वैशाख महिनाको उखरमाउलो गर्मी, शनिबारको दिन थियो। बिहानको खाना खाएर घरको आँगनीको शीतल छहारीमा बसिरहेको थिएँ। मोबाइलमा एक्कासी फोनको घन्टी बज्यो- टिङ..टिङ..टिङ...।
मोबाइल हेरेँ, पल्ला घरे माइला दाइको रहेछ। उहाँको खास नाम सुवास भए पनि गाउँमा सबैले माइला भनेर बोलाउने गर्छन्।
फोन उठाई नसक्दै हत्तारिए जस्तो, आत्तिए जस्तो गरेर दाइले भन्नुभयो- 'भाइ, श्रीमतीलाई व्यथाले च्याप्यो, चिच्चाउँदै छे। घरमा कोही पनि छैनन। के गर्ने होला? कहाँ लाने होला? गोजीमा एकसुको पैसा पनि छैन। लौन तँ त गाउँको जान्नेसुन्ने छस्, केही उपाय निकालेर छिटो यहाँ आइजा।'
दाइले त्यति भनेर फोन काटिहाले। म केही बेर अलमल परेँ। के गर्ने होला? केही बेर यताउति गरेँ। समय खेर फाल्नु भनेको बिरामीको ज्यान लिनु हो। फेरि भाउजू पहिलादेखिकै बिरामी हुनुहुन्छ। त्यसमाथि गर्भावस्थामा केही भइहाल्यो भने दाइको बिचल्ली हुन्छ।
गाउँमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने माइला दाइ साँच्चीकै सोझा थिए। केही वर्ष पहिला बुवा क्यान्सरले घरमै बिते। आमालाई बुवाको पिरले गत साल लग्यो। सन्तानको चाहना हुँदुहँदै पनि विवाह भएको ५ वर्षसम्म बालबच्चा भैसकेका थिएनन्। यस्तै कुरा मनमा खेलाउँदै माइला दाइको घर पुगेँ।
भाउजू निकै आत्तिए जस्तो लाग्यो। के गर्ने, गर्ने भन्दाभन्दै एक्कासी सम्झेँ- ए साँच्ची, अस्ति भर्खर गाउँपालिकाले सबै वडामा अक्सिजन सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा विस्तार गरेको छ। बरु त्यही एम्बुलेन्सलाई बोलाएर गाउँपालिका स्थित स्वास्थ्य चौकी लानु पर्यो।
तत्कालै आफ्नै वडाको एम्बुलेन्स चालक तिलक भाइलाई फोन गरेँ। संयोगले भाइ घरमै रहेछन्। सबै घटना बताएँ। भाइले १५ मिनेटभित्रै माइला दाइको घर नजिकै एम्बुलेन्स लिएर आइपुगे। हतार-हतार गरी अक्सिजन जडान गरेर भाउजूलाई करिब आधाघन्टा भित्र गाउँकै स्वास्थ्य चौकीमा पुर्याइयो। र, तुरून्तै आकस्मिक कक्षमा भर्ना गरियो। जब भाउजूलाई डाक्टरको जिम्मा लगाइयो मैले बल्ल शान्तिको श्वास फेरेँ। र, सोचेँ अब पक्कै पनि भाउजूको ज्यान बँच्नेछ।
आजभन्दा ५ वर्ष अगाडि यो स्वास्थ्यचौकी स्वास्थ्यचौकी जस्तो थिएन। न डाक्टर थिए न मेसिन तथा उपकरण थिए। न त औषधि नै पाइन्थ्यो। स्थानीय तहको चुनावपछि गाउँपालिकाले निकै प्रयास गरेर सामान्य उपचारको लागि बाहिर जान नपर्ने गरी स्वास्थ्य चौकीको विस्तार गरेको रहेछ।
स्वास्थ्य चौकीमा तीन जना डाक्टरहरू पनि रहेछन्। डाक्टरहरूले भाउजूको अवस्था हेरे। भाउजूको अवस्था जटिल रहेको तर आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए। त्यसपछि के गर्ने, कसो गर्ने हामीहरू झनै अलमल्ल पर्यौं।
'उहाँको अवस्था जटिल छ, तत्काल एयर लिफ्टिङ गरेर बुटवल वा काठमाडौँ पुर्याउनु पर्छ। सो को व्यवस्था हामी नै मिलाउँछौँ। तपाईंहरू आत्तिनु पर्दैन।'
मेरो मन झसङ्ग भयो, माइला दाइको अनुहार मलिन थयो। केही बोल्न सकिरहेका थिएनन्। घरमा साँझ-बिहान खाने अन्न छैन। श्रीमती यसरी बिरामी होलिन् भनेर सोचेका पनि थिएनन् होला। अब झन् उपचारमा कति खर्च लाग्ने हो। ज्यान बाँचे त बरु जसोतसो ऋण तिरौँला। यस्तै यस्तै सोचिहरेका थिए जस्तो लाग्यो।
तत्कालै गाउँपालिकाका अध्यक्षको फोनको घन्टी माइला दाइको मोबाइलमा बज्यो। फोनमा अध्यक्षले भने, 'भाउजूलाई थप उपचार गर्न बुटवल लाने तयारी गाउँपालिकाले मिलाउनेछ। तपाईंको एक पैसा पनि खर्च हुँदैन। सर्वसाधरणको ज्यान बचाउनु हाम्रो धर्म हो हामी तत्काल हेलिकप्टर मगाएर भाउजूलाई बुटवल लानेछौँ।'
यतिकुरा भनेपछि माइला दाइको मुहारमा केही सन्तोषको भाव पैदा भयो। नभन्दै एक घन्टाभित्रै निजी कम्पनीको एउटा हेलिकप्टर आयो। स्वास्थ्य चौकी नजिकै यस्तै अवस्था आउन सक्छ भनेर गाउँपालिकाले हेलिप्याडको पनि व्यवस्था गरेको रहेछ। हेलिकप्टर त्यहीँ बस्यो। तत्काल स्वास्थ्य चौकीबाट मसहित माइला दाइ र एक जना मेडिकल अधिकृत सहितको टिम हेलिकप्टरमा बस्यौँ र भाउजूलाई लिएर बुटवल गयौँ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलानै सम्पर्क भैसकेको र बिरामीको अवस्थाको बारेमा जानकारी गराइसकिएकोले त्यहाँ विशेषज्ञ डाक्टरहरू सहितको टिम तयारी अवस्थामा रहेछ। विचरा! हाम्रा बाबुबाजे तथा दिदिबहिनीहरू पहिला-पहिला घरमै छटपटाएर ज्यान फाल्न बाध्य हुन्थे।
साँच्चै जनताको नजिक सरकार पुगेपछि कति सजिलो भयो। मनमनै गाउँपालिका र अध्यक्षलाई धन्यवाद दिएँ। हेलिकप्टर अस्पतालको छतमा बस्यो। छतमै हेलिप्याडको व्यवस्था भएकोले सजिलो भयो। अहो! कति धेरै परिवर्तन भएछ। लुम्बिनी प्रादेशिक अस्पतालको मुहार नै फेरिएछ यो बीचमा। साँच्चै अस्पताल कुनै पाँच तारे होटेलभन्दा कम थिएन। ठूला-ठूला बिल्डिङहरू, सफा र चिटिक्कका कक्षहरू, वरिपरि सुन्दर बगैँचा र हरियाली। अस्पताल निकै राम्रो थियो।
छतबाट भाउजूलाई सिधैँ अस्पतालको स्त्रीरोग विभाग अन्तर्गत आकस्मिक कक्षमा पुर्याइयो। त्यति बेलासम्म मनमा डर लागिरहेको थियो, कतै भाउजू…! दाइ र म आकस्मिक कक्षको बाहिर विश्राम कक्षमा बसिरहेका थियौँ।
'औषधि किन्नुपर्ने होला। ब्लडको पनि व्यवस्था छैन। केही गरी रगत चाहियो भने के गर्ने? कहाँ खोज्ने? आफ्नो मान्छे पनि कोही छैन।' यस्तै कुरा दाइले गरिरहनु भएको थियो। एक घन्टासम्म पनि भित्रबाट कुनै खबर नआएपछि म यताउता गरिरहेको थिएँ। दाइको मुहार निन्याउरो र मलिन थियो।
केही समयपछि एक जना नर्स कपडामा बच्चा च्यापेर खुसी हुँदै बाहिर आइन्। 'बधाई छ सर! छोरीको बाबा बन्नु भएकोमा। अप्रेसन जटिल भएपनि सफल भएको छ। आमा र बच्चाको अवस्था ठिक छ, आत्तिनु पर्दैन। आमाको शरीरमा रगतको मात्रा ज्यादै कमी भएकोले यो अवस्था आएको हो। हामीले अस्पतालबाटै रगतको प्रबन्ध गर्यौँ। चिन्ता नलिनु ल!' भन्दै नर्स भित्र गइन्।
माइला दाइको अनुहारमा खुसीको सीमा थिएन। खुसीले गद्गद् हुँदै भावनामा बगेर दाइले भन्नुभयो- 'हेर भाइ, देश जब संघीयतामा गयो र स्थानीय सरकार बने, तब सुरुसुरुमा त यो देशलाई काक्राका चिरा पारेजस्तै किन चिराचिरा पारे होलान् भन्ने लागेको थियो। परेपछि थाहा हुँदो रहेछ। आज गाउँपालिका नभएको भए र नजिकै यति सुविधा सम्पन्न प्रादेशिक अस्पताल नभएको भए श्रीमतीको ज्यानै जाने रहेछ।'
नेपाल सरकारले सबै नागरिकको लागि स्वास्थ्य बिमा पनि लागु गरेको थियो। माइला दाइले पनि गाउँमै स्वास्थ्य बिमा गरेका रहेछन्। अस्पतालबाट श्रीमतीलाई ४ दिनपछि डिस्चार्ज गर्ने बेलामा अस्पतालको नगद काउन्टरमा म आफै गएँ। सबै कागजात देखाएपछि सबै पैसा स्वास्थ्य बिमामार्फत भुक्तानी हुने र एक पैसा पनि तिर्नु नपर्ने जानकारी पाएँ। उल्टै सुत्केरी भत्ता बापत १५ सय रुपैयाँ अस्पतालले उपलब्ध गरायो। हेलिकप्टरको खर्च गाउँपालिकाले बेहोरिदियो।
खुसीले छोरी समाउँदै माइला दाइ बसिरहेका थिए। गाउँपालिकाको एम्बुलेन्स चालक तिलक भाइले फोन गरे- 'दाइ, म भाउजूलाई लिन आएको छु। कता हुनुहुन्छ?'
भाइलाई हामी बसेको कोठामै बोलाएँ। भाउजूसहित हामी सबैलाई नर्सिङ इन्चार्ज बहिनीले एम्बुलेन्ससम्म छोड्न आइन् र आमा तथा बच्चाको सुस्वास्थ्यको कामना गर्दै शुभयात्रा भन्दै बिदा गरिन्। साँझपख भाउजूलाई घरमा लिएर आयौँ।
विगत ५ दिनदेखि म पनि अस्पतालको बसाइले थकित थिएँ। थकाइ मार्न घरतिर लागेँ। खाना खाएर सुतेको भसक्कै निदाएछु। र, मिठो सपना देखेको रहेछु। साँच्चै मलाई यो सबै घटना सपना हो कि बिपना छुट्टाउनै गाह्रो भयो। यसो सम्झेँ, वास्तममा सरकार भनेकै यस्तै कामको लागि त होला, सुख र दुःखमा साथ दिने।
अर्को दिन पल्ला घरका सितेबाको नाति विजय निकै खुसी हुँदै विद्यालयबाट घर फर्कंदै थियो। म घरमै थिएँ। निधारमा रातो अबिर र गलामा माला लगाएर आएको देखेपछि 'ए कान्छा, तँ त आज निकै खुसी छस्, माला र अबिर पनि लाएको छस् किन हो?' भनेर सोधेँ।
मेरो प्रश्न पूरा हुन नपाउँदै उसैले भन्यो- 'दाइ, म आज स्कुलले आयोजना गरेको शुक्रबारको अतिरिक्त क्रियाकलाप मध्ये निमावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएँ नि।'
कक्षा सातमा अध्ययनरत विजय खुसीले गद्गद् थियो। मैलै पनि उसलाई स्याबास! भनेर बधाई दिएँ। 'आगामी दिनमा पनि यस्तै सफल हुनु है बाबु' भन्दै शुभकामना दिएँ।
विचरा! विजय सानै हुदाँ बुबा दुर्घटनामा परी बिते। बाबु बितेपछि आमाले दोश्रो बिहे गरेर गइन्। हजुरबा र हजुरआमाको काखमा हुर्केर पढ्दै गरेको नातिले विद्यालयमा पुरस्कार पाएको देखेर उनीहरू पनि खुसीले गद्गद् थिए।
साँच्चै आजभोलि विजयले पढ्ने जनता माविको मुहारनै फेरिएको थियो। प्रत्येक साता शुक्रबारको दिन विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप मध्ये सो वक्तित्वकला कार्यक्रम पनि एक थियो। जसमा टुहुरो विजयले निमावितर्फ प्रथम भएर बिजयी हाँसिल गरेको थियो। उसको बिजयीमा घरपरिवार मात्र होईन स्कुलका सबै सर म्याडमहरू पनि खुसी थिए।
पढाइमा मेधावी थियो विजय। बुबाआमा दुवै नभएकोले घरमा कमाउने कोही पनि थिएनन्। सितेबालाई नाति कसरी पढाउने होला भन्ने चिन्ता थपिरहेको थियो। तर, उनको चिन्तालाई गाउँपालिकाले दूर गरिदिएको थियो। विजयजस्ता जेहेन्दार तथा गरिब विद्यार्थीको लागि कक्षा १२ सम्म गाउँपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको थियो। सो कुरा थाहाँ पाएपछि सितेबाले पनि नातिलाई जनता माविमा पढाएर देशकै ठूलो मान्छे बनाउने सपना बुनेका थिए।
सितेबाका लागि शिक्षा भनेको कालो अक्षर भैँसी बराबर थियो। उ बेला पढ्ने लेख्ने चलनै थिएन। भए पनि सितेबाजस्ता दलित परिवारको लागि तत्कालीन शासकले पढ्न र लेख्न दिएनन्। गाउँमै मजदुरी गरेर जेनतेन जीविका चलाइरहेका सितेबाले नातिलाई सरकारले निःशुल्क पढाइरहेकोमा निकै गर्व महसुस गरेका थिए।
सरकारले गाउँपालिकामार्फत स्कुल जाने बालबालिकालाई निःशुल्क खाजाको पनि व्यवस्था गरेको थियो। आजकल बालबालिकाहरू स्कुल जान भनेपछि खुसी हुन्थे।
सरकारी स्कुल भएर पनि जनता माविको प्रचार देशभरि थियो। आजभन्दा केही वर्ष अगाडिसम्म पढेलेखेका गाउँका कोही पनि अभिभावकले आफ्ना छोराछोरीलाई जनता माविमा पढाउँदैन थिए। सकेसम्म सहर बजारकै बोर्डिङ स्कुलमा पढाउँथे। पुरानो भवन, फोहोर, भौतिक पूर्वाधारको अभाव, पढाइलाई भन्दा राजनीतिलाई ध्यान दिने शिक्षकजस्ता कारण स्कुल गनाइरहेको थियो।
स्थानीय तहको चुनावपछि गाउँपालिकाले पालिका भित्रको शिक्षा सुधारको लागि गुरुयोजना नै बनाएर काम गर्यो। गाउँपालिकाभित्र रहेका कतिपय स्कुलहरू मर्ज गरिए। कतिपय शिक्षकहरूलाई तालिम दिएर पोख्त बनाइयो। केन्द्र तथा प्रदेश सरकारको सहयोगमा सुविधा सम्पन्न भवन र खेलमैदान बनाइए।
आजकल त स्कुल भित्रै सुविधा सम्पन्न लाइब्रेरी, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला छन। प्रतिस्पर्धी, मेहनती र योग्य शिक्षक शिक्षिकाहरू छन्। गाउँकै एकजना समाजसेवी काका उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष भएका छन्।
अभिभावकहरूले नियमित रुपमा आफ्ना बालबच्चाको पढाइएको विषयमा चासो लिइरहन्छन्। विद्यालयका गतिविधिको बारेमा टेलिफोन तथा एसएमएसमार्फत अभिभावकलाई जानकारी गराइन्छ। विद्यार्थी, शिक्षक र अभिभावकहरू मिलेर सामूहिक छलफल गर्छन् र विद्यालय सुधारको योजना बनाउँछन्।
हिजो सहरका मंहगा बोर्डिङ स्कुलहरूमा आफ्ना छोराछोरीलाई भर्ना गरेका अभिभावकले समेत जनता माविमै फर्काउन सुरु गरेका छन्। गाउँपालिकाको सहयोगमा टाढाबाट आउने विद्यार्थीको लागि स्कुल बसको व्यवस्था गरिएको छ। साँच्चै! हाम्रो जनता मावि जनाताको मनभित्र बस्न सफल भएको छ।
गाउँको शैक्षिक स्तर निकै छोटो समयमा धेरै परिवर्तन भैसकेको छ। चिटिक्क परेका भवन, सफा बाथरुम, प्रर्याप्त खेलमैदान, आफ्ना विद्यार्थीको नियमित स्वास्थ्य हेरचाहको लागि विद्यालय नर्सको समेत व्यवस्था जस्ता कुराहरूले विद्यालय दिन प्रतिदिन चम्किँदै गएको छ।
गाउँको जनता मावि वास्तममा आज जनताका छोराछोरीलाई पढाएर मेधावी विद्यार्थी उत्पादन गर्ने शैक्षिक कारखाना बन्न सफल छ। गत साल यही विद्यालयबाट शत प्रतिशत विद्यार्थी ए प्लस ल्याएर एसइई पास भए। सोही वर्ष उक्त विद्यालयमा अध्ययन गरेको जेहन्दार छात्रा मखमलीले एमबिबिएसको प्रवेश परीक्षामा नेपाल प्रथम भएपछि जनता माविको चर्चा परिचर्चा देशभरि भयो।
यस्तै यस्तै कुरा जनता मावि अर्थात् मैले पढेको स्कुलका हेडसरबाट सुनेपछि म पनि दंग भएँ। अनि आफूले पढेको जनता माविले यति छोटो समयमा यति धेरै परिवर्तन गरेको सुनेपछि मलाई भौतिक रुपमै उपस्थित भएर उक्त विद्यालयको अवलोकन गर्ने मन लाग्यो। अनि अर्को आइतबार विद्यालय अवलोकन गर्ने वाचासहित हेडसरसँग बिदा भएँ।
भर्खर एसइई दिएर बसेकी छोरीले एक दिन भनी, 'बाबा! बाबा! पल्लो घरको सपनाले हिजो नेपाली नागरिकता बनाएर आइछे। मलाई पनि नागरिकता बनाइदिनु न है।'
छोरीको यस्तो आग्रहपछि म झसंग भएँ। ए, हो त! हेर्दाहेर्दै कति छिटो छोरी १६ वर्ष पुगिसकिछ। नेपाली नागरिक हुन योग्य भएपछि नागरिकताको प्रमाणपत्र बनाइदिनु प्रत्येक अभिभावकको कर्तव्य हो। यही कुरा सम्झेर छोरीलाई भनेँ- 'छोरी, भोलि पहिला गाउँको वडा कार्यालय गएर नागरिकता बनाउन चाहिने स्थानीय तहको सिफारिस लिने अनि सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय जाने ल।'
भोलिपल्ट बिहान १० नबज्दै म छोरीलाई लिएर वडा कार्यालय गएँ। लामो समय विदेश बसेर आएको थिएँ। करिब ५ वर्षपछि म पहिलो पटक वडा कार्यालयमा जाँदै थिएँ। मलाई वडा कार्यालय ५ वर्ष अगाडिको जस्तै छ होला भन्ने अनुमान थियो।
त्यति बेला विदेश जाने प्रयोजनको लागि स्थानीय निकायबाट सिफारिस लिन मलाई निकै गाह्रो भएको थियो। अहिले पनि त्यस्तै होला भन्ने सम्झेर म भएभरका सबै कागजातहरू झोलमा बोकेर वडा कार्यालय गएको थिएँ।
मेरो घरबाट वडा कार्यालय पुग्न करिब एक घन्टा लाग्थ्यो। पैदलै हिँडेर छोरी र म वडा कार्यालय पुगेका थियौँ। आहा! चिटिक्क परेको भवन, वरिपरि फूलहरू तथा हरियाली सहितको बगैँचा देख्दा साँच्चै यो सरकारी कार्यालयनै हो त? भन्ने ठानेँ।
१० नबज्दै कर्मचारीहरू कार्यालय आइपुगेका रहेछन्। कार्यालयको मूल गेटबाट छिर्दा बित्तिकै एक जना महिला कर्मचारीले मन्द मुस्कानसहित नमस्कार गरिन्। र सोफामा बस्न अनुरोध गर्दै कामको बारेमा सोधिन्।
मैलै छोरीको नागरिकता बनाउन वडाको सिफारिस लिन आएको हुँ भनेपछि उनले मलाई नागरिकता सिफारिसका लागि चाहिने सबै कागजातको बारेमा बताइन्। उनले भने बमोजिम मैले कागजातहरू तयार गरेँ। त्यसपछि उनी आफैले मलाई र छोरीलाई ३ नम्बर कोठमा लिएर गइन्।
३ नम्बर कोठा भनेको सिफारिस कोठा रहेछ। एउटै कोठामा ४ वटा क्याबिन, क्याबिन अगाडि सबैका ल्यापटप सहितका कम्प्युटरहरू, फूर्तिला र हँसिला कर्मचारीहरू थिए। एक जना कर्मचारीले मैले लगेका कागजातहरूको आधारमा सबै विवरण कम्प्युटरमा इन्ट्री गरे। अर्कोले छोरीको फोटो र डिजिटल औँठाछाप तथा हस्ताक्षर गराए।
त्यतिन्जेलसम्म हामी चिया खाँदै बस्यौँ। करिब १५ मिनेटको बसाइपछि वडा सचिवले भने, 'तपाईंको सिफारिस डिजिटल प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा गइसकेको छ। सिफारिस कोड '२०७८११२' हो। यही कोड लगेर भोलि जिल्ला प्रशासन कार्यालयमा गई नागरिकता बनाउनु होला। त्यहाँ तपाईलाई अरु थप कागजातको आवश्यकता पर्दैन।'
उनको कुरा सुनेपछि म एकछिन अलमल परेँ। मेरो अलमलपछि एक जना कर्मचारीले प्रष्टाउँदै भने- 'सर, हामीले वडाबाट हुने धेरैजसो कामहरू पेपरलेस र डिजिटल प्रविधिमार्फत गर्न सुरु गरेका छौँ। तपाईंसहित छोरीको सबै विवरण हाम्रो एकिकृत सरकारी पोर्टलमा इन्ट्री भैसकेको छ। अब कुनै पनि कार्यालयमा जाँदा तपाईंको त्यो विवरण सहजै हेर्न सकिन्छ र त्यसैबाट काम गर्न पनि सकिन्छ। कागजात बोकिरहनु पर्ने झन्झट रहँदैन।' यति कुरा उनले भनेपछि म पनि आश्वस्त भएँ।
यो पो सेवा! पहिलोपटक बिना कुनै झन्झट, बिना कुनै तनाव, बिना कुनै भनसुन निकै आरामपूर्वक र सम्मानपूर्वक सरकारी काम गर्न पाएकोमा म आफै दंग परेको थिएँ। यो सबै देखेर छोरी त झन् तीनछक परेकी थिई।
सिफारिस लिन दिनभर लाग्ने होला, अनेकन झन्झट र तनाव बेहोर्नुपर्ने होला भनेको काम १५ मिनेटमै भएपछि म सबैलाई धन्यवाद दिँदै छोरीलाई लिएर घर फर्किएँ। फर्कने बेला मूल ढोका छेउ बसेकी नानीले 'शुभयात्रा सर, फेरि पनि आउँदै गर्नुहोला' भनेर बिदाइ गरिन्।
अर्को दिन वडाले दिएको सिफारिस कोडबमोजिम जिल्ला प्रशासन कार्यालयमा गएर छोरीको नागरिकता बनाइदिएँ। र, छोरीलाई पनि यो देशको नागरिक बनाउने आफ्नो जिम्मेवारी पूरा गरेँ।
साँच्चै स्थानीय तहको गठन भएपछि यो ५ वर्षमा गाउँमा धेरै परिवर्तन भएछ। विदेशमा लामो समय बसेर गाउँ फर्किएकोले गाउँमा के-के परिवर्तन भएछ भनि एक बिहान गाउँतिर घुम्न निक्लिएँ।
सदरमुकामदेखि गाउँपालिका जोड्ने बाटो बनेर मोटर नै गुड्न थालिसके छन्। उक्त बाटो पिच हुने क्रममा रहेछ। छेउमा नाली, दायाँबायाँ बगैँचा र हरियालीसहित वातावरण नबिग्रने गरी बनाइएको चिटिक्कको बाटो देख्दा निकै खुसी भएँ।
गैरीखेतबाट गाउँसम्म खेती ओसार्न तथा ओहोरदोहोर गर्न हरित तथा कृषि सडकको निर्माण भएछ। आजभन्दा ५ वर्ष अगाडिसम्म बाँझै रहने गैरीखेत र गाउँका बाँझा पाटाहरूमा थरीथरीको उब्जनी हुन थालेछ।
पल्लो खोलाबाट गैरीखेतमा सिँचाइ गर्न सिँचाइ कुलो निर्माण सम्पन्न भएछ। गाउँपालिकाले गाउँका किसानहरूको लागि खेती किसानी गर्न र कृषिलाई व्यवसायीकरण गर्न सस्तोमा मल, बिउ तथा कृषि औजार वितरण गरेको रहेछ। कृषि बालीमा लाग्ने रोगहरूको पहिचान गरी तत्काल निराकरण गर्न वडा वडाहरूमा कृषि प्राविधिकहरू खटिएका रहेछन्।
माझखेतका किसान हरि काकाले भर्खरै गाउँपालिकाले दिएको ट्याक्टर प्रयोग गरी गैरीखेतमा चैते धान रोपिसक्नु भएछ। साँझ बिहान खान नपुग्ने खेतबाट गत साल हरि काकाले प्रसस्त धान उत्पादन गरेछन्। त्यही धान बेचेर हरि काकाले मनग्य आम्दानी पनि गरेछन्।
जग्गा चक्लाबन्दी नीति तथा सामूहिक तथा करार खेतीलाई गाउँपालिकाले प्रोत्साहन गरेको र जमिन बाँझो राख्न नपाइने नीतिले गाउँको कृषि क्षेत्रमा रुपान्तरण नै भएको रहेछ। गाउँपालिकाले यो नीति कार्यान्वयन गर्न थालेपछि विदेश गएका केही युवाहरू मिलेर गाउँमै सामूहिक तथा करार खेती गर्न सुरु पनि गरेछन्।
पल्लो गाउँको नारायण दाइले गत साल बाख्रा पालनबाट मनग्गै आम्दानी गरेछन्। कृषिको न्यूनतम समर्थन मूल्य गाउँपालिकानै तोकेको र कृषि उत्पादन बिक्री नभएमा गाउँपालिकालेनै खरिद गर्ने नीति लिएकोले किसानहरू निकै लाभाम्वित भएका रहेछन्। गाउँको नाङ्गा डाँडा तथा पखेराहरूमा विदेशबाट फर्किएका ४ जना युवाहरू मिलेर गत सालदेखि सुन्तला खेती सुरु गरेका रहेछन्।
किसानको पीरमर्का र गुनासो सुन्न गाउँपालिकामा किसान कल सेन्टरको व्यवस्था गरिएको रहेछ। अस्ति भर्खर माथिल्लो घरे साइला दाइको भैँसी एक्कासी भिरबाट लडेर मरेछ। गाउँपालिकाले किसानका सबै पशुपक्षीको पशुबिमा गरेको कारण तत्कालै बिमा बापतको एक लाख रुपैयाँ नगद पाउनुभएछ।
पल्लो घरका कृष्ण दाइको लामकाने बाख्रो व्यथा लागेर छटपटाएछ। तत्काल वडाका पशु प्राविधिक आएर बाख्राको सफल शल्यक्रियापछि बाख्राले २ वटा पाठा र एक वटा पाठी पाएछ। त्यसपछि कृष्ण दाइ निकै खुसी भएछन्।
यही ५ वर्षमा गाउँ मकै, कोदो, तरकारी, मासु, दूध र अण्डामा आत्मनिर्भर भैसकेछ। यो देखेर म निकै दंग परेँ। गाउँमा प्रधानमन्त्री कृषि रोजगार कार्यक्रम पनि सुरु भएको रहेछ। उक्त कार्यक्रममार्फत गाउँका बेरोजगार युवाहरूलाई सरकारले नै कम्तीमा एक सय दिनको रोजगारीको ग्यारेन्टी गरेको रहेछ।
सबैका घरघरमा लिफ्टिङ खानेपानीमार्फत पानीका धारा निर्माण भएछन्। त्यसपछि, बिहानै ५ बजे उठेर एक घन्टा टाढा पधेँरोमा गएर पानी ल्याउनु पर्ने आमा तथा महिला दिदीबहिनीहरू आजभोलि ५ बजेर उठेर भजनकिर्तन तथा ध्यान गर्न थाल्नु भएछ।
गाउँपालिकाले महिनाको एकपटक सबैको घर-घरमा घुम्ती स्वास्थ्य सिविर सञ्चालन गर्ने कार्यको सुरुआत गरेको रहेछ। यसबाट गाउँका नागरिकहरू आफ्नो स्वास्थ्यप्रति सचेत पनि हुँदै गएका रहेछन्।
केही वर्ष अगाडिसम्म घर पारिको डाँडो नाङ्गै थियो। गाउँपालिकाकै पहलमा वृक्षारोपण भएपछि उक्त डाँडा हरियाली डाँडोमा परिणत भएछ। आजभोलि त उक्त डाँडा पर्यटकीय स्थल र पिकनिक स्पटको रुपमा विकसित भएछ।
५ वर्ष अघिसम्म टुकी र दियोमा बसेर रात कटाउनुपर्ने बाध्याताबाट गाउँ मुक्त भैसकेछ। सबैको घरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएछ। गाउँका अति विपन्न र गरिब परिवारको लागि गाउँपालिकाले निःशुल्क बिजुली उपलब्ध गराएको रहेछ।
बिहानभरि ढिकी जाँतो गरेर स्कुल जानुपर्ने पल्लाघरे रुपमती आजभोलि बिहान ल्यापटप प्रयोग गरी अनलाइनमार्फत पढ्न थालिछन्। गाउँमै खाद्यान्न कुटानी पिसानी गर्ने मेसिन जडान भएपछि रुपमतीको रुपनै बदलिएको रहेछ। अघिल्लो वर्षदेखि नै उनले पढाइमा निकै प्रगति पनि गर्दै गएकी रहिछन्।
धेरैको घरघरमा टेलिभिजन तथा इन्टरनेट पनि जडान भएछ। सबैको हातहातमा मोबाइल पुगिसकेको रहेछ। म विदेश छँदा आमाले फेसबुकमार्फत भिडिओ कल गरेको सम्झेँ।
'आदरणीय बुबाआमा साष्टाङ्ग दण्डवत। कुशल रही कुशलै चाहान्छु। म यहाँ सन्चै छु त्यहाँ पनि तपाईंहरू सन्चै हुनुहुन्छ होला भनि पशुपतीनाथको कृपा गरी बसिरहेको छु...' भन्दै पत्र लेख्ने हातले आजभोलि मोबाइल थिचेर भिडिओ कल गर्ने जमना आएछ।
गाउँको अवलोकनपछि घर फर्कंदा साँझको ८ बज्नै आटेको थियो। समाचार सुन्नुपर्यो भनेर रेडियो खोलेँ। समाचारको प्रमुख शीर्षक थियो- 'नेपाल सरकारद्वारा स्थानीय तहको निर्वाचन घोषणा, वैशाख ३० गते चुनाव हुने।'
यो समाचारले मेरो ध्यान खिच्यो। ५ वर्ष अगाडिको मेरो गाउँ र ५ वर्ष पछाडिको मेरो गाउँको तुलना गरेँ। साँच्चै गाउँको विकास र समृद्धिको लागि त असल, क्षमतावान र भिजनरी जनप्रतिनिधि पो चाहिने रहेछ।
एकजना नेतृत्वकर्ताले चाहने हो भने छोटो समयमा समेत निकै ठूलो परिवर्तन ल्याउन सक्ने रहेछ। आज मेरो गाउँ खुसी र सुखी छ। सबैलै आ-आफ्नो कर्म र व्यवसाय गरेका छन्। सुख र दुःखमा साथ दिने स्थानीय सरकार छ भन्ने अनुभूति सबैलाई भएको छ।
यी सबै परिवर्तन देखेपछि सोचेँ- स्थानीय तहको चुनावमा यसपालि कसलाई पो भोट दिने होला? अघिल्लो चुनावमा भोट दिएर जीविकोपार्जनको लागि विदेशिएको म यसपालि संयोगले पुनः चुनावकै बेला गाउँ फर्किएको थिएँ।
गाउँको विकास देखेपछि अब स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास ममा पलाएको छ। परिवारसँगै बसेर यही गाउँमा पसिना बगाउने सोच मैले गरेको छु। मैले अब पुनः विदेश नजाने सोच बनाइसकेको छु। गाउँको विकास र समृद्धिको लागि यसपालिको चुनावमा क्षमतावान र योग्य जनप्रतिनिधिलाई जिताउने प्रण गरेको छु।