुँरासको देश! गौतम वुद्धको देश! सीता जन्मेको देश!'
यमराजका एकैचोटि यति धेरै वाक्यांशले उक्त मानिसको नाक फुल्यो। ओहो! नेपाल देशको नाम यहाँ पनि प्रख्यात रहेछ। उसले धेरै आश आफूभित्र भर्यो। अब स्वर्ग पक्का भयो। उसले मनमनै सोच्यो।
क्षणमै गहिरो श्वास तान्यो। एकछिन मख्ख पर्यो। दुई हात गौरवसाथ जोड्दै भन्यो, 'म त्यस देशको शासक थिएँ हजुर।'
'शासक!'
यमराजको अप्रत्याशित आवाजले उसका कान उत्सुक भए, आफ्नो तारिफ सुन्न। ऊ आफू पदमा रहँदा हजारौँ तारिफ उसका कार्यकर्ताले गर्ने गर्थे। उसका सल्लाहकारहरू पनि त्यस्ता तारिफको पछि लाग्थे। तिनै तारिफको भरमा उनीहरूले आफ्ना भत्ता र तलब पकाउँथे। जागिर टिकाउँथे। ओहो! यहाँ पनि मेरो तारिफ। ऊ अझै गौरवान्दित भयो।
यमराजले चित्रगुप्ततिर आफ्ना ठूला आँखा तिखार्दै भने, 'चित्रगुप्त, यो मान्छेको पाप र पुण्यको खाता लेऊ।'
चित्रगुप्तले आफ्ना दायाँ पट्टिको हातमा भएको मोटो खाता पल्टाउँदै भने, 'भन्, तेरो नाम के रे?'
'श्रवण हजुर।'
उक्त मान्छेले यमराजका दूतहरूका माझबाट आफनो नाम प्रष्टायो। मानौँ ऊ संसारको उत्कृष्ट व्यक्ति हो।
'नाम त खुब राम्रो रहेछ। के काम पनि त्यस्तै राम्रो छ?' यमराजले मान्छेतिर तिखा नजर डुलाउँदै भने।
'राम्रो काम गरेको भए सिधैँ स्वर्गमा प्रत्थान हुन्थ्यो यसको। किन यहाँ आउँथ्यो?'
चित्रगुप्तको आवाज उसका कानमा ठोक्कियो। मान्छेले आफूले गरेका सम्पूर्ण काम सम्झियो। ऊ झसङ्ग झस्कियो। चित्रगुप्तले पुर्लुक्क यमराजका आँखामा हेरे। खाता पल्टाएँदै गर्दा 'श्रवण र नेपाल खण्ड' भन्ने नाम खोजे।
नामहरू पल्टँदै थिएँ। उनका दुवै आँखा टक्क नेपाल खण्ड र श्रवण नाममा अड्किए। तर त्यस नामको वरपर काला धब्बाहरू प्रशस्त देखा परे। चित्रगुप्तले आफ्ना चिम्सा आँखालाई ठूला पारे। उक्त मान्छेतिर पुर्लुक्क हेरे। उनको मन निमोठियो।
एकछिन घोरिए। केही क्षणको सोचमग्न लगत्तै ओठ बिगार्दै भने, 'महाराज, यो श्रवण भन्ने मान्छेको जताततै काला धब्बाहरूले भरिएको रहेछ। तिलको दाना जति पनि सेतो ठाउँ छैन। यो पापकुण्ड रहेछ महाराज! यसको परपर जताततै काला-काला धर्साहरू मात्र देखिन्छन्।'
चित्रगुप्तका कुरा सुनेपछि यमराजले आफ्नो बोलीमा माधूर्यता ल्याउँदै भने, 'अझ राम्रोसँग हेर। कतै गलत लेखियो कि! गौतम बुद्धको देशमा यति धेरै काला धब्बा! यस्तो कसरी हुन सक्छ?'
'भयो महाराज, भयो। मैले राम्रोसँग हेरेको छु। ध्यानदृष्टिले हेरेको छु। यसको शासनकालमा धेरै नै घोटाला भएको रहेछ। कोरोनाले विश्व आक्रान्त हुँदा नेपाल पनि आक्रान्त थियो। विश्व स्वास्थ्य सामाग्रीमा पनि धेरै लापर्बाही गरिएको देखिन्छ। यसले नलुटे पनि यसका आशेपासेलाई लुटको छुट देखिन्छ। २०७२ सालको भूकम्पमा आएको विदेशी सहयोगको रकम पनि बेपर्वाह देखिन्छ। थोरै मात्र जनतालाई बाडेर अरु छापछुप देखिन्छ।'
यमराजले झोक्किँदै भने, 'नेपालका शासकहरूको शासनकाल प्रष्ट पार चित्रगुप्त। मलाई शंका छ। गौतम बुद्धको देशमा यस्तो हालप्रति। अरु के-के भयो?'
महाराज! यो श्रवण भन्ने मान्छे प्रधानमन्त्रीसम्म भएको रहेछ। यसका पालामा धेरै घोटालाको लहर देखिन्छ। देश विकासलाई सहज र सरल नबनाएर कुर्सीको लागि हानाथाप गर्नेको लस्कर भेटिन्छ। देश गरिबीको चपेटामा लिप्टिएको देखिन्छ। महङ्गी आकाशमा।
आफ्ना देशमा उत्पादित सामग्री प्रयोग गर्न बन्चित छन् त्यहाँका नागरिकहरू। कमिशनको लोभले छिमेकी देशहरूबाट तरकारी र फलफूल ओसारिएको अवस्था। आफ्ना देशका तरकारी र फलफूलको भाउ गलत्याएर तरकारी खपत नभएको कारण देखाउने र भिरबाट गुल्टाउने गरेको देखिन्छ।
बाली नाली लगाउन सिँचाइको व्यवस्था छैन। सबैतिर जमिन बाँझो र जर्जर छ हजुर। किसानलाई अनुदान मल, बीउबिजन समयमा उपलब्ध छैन। नेपालको पारा यस्तै रहेछ महाराज। यसका पालामा त झनै यो सब चुलिएको थियो महाराज!'
'यसले अरु के-के काम गर्यो? राम्रो कामहरू भन चित्रगुप्त।'
'यसको पूरै जीवन बेहोसीमै बितेको देखिन्छ। यसले कहिल्यै आफूलाई निहालेन। अरुलाई निहाल्यो। आफूलाई ध्यान दिएन। अरुलाई ध्यान दियो। रिस, डाह, ईर्ष्या गर्नमै यसको समय व्यतित भएको देखिन्छ। केवल तँछाड र मछाडको अवस्थामा जीवन गुज्रेको रहेछ महाराज।'
'राम्रा काम भन्' फेरि यमराजले हुकुम जाहेर गरे।
'राम्रो काम भए पो भन्नु महाराज। हे पापीष्ट मानव, एउटै राम्रो काम गरेको हैन। छि: कस्तो मान्छे!'
'मेरो त कञ्चट तातिसक्यो। मेरो नजिकबाट तुरुन्त हटाऊ। यस्ता अपराधीको थुतुनो हेर्नु छैन। यसलाई एक मिनेट मेरो अगाडि नराख,' यमराज रन्के।
'एकछिन हजुर!' मान्छेले थरर्र काम्पै दुवै हात जोड्यो।
चित्रगुप्तले बहिखातामा हेर्दै भने, 'त्यो देशमा कयौँ युवा बेरोजगार छन्। कयौँ युवा शक्ति विदेशिएका छन्। देशमा उद्योगधन्दा सबै ठप्प छन्। वनजंगल फडानी गरेर जग्गा प्लटिङ ममत्त पारिएको छ। कमिशनको लोभले त्यस्ता जग्गा महङ्गोमा बेचिएका छन्। त्यसको असर पूरै जीवजन्तु लगायत मानिसका परिरहेको छ।
अव्यस्थित सहरीकरण र वृक्षारोपणको अभावले त्यहाँको राजधानी खराब वायु प्रदुषणमा विश्वको एक नम्बर हुनेवाला छ महाराज! त्यहाँ केवल कुर्सीको नाममा हानथाप चलिरहन्छ। देश बनाउने र सपार्ने काम ठप्प छ। यो मान्छेको खाता हेर्दा धर्मको नाममा 'ध' र 'स' को नाम कतै देखिँदैन हजुर।
'अरु के भेटिन्छ?' यमराज गर्जिए।
यमराजको गर्जाइ सुनेर चित्रगुप्तले विस्तारै भने, 'महाराज, त्यो नेपाल भन्ने देशमा धर्म र सत्य पच्चीस प्रशिशत मात्र बाँकी छ। पचहत्तर प्रतिशत घोटाला र घातै मात्र छ। कलियुगको विषेशता नै पच्चीस र पचहत्तर प्रतिशत हो।'
यमराजले जुँगा मुसार्दै भने, 'यो मान्छेसित भन्दा पनि मेरो ध्यान नेपाल देशका प्रशासकतर्फ बढी आकृष्ट छ चित्रगुप्त। किनकि त्यो गौतम वुद्ध जन्मेको उर्जित माटो र सीताको पवित्रताको देश हो। त्यसैले त्यस्तो राम्रो देशका प्रशासकले नराम्रो काम गर्ने र सजायबाट मुक्ति पाउने छुट छैन। बुझ्यौ?
अब म यसको कुकृत्य यसैबाट ओकल्न चाहन्छु। भन् मान्छे, तैँले के-के गरेको थिइस्?'
उसले मनमनै आफू करोडौँको गाडीमा गुडेको र हेलिकप्टरमा उडेको सम्झियो।
'सबै कुरा भन्। तेरा कुकृत्यहरू पोख्। ढाँट्लास् नि!' यमराज चर्के।
'हवस् हजुर,' उसले दुवै हात जोड्दै भन्यो।
उसले चुपचाप अतीतलाई निहाल्यो। त्यो कालो चिल्लो गाडी जुन सधैँ उसकै हुने गर्दथ्यो। आफ्नो दायाँबायाँ सयौँको संख्यामा तैनाथ गार्ड उसकै हुने गर्थे। आफ्ना वरपर सयौँका कार्यकर्ता। बिनासित्तैको वाह! वाह! ताली। आफ्नो शान र बलियो रवाफ। भित्र घुसिया र रबैया प्रवृत्ति। बाहिर देखावटी र बनावटी। स्वाधीनतामा रहेको देश परतन्त्र बनाउन खोजिएका सन्धी र सम्झौता। खासखुस रुपमा बेचिएका नदीनाला।
'अँ साच्ची, मैले जीउँदो हुदा राम्रा काम के गरेँ! उसले आफूले गरेका काम सम्झिन खोज्यो। एउटा असल कामको तथ्य उसको आँखामा आएन। उसले विस्तारै आफूलाई धिक्कार्यो। मान्छेको जूनी ब्यर्थै खेर गयो। यति चाडै मरौँला भन्ने सोचेकै थिइनँ। कस्तो छिटो मार्दियो! त्यो डाकाले। मानिसको शरीर। एउटा जाबो गोलीले ढल्ने!
एक गोलीले डङ्ग्राङ्ग लडेँ। आत्माघाती गोली। ऊ पनि मर्यो रे। कस्तो शान थियो। के गर्नु जति ठूलो शान भए नि। मरेपछि सकियो। शरीर जल्यो। शान जल्यो। मानसम्मान जल्यो। पाप जलेन।'
'भन् छिटो किन चुप?' यमराज चर्किए।
नजिकै रहेको एउटा राक्षसले एक कोर्रा हिर्कायो। 'हजुर, भन्छु' उसले दुवै हात जोड्दै भन्यो, 'म भन्छु हजुर।'
ऊ झोक्रिँदै विगततिर फर्कियो।
मैले गौमाताका बारेका धेरै पाप गरेको छु हजुर। 'के-के गरिस्? नबिराई भन्, दृष्ट मानव' यमराजको रुखो बोलीमा उसले नरम बोली मिसायो,' म रिष्टो नबिराई भन्छु महाराज।
मेरो आफ्नै अधिनको साम्राज्य थियो। त्यो साम्राज्यमा मेरो हैकम चल्दथ्यो। सत्ता हासिल गरेँ। मानसम्मान हासिल गरेँ। त्यसको लगत्तै मैले गरेको राम्रो कामको प्रभाव जनतालाई देखाउनु थियो। चिल्लो गाडीमा अघिपछि गार्ड र पुलिस राखेर हिँड्थेँ। त्यतिबेला म आफैं भगवान् भएजस्तो लाग्दथ्यो।
जसरी हिरण्य कश्यपले आफूलाई भगवान् ठान्थ्यो त्यसरी नै मैले पनि आफूलाई सर्वेसर्वा ठानेँ। म एकदिन एउटा कार्यक्रमबाट फर्कँदै थिएँ। त्यो चिल्लो गाडीमा। म सूर्यविनायक हुँदै सल्लाघारीतर्फ आउँदा नआउँदै मेरा आँखा गाडीबाट बाहिर हुत्तिए। मलाई झनक्क रिस उठ्यो। ती लखरलखर हिँडिरहेका बेवारिसे गाई र बाच्छाहरू देखेर।
आफ्नै मौजको आनन्दले लोभ्याइरहेको बखतमा ती फोहोरी गाई र बाच्छा देख्दा मलाई झनक्क रिस उठ्यो। कहाँबाट आए ती फोहोरी गाई र तीनका बाच्छा। छि: कस्ता फोहोरी गाई र बाच्छाहरू। ल हेर, मेरो शासनकाललाई बिथोलेका। सहरको सुन्दरता हरण गरिरहेका। मेरो नाममा रेख लगाएका। ती पशुको खेदो नगरी भएन। मैले मनमनै यस्तै भनेँ।
भोलिपल्टको उज्यालोसँगै मैले कुनै पनि गाई र तीनका बाच्छा उपत्यकामा देख्न नपरोस्। सडक पेटीमा देख्न नपरोस्। उपाय जेसुकै अपनाऊ। जलाऊ या मार। जे गर तर गोप्यताका साथ गर। कसैलाई सुइँको नहोस् र कसैलाई थाहा नहोस्। त्यसै रातदेखि जब सबै निदाउँथेँ तब गाई र बाच्छालाई तह लगाउने काम हुन थाल्दथ्यो।
गाई पोलिए। बाच्छा पोलिए। कुकुरहरू समातिए र जलाइए। त्यसको पत्तो कसैले पाएनन्। रातको १२ बजे निदाइरहेका मान्छेका नाकभित्र पस्यो त्यो नमिठो गन्ध। तर कसैले अड्कलसम्म काट्न असमर्थ भए। रात्रीको त्यो भयाभह विभत्स हत्याको रहस्य थाहा लगाउने खुबी कसमा हुनु! मान्छे मान्छे नै थिए।
कसै-कसैले झ्याल खोले। ढोका खोले। आँखा गन्ध आएतिर बिच्छाए। कान ठाडा पारे। नमिठो गन्धसगै भ्याउ पाउन खोजे। तर ती सबै कोसिस बेकाम भए। तर त्यो रहस्य सबैका लागि अल्पज्ञान बन्यो। बिहानीको तीन बजेतिर चन्दन काठ जलाइए। मग्न वासना आयो। चन्दनको वासनासँगै मानिसहरू निदाए। खोला छेउछाउबाट आएका दुर्गन्ध बेकाम भए।
चन्दनको वासनामा सबै दंग परे। अघि भर्खरको त्यो नमिठो गन्धमा मानिसले आफूलाई बेबकुफ ठाने। आफ्ना नाकलाई धिक्कारे। ती जलिरहेका चन्दनका वासनालाई जीवजन्तु डढेको सम्झेकोमा आफूलाई बेबकुफ ठाने। आफूलाई अर्ध बेहोसी माने। अल्पज्ञानी ठाने।
त्यसकै एक सातापछि 'सफा सहर' नामको लेख एउटा राष्ट्रिय पत्रिकाले छाप्यो। सबैले लेख पढे। मख्ख परे। सहर सफा पार्नेले सबैतिर सफा पार्छ। मान्छेहरूले यस्तै धेरै कुरा गरे। सुविचार सोचेँ। मानिसहरूका मनमा हजारौँ आश उब्जिए। कसैले तारिफ मच्चाए। कसैले सरकारी कामको बखान सँच्चाए। कसैले हालको सरकारी कामको महिमा चम्काए। झ्याल खोलेर गन्ध आएतिर हेर्नेहरूले आफैलाई धिक्कारे। आफूभित्र सकारात्मक सोचाइको कमी भएको महसुस गरे। अब आफूले आफैलाई सुधार्ने बाचा कसे। कसम चुहाए।
यसै सिलसिलामा भ्याली बाहिरका जिल्लाहरूमा भने बुढी गाई र तिनका बाच्छा सडकपेटीमा अलपत्र परे। सबैको ध्यान सत्तामा गयो। सत्ता आसिनहरूको ध्यान पशुपंक्षीमा गएन। कसैले त बुढी गाई र बाच्छालाई भिरबाट लडाए। तिनका रौ खौरे। मासु काटे। हड्डी निकाले। म:म: पकाए। टमाटरको चटनीमा चिकेन मटरको स्वाद लिदै भुँडी भराए।'
मान्छेले यति कुरा सकेपछि चित्रगुप्तको अनुहार चिहायो। डराई-डराई आफ्ना तिखा आँखाले उतातिर हेर्यो। चित्रगुप्तका आँखाबाट बलिन्धरा आँशुका धारा बग्दै गरेको देख्यो। मान्छेले विस्तारै भन्यो, 'हजुर किन रुनु भएको?'
'चुप लाग\ अपराधी! यति ठूलो पाप तेरो शासनमा! तेरो देशमा! तैँले शासन गरेको त्यस्तो? अझै स्वर्गको आश गर्छस्! तँ र तँजस्तै अपराधीले गर्दा आज गौमाताको बेहाल भएको छ। सडकपेटी र खोला किनारका बुढी गाई र तिनका बाच्छाको अलपत्र। राष्ट्रिय जनावर 'गाई' भनेर चिनाइएको देशका गौमाताको यस्तो उपहास!
मानिसको लागि पनि तैँले केही राम्रो काम त गरिनस्। तर पशुपंक्षीलाई पनि बाँकी छोडिनस्। सिर्फ माटो धुत्ने काम गरिस्। पैसा लुट्ने काम गरिस्। नाम र दामको पछि लागिस्। तैले इमान बेचिस्। सत्ताको लिप्तमा पाप र पुण्य छुट्याउन सकिनस्। तँ हजारौँ वर्ष पीपकुण्डमा पर्छस्। त्यसपछि पनि तेरो पाप मोक्ष छैन। बुझिस्!'
'महाराज माफ गर्दिनुहोस्' उसले दुवै हात जोड्दै भन्यो।
'बोल्छस्' भन्दै आडमै रहेको राक्षसले ठहरै हुने गरी कोर्रा हिर्कायो।
'ऐया! आथु!'
'यसलाई करोडौँ वर्षको लागि पाताल लोकको पीपकुण्डमा हाल्देऊ,' यमराज गर्जिए।
'हजुर मलाई जन्मन दिनुहोस्, त्यही नेपाल देशमा। अब राम्रा काम गर्छु। अबको मानव जुनी खेर फाल्दिनँ।'
'अझै धेर बोल्छस्' भन्दै नजिकै उभिइरहेको राक्षसले कोर्रा हिर्कायो। मान्छे थरर्र काँप्दै दुवै हात जोड्यो। कोर्राको बीचबाटै चिच्यायो, 'हजुर सौमा सौ सुध्रिन्छु। इमान र सत्यको बाटो अपनाउँछु। यस अघिका सबै पापको प्रायश्चित गर्छु।'
'तेरो पापको कुनै मोक्ष छैन। तँ अपराधीको पनि अपराधी होस्। तेरो पाप मोक्ष पाताल लोकको पीपकुण्ड नै हो। आगोको ज्वालामा दनदनी बलिरहेको पीपकुण्डमा तँ पाक्ने छस्। त्यो पनि हजारौँ वर्षसम्म बुझिस्।'
यमराजको चर्को गर्जाइ उसको कानमा पर्यो। यतिन्जेलसम्म कि उसलाई राक्षसहरूले घिसार्दै थिए। लतार्दै थिए। कोर्रा हान्दै थिए।
उसले आफूले गरेका एक-एक कुकृत्य सम्झँदै गयो। ममत्व र अहंकार। पुण्य नगरेर पाप गरेकोमा चुकचुकायो। मानव जुनी ब्यर्थै खेर गएकोमा धिक्कार्यो। मानप्रतिष्ठाको तल्लिनताले आफू बिग्रेको सम्झियो। कुनै दिन मर्नुपर्छ भन्ने बिर्सेकोमा पछुताईले ददार्यो।
जन्ममै मृत्यु रहेछ! उसले कटु सत्यलाई तुच्छ ठानेकोमा बर्बरायो। आत्मा साक्षी राख्दै करायो। म यसैको लागि उचित रहेछु। तर हजार वर्ष कहिले बित्ला! म कहिले जन्मन पाऊँला! फेरि चौरासी लाख किटपतिङ्गरको योनीमा। पशुपंक्षी योनीमा। त्यसपछि बल्ल मानव जन्म हुन्छ रे। अब कहिले आउँछ मानव जन्म!
एकैछिनमा 'ऐया र आथु, उफ् मरेँ। दुख्यो। हे दैव! हे दैव!' बरबराउँदै रगतको नदीबाट उसलाई राक्षसहरूले घिसार्दै लगे। लगार्दै लगे। कोर्रा हान्दै लगे। हे दैव। हेँ दैव गर्दै पीपकुण्डमा पकाउँदै लगे।
चित्रगुप्तले आँखा चिम्लेर ध्यान लगाए। ध्यान दृष्टिले उक्त मान्छेका बारेमा खोज तलासी गर्न खोजे। त्यो ध्यान दृष्टिले उनलाई विक्षिप्त पार्यो।
'गौतम बुद्ध जन्मेको देश। सगरमाथाको देश। नेपाल देशको माटो क्षिण भइसकेको छ। त्यसलाई जोगाउनु पर्छ। नत्र अनर्थ हुन्छ महाराज। हजुरले एक पटक ध्यान दृष्टिले हेर्नुस्,' चित्रगुप्तले पर रहेका यमराजलाई पुकारे।
यमराजले भने, 'मलाई थाहा छ चित्रगुप्त। त्यो पुण्य भूमि हो। त्यहाँ पशुपतिनाथको मन्दिर छ। पशुका नाथ भएको देशमा पशुको बेहाल छ। जहाँ शिवको महिमा छ। त्यहाँ मासुको सहर छ। जहाँ गौतम बुद्ध जन्मे। त्यहाँ असत्यको बजार छ। त्यसको अस्तित्व बचाउनु छ।'
आफ्नो बोलीमा आभार व्यक्त गर्दै यमराजले भने, 'अब त्यहाँ जन्मन पुण्य आत्माहरूलाई तुरुन्त तैनाथ गर्। अब छिट्टै त्यस देशमा महान आत्माहरूको जन्म हुन जरुरी देखिन्छ। यदि पापमा अंकुश लगाइएन भने गौतम बुद्ध र सगरमाथाको अस्तित्व नरहन सक्छ!'
'जोगिन्छ हजुर, त्यहाँ राष्टप्रेमी र पुण्य आत्माहरूको बाहुल्यता बढ्दैछ। अब त्यस देशको हालत सुध्रिन्छ। विकास पनि हुन्छ। सत्य पनि रहन्छ। देश पनि बन्छ। माटो पनि चम्किन्छ। शान्ति पनि गुन्जिन्छ।'