सरकारले स्थानीय तहको चुनाव २०७९ वैशाख ३० मा हुने घोषणा गरेको छ। सबै र चुनावको लहर छ। सडकमा झण्डावाला गाडी लस्करै कुँदेको छ। होटलहरू पनि अबेर रातिसम्म खुलेको छ। सर्वसाधारणलाई नमस्कार गर्नेको कमी छैन। मानौँ टाढाको आफन्त दसैँमा टीका थाप्नको लागि घर आइपुगेको जस्तो छ।
एकजना बाजे रामखेलावनसँग कुराकानी भयो। मैले सोधेँ, 'बाजे कुन पार्टीमा मोहर लगाउने हो यसपालि?'
बाजेले चुनाव चिन्ह भन्नुभयो। हुन नि हो उहाँलाई पार्टीको नाम र सिद्धान्त, धोषणा पत्र पढ्न आए पो पार्टी भन्नु।
आफ्नो बाल्यकाल सम्झिएँ। हाम्रो गाउँमा पनि पार्टीको घोषणा पत्र, सिद्धान्तभन्दा पनि चुनाव चिन्हको उपयोगिताको विषयमा वादविवाद हुने गर्थ्यो। जस्तै- पङ्खा छापमा भोट दिनु भयो भने गर्मीमा शीतल हुन्छ।
बाजेलाई मैले सोधेँ, 'त्यसो भए कुन चिन्हमा मोहर लगाउने हो त बाजे?'
बाजेले यसपाली त कुकर छापमा मोहर लगाउँछु भन्नु भयो।
मैले थपेँ, 'किन नि?'
'रामसेवकजी यसै चिन्हबाट उठ्नु भएको छ, त्यसैले बाबु।'
बाजेको परिवारमा कति भोट छ त?
उहाँले एक-एक सदस्य गन्दै भन्नुभयो, 'मेरो परिवारमा १० जना अनि भाइको घर, काकाको घर मिलाएर लगभग ७० वटा जति भोट छ।'
पहिलेको चुनावहरूमा पनि कुकर छापमा नै मोहर लगाउनु भएको होला नि त बाजे?
'हैन बाबु, रामसेवक जी पहिले चुनाव लड्दा पङ्खा छाप हुनुहुन्थ्यो। त्यसपछि उहाँको भाइ पनि चुनावमा आउनु भयो। अनि उहाँको भाइ श्यामसेवकजी पङ्खा छापबाट लड्नु भयो। अनि उहाँ चाहिँ बाल्टिन छापमा आउनु भयो। हामी उहाँहरूकै खेतमा ज्याला मजदुरी गर्ने गर्छौं। उहाँ दुई भाइ चुनावमा उत्रिनु भयो। अनि यता हामी भाइहरू बीच पनि मनमुटाव भयो। खानपिन बन्द भयो। हामी ४० जना रामसेवकजीको बाल्टिन छापमा रह्यौं बाँकी उनीहरू श्यामसेवकजीको पङ्खा छापमा गए।'
बाजेसँग अझै ४० भोट छ है!
बाजेको मुहारमा प्रसन्नताको मुस्कान आयो। मैले सोधेँ, 'भोट दिएर गाउँ समाजको लागि के-के राम्रो काम भयो त? स्कुल र स्वास्थ्य संस्थाको अवस्थामा सुधार भयो? कृषकले समयमै बिज-बिजनलगायत मल समयमै पाए?'
बाजे केही बोल्नु भएन। 'छोरा/नाती पढे पो' मात्रै भन्नुभयो।
मैले सोधेँ, 'रामसेवकजीको छोरा/नातीहरू कुन स्कुल पढेको नि?'
बाजेले 'उहाँको त बाबुनानीहरू सहरको बोर्डिङमा पढेको नि' भन्नुभयो।
मैले सोधेँ, 'अनि एउटै व्यक्तिलाई अहिलेसम्म मतदान गर्नु भएकोमा बाजेले के पाउनु भयो त?'
बाजेले भन्नुभयो, 'अस्ति नाति विदेश जान लाग्दा रामसेवकजीले नै ऋण दिनु भएको थियो। हामीलाई सानो पैसाको काम लाग्दा पनि उहाँसँगै ऋण लिन्छौँ। उहाँ त हाम्रो लागि भगवान नै हुनुहुन्छ।'
'हजुर र हजुरको परिवारले एउटै पार्टीमा दशकौँदेखि मतदान गर्नु भएको छ। त्यसमा पनि एउटै परिवारबाट ७० भोट दिनुहुन्छ अनि हजुरलाई त त्यस पार्टीको वरिष्ठहरूले पनि मज्जाले चिनेको होला है बाजे?'
बाजेले छेउमा राखेको पानी चिराइतो मिसाएको पानीझैँ निल्नु भयो। काँधमा भएको गम्छा लिएर अनुहारमा भुरभुरी आएको पसिना पुछनुभयो। मैले त्यही प्रश्न पुनः सोधेँ। यतिकैमा बाजेको छोरा कृष्णाकुमार आउनु भयो र जवाफ दिनुभयो।
'अस्ति भर्खरै गाउँमा एक जना वरिष्ठ आउनु भएको थियो। कृष्णकुमारले आफ्नो नाम भन्नुभयो, चिनेनन्। आफ्नो बुबाको नाम रामखेलावनको छोरा भन्नुभयो, चिनेनन्। हाम्रो परिवारले यस गाउँमा हजुरलाई सबभन्दा बढी भोट दिने घरको छोरा हुँ भनेँ, चिनेनन्। अनि रामसेवकजीको नाम लिएँ अनि ए, ए उहाँको मान्छे हो तपाईंहरू भन्नु भयो।'
यता रामखेलावन बाजेको अनुहारमा बिहानै जेठ महिनाको १२ बजिरहेको थियो। आँखामा बाँधले जम्मा पारेको पानीजस्तै आँसु भरिएको थियो। अनि बाजे भक्कानिँदै भन्नुभयो, 'सबैभन्दा बढी मतदाता भएको हाम्रो परिवारको टाउको मात्रै रामसेवकजीले देखाउनु भयो, हाम्रो अनुहार चिनाउनु भएन। त्यही भएर हाम्रो भोट मात्रै गनियो बाबु, हामीलाई गनेनन्।'
यसमा कृष्णकुमारले थप्नु भयो, 'हाम्रो रामसेवकजीहरू त ठूलाबडा, पैसावाला हुनुहुन्छ। उहाँहरूले आफ्नो छोरा/नातीहरूलाई प्राइभेट स्कुलमा पढाउनु हुन्छ। परिवारमा कोही बिरामी हुँदा पनि सहरको ठूला अस्पतालमा लिएर जानुहुन्छ। यता हाम्रो गाउँको स्कुलमा शिक्षक समयमा आउनु हुत्र।
हाम्रो हेल्थपोष्टमा स्वास्थ्यकर्मी समयमा बस्नु हुत्र। अस्ति त स्थानीय तहले बाँडेको मल पनि बढी खेत भएको जमिनदारहरूले भागभण्डा लगाए। उनीहरूको खेत पर्ने तिर नै सडकको विस्तार गरेका छन्। गाउँमा कल (पानी खाने) वितरण हुँदा पनि उहाँहरूले आफ्नो आफन्तकै घरमा दिन लगाउनु भयो।
हामी आफ्नो स्थानीय तहमा केही सिफारिसको लागि जानु पर्दा पनि उहाँहरूकै पैरवी बिना काम हुँदैन। उहाँहरूको काममा कर्मचारी उहाँहरूकै घरमै पुगेर गरिदिनु हुन्छ। ठूलाबडाको काम त चलेकै छ। आफ्नो समस्या नबुझ्ने प्रतिनिधि छान्दा यी समस्याहरू हुनु स्वभाविक नै हो।
पढाइमा छोरा राम्रै थियो तर पढ्न नपाएर २० वर्षकै उमेरमा ऊ विदेशीँदा। भर्खरै छोरीलाई व्यथा लाग्दा नजिकको स्वास्थ संस्थामा सुत्केरी हुन नसक्दा गर्भमै बच्चाको मृत्यु हुँदा बल्ल सहर समयमा पुगेर छोरीको ज्यान बच्यो। छोरीको ज्यान बचाउनको लागि लिएको ऋण एक जोर गोरु बेचेर चुक्ता गर्नु पर्दा हामीले नि केही व्यक्तिगत प्रलोभनमा परेर, आफन्त भनेर, जाति, धर्मको आधारमा जनप्रतिनिधि छात्रु गल्ती गरेको महसुस भइरहेको हुन्छ।
बेलाबेला त हामी आफै मध्ये जनप्रतिनिधि छात्रे मनसाय बनाउँछौँ। तर अहिलेको चुनाव महंगो भइसकेको हो। रक्सी, मासु, पैसामा भोट बेच्ने र कित्रे प्रवृत्ति हाबी भएको छ। यही परिपाटी रहिरह्यो भने हाम्रो भोट गनिन्छ, हामीलाई गन्दैनन्।'
कृष्णकुमारले यी कुराहरू बोलिरहँदा रामखेलावन बाजे आफ्नो बायाँ हात टाउकोमा राखेर एकदम मौन भएर सुनिरहनु भएको थियो। सायद विगतमा गरेको गल्तीको पछुतो भइरहेको हो।
मेरो घाँटी सुक्दै थियो। पानी भनेँ। बाजेले आफ्नो घरमा रहेको कलको पानी नमगाएर अलि परको कलबाट मगाउनु भयो। त्यही अनुदानवाला कलको, २५० फिटको कलको पानी मिठो हुन्छ भन्नुभयो। मिठो पानी खाएँ।
दुवै जनालाई नमस्कार गरेँ। त्यहाँबाट बिदा भएँ। यसपालिको चुनावले यस्ता समस्याहरूको निराकरण गर्ला कि भनेर सोच्दै आफ्नो घरतिर लागेँ।