रहरलाग्दा घोषणापत्र लेखिन्छ
अन्धभक्तका लावालस्कर देखिन्छ
एकपल्ट चुनाव त जितियोस्
देशभित्रै अमेरिका भेटिन्छ
जमिनमा पानीजहाज हिँडाइन्छ
मोनो रेल, मेट्रो रेल गुडाइन्छ
एकपल्ट चुनाव त जितियोस्
सगरमाथामा भ्युटावर ठ्ड्याइन्छ
मिठो आश्वासन बाँडिन्छ
देशलाई हराभरा पारिन्छ
एकपल्ट चुनाव त जितियोस्
देशलाई सिङ्गापुर सारिन्छ
सपना सपनामै अल्झाइन्छ
द्रव्यको पासोमा बल्झाइन्छ
एकपल्ट चुनाव त जितियोस्
युरोपजस्तै चिटिक्क टल्काइन्छ
चिल्ला सडकहरू बनाइन्छ
आफ्नो क्षेत्रमा बजेट खन्याइन्छ
एकपल्ट चुनाव त जितियोस्
खर्च उठाउन ठेकेदार मनाइन्छ
चुनावअघि पैदलै हिँडिन्छ
चढ्नै परे साइकल चढिन्छ
एकपल्ट चुनाव त जितियोस्
महङ्गो प्राडो पजेरो किनिन्छ
कहिले कोसी महाकाली बेचिन्छ
सोझा नेपाली सिमानामा खेदिन्छ
एकपल्ट चुनाव त जितियोस्
व्यक्तिगत फाइदामा देशै बेचिन्छ।