ठूलोबुबा बित्नु भएपछिको पहिलो दसैँमा म ठूलोममीको घर गएको थिएँ। सबैजना जम्मा भैसकेका थिएँ। मैले ठूलोममीको खुट्टा ढोग्न खोजेँ। उहाँले दिनु भएन। मैले न्यानो स्विटर र मखमली सारी लगेको थिएँ।
सारी दिन खोज्दै थिएँ दिदीले मलाई रोक्दै भन्नुभयो, 'भाइ, ममी बिधुवा हो, उहाँले रातो लुगा लगाउनु हुन्न। हामीलाई हेर, हामी सबैले ममीको मन नदुखोस् भनेर निलो सारी लागाएको। र तैँले बिधुवा मान्छेको खुट्टा ढोग्नु हुन्न, अब आमाको भाग्य फुट्यो।'
यति भनि नसक्दै अर्की दिदीले थप्नु भयो, 'उहाँको लागि हामीले सेतो टीका मुछेका छौँ, हाम्रो लागि रातो छ।'
म त अक्क न बक्क भएँ। मैले भनेँ, 'ठूली दिदी, तपाईं नेता मान्छे महिलाको हक हितको लागि लड्छु भन्दै हिँड्नु हुन्छ हैन?'
दिदी मुसुक्क हाँस्दै बोल्नु भयो, 'भाइ, राजनीतिमा त्यसो नभने चुनाब कसरी जित्ने? बाहिर भनिन्छ, घरमा फेरी बाहिर भनेजस्तो गर्न मनले नि मान्दैन। चलेको चलन।'
मैले वकिल दिदीलाई सोधेँ, 'दिदी, तपाईं त सबैको न्यायको लागि वकालत गर्नु हुन्छ, घरको लागि पनि गर्नुपर्यो।'
'हेर भाइ, मजस्ता कयौँ वकिल छन्। खै उनीहरूले के गरे भन त? हामीले कानुनमा भएको कुरा व्याख्या गर्ने। हाम्रो भाइ पनि पुलिसमा छ, सजिलै हुने भए उसले पनि गर्थ्यो होला नि हैन र? बोल्न सजिलो छ तर भोलि सबैको घरमा बार्नु नै पर्छ। उसै त छरछिमेक कुरा काट्न जान्दैनन्, झन् रातो लुगा लगाउने वा पोते लगाउने गर्यो भने के होला तिमी नै विचार गर त।'
ठूलीआमा मलाई हेर्दै सहानुभूतिको नजरले मनमनै सोच्न लाग्नु भयो। आँखाका आँसु लुकाउनु भयो। म केही बोल्छ कि भन्ने अपेक्षा गरेजस्तो भान हुन्थ्यो।
मैले सम्झाउँदै भनेँ, 'हेर्नुस् दिदी, बाहिर नेता, वकिल, पुलिस भएर मात्रै हुँदैन। भित्री हृदयदेखि हुनुपर्छ। घरको आगो निभाउन नजान्नेले आगो बाल्न सिकाएर छाडनु हुन्न, मानिसलाई बाहिर सपना देखाउने अनि जब सबै जना बेलुका घर आउँछन् घरमा परिवर्तन हुनु हुँदैन भने नारा लगाएर जन्ता उचालेर मात्रै केही हुन्न।
वकिल दिदी, तपाईं पनि पैसाको लागि केस लड्ने ज्यालादारी मात्रै हुनुहुँदो रहेछ। आमाको घाँटीमा हेर्नुस्, कति रहर लुकेको छ। खाली धागोमा तिलरी र नौगेडी लगाउनु भएको छ। तपाईंहरूले बाहिर सारी लगाए पनि आमाको मन भित्रको रहर लुकाउन सक्नु हुन्न।
यो परम्परा कसरी बस्यो थाहा छ? हाम्रो समाज पितृसत्तात्मक समाज हो। पहिले पहिलेका मान्छेले आफू मरेपछि श्रीमती पोइल नजावस् भन्ने मनसायले सति जानु पर्छ अर्थात् सँगै जल्नु पर्छ भनेर कयौँ आमा, श्रीमतीहरू जलाइए। त्यसको पनि त्यो बेलामा विरोध नगरेको भए आजसम्म जलाइन्थ्यो र त्यसको परिवर्तन रुप हो श्रीमान मरेपछि सेतो लगाउने। उसलाई दोस्रो बिहे गर्न नदिन घुमाउरो शैलीमा दमन कायम राख्या हो।
अर्को कुरा, मान्छे मर्दैमा नाता कहिल्यै सकिँदैन बरू अर्को बिहे वा डिभोर्स गर्यो भने सकिन्छ। ठूलोबुबा र ठूलोममीको सम्बन्ध सकिएको पनि हैन। मृत्यु त जन्मनुपूर्व नै सुनिश्चित हुन्छ, बरु जन्म पो निश्चित हुँदैन। उहाँ आफ्नो जीवन सकेर जानुभयो। त्यसको सजाय दोस्रो निर्दोष व्याक्तिलाई कसरी हुन सक्छ? नेपालको कानुनको कुनै धारा उपधारामा छ र? कि तपाईंहरू पनि आमा पोइला जानु हुन्छ भनेर हो, हँ?'
उहाँहरू नाजवाफ हुनुभयो। टाउकोमा ठूलो बोझ थपिएजस्तो महसुस गर्नुभयो। त्यत्तिकैमा ठूलीआमा बोल्नु भयो, सबैले मुखमा हेराहेर गरे।
'छोरो तैँले मेरो हृदयको कुरा भनिस्। तँ अनपढ भएर पनि यति धेरै जीवन दर्शन बुझेछस् तर मैले आफू स्कुल नटेके पनि छोराछोरीलाई खाई-नखाई टीकाटालो गरेको पैसा, ऋण गरेर, रातको ३ बजेबाट काम गरेर पढाएँ। मैले पनि रेडियो सुनेँ, टिभि हेरेँ, भाषण सुनेर यी सबै कुरीति हुन् भनेर बुझेँ तर घरमा कसैले आमा सेतो नलगाऊ भन्र सकेनन्।
मेरो बुढाले दिएको सिन्दुर-पोते उहाँले त खोस्नु भएन अरुलाई खोस्ने के अधिकार? म यो कुरा सुनाउन चाहान्थेँ तर एउटा सिन्का सजिलै भाँचिन्छ, एक मुठ्ठी सिन्का भाँच्न सकिँदैन। सबै बोले पो शक्ति, म बोलेर मलाई नै विधुवा बुढी भन्लान भन्ने डर थियो।'
आमाका कुरा सुनेपछि दिदीहरू आँखाभरि आँसु पार्दै पश्चातपले भरिएको आवाजमा बोले, 'हामीलाई नि मनमा लाग्या त थियो, न आमाले जान्ने भइछेस् भनेर कराउछिन् कि भनेर त हो नि।'
दिदीको रुन्चे स्वर सनेपछि सबै हाँसे। 'हाम्रो बाबा आमाको हृदयमा अमर छन्' भन्दै सबैले रातो सारी, पोते लगाएर फोटो फेसबुकमा नि पोस्ट गरे। महिला अधिकारकर्मी आमा समूहले व्यापक समर्थन गरे।
एक कार्यक्रममा ठूलीआमालाई सम्मान गर्दै 'सबैको पति हृदयमा अमर छन्, अब कोही बिधुवा भनेर अपमान गरेमा तत्काल कानुनी लडाइ लड्ने' सबैले प्रण गरे।