डाँडागाउँको कच्ची सडकमा
फेरि आए नेताजी
बेपर्वाह धुलो उडाउँदै
मर्सिडिजको तडकभडकमा।
नेताजी परिवर्तनका बाहक हुन्
उनको गाडी फेरिएको छ
महलको तला थपिएको छ
पहिलेभन्दा अझ सुकिलो मुकिलो भएको छ
उनको शरीर
उनको अघिपछि, दायाँ-बायाँ
झोला बोकी हिँड्नेको सङ्ख्या अझ बढेको छ
नेताजीलाई मान्नै पर्छ
उनी सफल छन् इतिहास यथावत राख्न
कायम राख्न डाँडागाउँको विपन्नता
डाँडागाउँ उस्तै छ
जस्तो अघिल्लो चुनावमा नेताजी
आश्वासनका सट्टामा विजय लगेका थिए
त्यसपछि नेताजीले धरातल बिर्सिए
विकासले डाँडागाउँ बिर्सियो।
डाँडागाउँमा चुनावको चहलपहल छ
जहाँका जनताको रगत पसिना चुस्ने
नेताजीको एउटै महल छ
जसले गिज्याइरहेछ राजधानीबाट
डाँडागाउँका हजारौँ झुपडीहरूलाई।
डाँडागाउँमा किसानले मल पाएको छैन
बिरामीले सिटामोल पाएको छैन
भोका पेटले अन्न पाएको छैन
अस्पताल बन्न पाएको छैन
महामारी यत्रतत्र छ
तर के भो त?
आश्वासन उपलब्ध सर्वत्र छ
दशकौँसम्म नबद्लिएको
चुनावी घोषणापत्र छ।
भोकमरीले पिल्सिएको त्यो डाँडागाउँ आज
मासुसँगै पकाइएको छ
बियरले भिजाइएको छ
हिउँदमा कठ्याङ्ग्रिँदै मर्दा समेत
एकसरो लुगा नपाएको डाँडागाउँ
आज दर्जनौँ समूहका हजारौँ टिसर्टले रङ्गिएको छ
यस्तै चक्र चलिरह्यो चलिरहेको छ
मरुभूमि बनाई क्षणिक झरी खसालिएको छ
कठ्याङ्ग्रिँदो बिहानको अघिल्लो यो रातमा
पिसाबले नै सही, एकछिन न्यानो गराएको छ
डाँडागाउँमा आज चुनाव आएको छ।