हो, गल्ती मेरै हो
तिमीले गल्ती गर्ने त कुरै भएन
तन, मन कति सुकुमार छ तिम्रो
शुद्धता र विद्वताको त कुरै नगरौँ
चोक-चोक, गल्ली-गल्ली
मेलापात अनि पानीपँधेरी
चर्चा केवल तिम्रो मात्रै छ
तिमीबाट कसरी गल्ती हुनसक्छ?
त्यो त सोच्न पनि सकिँदैन
त्यसैले त म भन्छु
गल्ती मेरै हो
हो, गल्ती मेरै हो
माया!
मायाको व्यापार जानिनँ मैले
यथार्थताको धरातल बिर्सिएर
स्वरै कल्पनामा
जीवन जीउन जानिनँ मैले
देखावटी आडम्बर
दुई दिनको रमझम
बाध्यताको बन्धनभित्र
हृदयको स्पन्दन सुनिनँ
त्यसैले त म भन्छु
गल्ती मेरै हो
हो, गल्ती मेरै हो।
तिमी त अदालतको अधिवक्ता जस्तो
हृदय, भावना, संवेग अनि मायालाई
कानुनको तराजुमा तौल्न खोज्दै छौ
खै?
खै कसरी हुनसक्छ गल्ती तिमीबाट?
तिमी त भन्छ्यौ दुनियाँ
मेरो नियममा चल्नुपर्छ
चलेन दुनियाँ तिम्रो नियममा
चल्नु पर्थ्यो तिम्रै पदचालमा
तिम्रै नियममा
तर चलेन
दुनियाँ कसरी चलोस् तिम्रो नियममा
दुनियाँ कसरी चलोस् तिम्रो पदचालमा
तिमी त दुनियाँको एक सूक्ष्म कोषजस्तो
एउटा अनुचर थियौ
तिमी भन्दै छौ
त्यो पनि मेरै गल्ती हो
हो, त्यो पनि मेरै गल्ती हो।
तिम्रो तिरस्कारलाई पिउन सकिनँ
तिम्रो घृणालाई पचाउन सकिनँ
हृदयको स्पन्दनलाई
संविधानको धाराअनुसार
ऐनको दफाअनुसार
नियामावलीको नियमअनुसार
चलाउन सकिनँ
बाँध्न सकिनँ
त्यसैले त म भन्छु
गल्ती मेरै हो
हो, गल्ती मेरै हो।
तिमीजस्तो निष्ठुर अनि कठोर
बन्न सकिनँ मैले
हृदयको स्पन्दनलाई
कानुनको कठघरामा उभ्याउनका खातिर
अदालत, जनादालत
थाना, चौकी
कचहरी, पञ्चायत
सरकार, जनसरकार
कतै धाउन सकिनँ मैले
एउटा बधुवा निरीह प्राणीजस्तो
तिमीले जता-जता तान्यौ
म उतै-उतै गएँ
जिन्दगीको कुनै मोडमा
उपियाहरू लासबाट फट्ट उफ्रेजस्तो
तिमी उफ्रियौ
तिमी छुट्टियौ
तामझामसँगै
युद्ध जितेको कमान्डरजस्तो
त्यसैले त म भन्छु
गल्ती मेरै हो
हो, गल्ती मेरै हो।
मलाई लाग्थ्यो
हाम्रो गन्तव्यको विभाजनसँगै
तिमीले संसार जित्यौ होला
पृथ्वीभन्दा अन्त कतै
आफ्नै लयमा घुम्ने ग्रह, उपग्रहमा
साम्राज्य विस्तार गर्यौ होला
तर
तिमी त यतै छौ रे
यही ग्रह
यही संसार
यहीँ सहर
मेरोजस्तै सामान्य जिन्दगी
मेरोजस्तै जीवनको नियती
त्यसैले त म भन्छु
गल्ती मेरै हो
हो, गल्ती मेरै हो।