खै! कहाँबाट सुरु गरौँ मेरो जिन्दगीको कथा। म अर्थात् 'उर्वशी।'
कक्षामा पढ्दै गर्दा भेट भएका थियौ तिमी। पल्लो गाउँमा ८ कक्षा सक्काएर ९ बाट हाम्रै जनता माविमा पढ्न आएका थियौ। हेर्दा काले-काले तर हिस्सी परेको, थोरै लजालु पनि।
त्यसै पनि तिमी मुस्कुराइरहन्थ्यौ, अझ तिम्रो नाम नै 'मुस्कान'। कक्षा ९ पढुन्जेल खासै वास्ता भएन तर जब ९ बाट १० मा पुगियो अनौठो अनुभव हुन थाल्यो। कता-कता तिमी मलाई अरुभन्दा विशेष लाग्न थाल्यौ। साथीहरूले जिस्क्याउँथे, तेरो त प्रेम भएछ मुस्कामसँग भनेर।
मलाई पनि महसुस हुन थालेको थियो मेरो तिमीप्रतिको एकतर्फी प्रेम। कसरी व्यक्त गर्ने तिमीसामु यो मनको भावना सोच्दै थिएँ म। कक्षा सुरु वैशाखमा भएको थियो, तिमी मलाई असारदेखि मन पर्न थालेका थियौ। धेरै हिन्दी नेपाली फिल्म हेरेर पनि जानकार भैसकेको थिएँ म प्रेम प्रस्ताव कसरी गर्ने भनेर।
केही साथी भन्थे, केटीले प्रपोज गरेको राम्रो हुन्न भनेर तर मलाई तिम्रो प्रतिक्रिया जान्नु थियो। 'भ्यालेन्टाइन डे'मा प्रपोज गर भनेर अर्ति दिने साथी पनि नभिटिएका हैनन् तर मलाई त्यति धेरै समय कुर्न मन थिएन।
शुक्रबारको दिन थियो। म धेरै हर्ष उल्लासका साथ विद्यालय आइपुगेको थिएँ किनकि आज प्रपोज गर्ने योजना बनिसकेको थियो साथी प्रीया र मेरो। शुक्रबार टिफिनमै छुट्टी हुन्छ अनि घर फर्कने बेला प्रपोज गर्ने भन्ने हाम्रो संयुक्त योजना पूरा भएको थियो। तिमी रातोपिरो भएका थियौ, मेरो साथीले मैले लेखेको चिठी जबरजस्ती हातम थमाइदिँदा।
त्यसपछिका दिनमा तिमीमा परिवर्तन देखियो। जहिले उदास देखिन्थ्यौ। मैले चिठीको अन्तिममा जवाफ सहितको तिम्रो हस्तलिखित चिठीको पनि माग गरेको थिएँ तर जवाफी चिठी हैन तिमी आफै उदास अनि परिवर्तित देखिन थाल्यौ।
साथीलाई सोध्न पठाउँदा पनि झर्कियौ रे तर जब तिम्रो हप्ता दिनपछि जवाफी चिठी आयो म भुइँमा न भाँडामा भएको थिएँ। तिमीले पनि मलाई मन पराएको तर भन्न नसकेको कुरा लेखेका थियौ। मलाई तिमीले लेखेका हरेक शब्द प्यारा लागे तिमीजस्तै।
त्यो जवाफी चिठी आएको दिनदेखि मेरो दुनियाँ नै फरक भएजस्तो लाग्थ्यो। भोलिपल्ट शनिबार तर मलाई शनिबार पनि विद्यालय जाऊ-जाऊ लागेको थियो। आइतबारको पर्खाइ थियो।
आइतबार तिमी र मेरो विशेष दिन थियो, प्रेम स्वीकार भएको पहिलो दिन के भनेर बोल्ने बडो समस्या भयो। साथीहरू सबै लाइन बस्न गए तर म गइनँ। म नगएको देखेर तिमी पनि गएनौ। धेरै कुरा त भएनन् तर तिम्रो मुस्कानसँगै मिसिएको बोली मलाई सुनमा सुगन्ध मिसिएझैँ लाग्यो।
यसरी नै चिठी आदानप्रदान गर्दागर्दै एक वर्ष बितिसकेछ। एसएलसी दिने समय आयो। परीक्षा राम्रै भएको थियो, नतिजा पनि राम्रै आयो। मलाई म बुझ्ने हुँदादेखि नै सरकारी जागिर खाने धोको थियो। तिम्रो मनसाय बुझ्दा तिमी पनि मेरैजस्तो धोको राखेर पढिरहेका रहेछौ। अब बाँकी पढाइ महेन्द्र मोरङ कलेजबाट पूरा गर्ने निर्णय भयो।
तिम्रो र मेरो घर ओल्लो-पल्लो गाउँ भएकाले पनि सजिलो थियो हामीलाई भेट्न। कहिले साथीको घर जाने त कहिले बजार जाने निहुँले हाम्रो भेट भैरह्यो। दुनियाँको आँखा छलेर हामी प्रेमिल संसारमा रमाइरहेका थियौँ।
फोनको नाममा सानो नोकिया फोन थियो मसँग, तिमीसँग पनि उस्तै फोन थियो। केही जरुरतहरू सानै कुराले पनि पूरा गर्दा रहेछन् भन्ने कुरा त्यहीँबाट सिकेका थियौँ हामीले। दिन, बार, हप्ता, महिना गर्दै समय आफ्नै गतिमा नेटो काट्दै वर्षमा पुगेर रोक्किएको थियो।
११ को फाइनल परीक्षा भयो, राम्रै नम्बर ल्याएर पास भयौँ दुई जना। तिमी सँगै थियौ क्याम्पसमा, त्यसैले विशेष लाग्थ्यो क्याम्पसे जिन्दगी। मैले मन पराएको मान्छेसँग दिनहुँ भेट हुन पाइरहेको थिएँ, त्योभन्दा बढी के चाहियो र मलाई।
कक्षा ९ सम्म पढिरहँदा भगवान हुन्नन् भन्ने मान्छे म तिमी मेरो जिन्दगीमा आएदेखि भगवानकै गुणगान गाउन थालेकी थिएँ। भगवानले नै जुराइदिनु भएको जोडी थियो हाम्रो। यसरी नै समय आफ्नै रफ्तारमा कुदिरह्यो। हामी पनि समयसँगै सारमा सार मिलाएर कुदिरह्यौँ एकोहोरो।
हेर्दाहेर्दै १२ कक्षाको पनि फाइनल परीक्षा हुने दिन आयो। परीक्षा सकियो, नतिजाको पर्खाइमा थियौँ। ११ कक्षा सकिँदै तिमीलाई बाइक किनिदिनु भएको थोयो तिम्रो बाबाले। तिमी निकै दंग थियौ। तिम्रै खुसीमा खुसी हुने मान्छे म त, म तिमीभन्दा ज्यादा खुसी थिएँ।
परीक्षा सकिएको तेस्रो दिन धरानको बुढासुब्बा मन्दिर जाने योजना भयो हाम्रो। घरबाट हिँड्ने बहाना पनि एउटै बनायौँ हामीले- साथी बिरामी भएर भेट्न जाने भन्ने। साँझ ४ बजेसम्ममा घर फर्किसक्ने भन्दै घरबाट निस्कियौँ हामी।
मैले कुरिरहेको ठाउँसम्म आइपुग्न १० मिनेट लाग्यो तिमीलाई। सलले मुख बेरेर कसैले नचिन्ने भएकी थिएँ म। विराटनगरबाट धरान पुग्यौँ हामी। बुढासुब्बा मन्दिरमा कहिल्यै नछुट्टिने कसम खाएको आजैजस्तो लाग्छ। भगवानले रचना गरेको जोडी हो किन पो छुट्ला र? यस्तै कुरा मनमा सम्झिँदा सम्झिँदै हामी विराटनगर आइपुगेछौँ।
बिहान भेटेकै ठाउँमा तिमीले मलाई छोडिदिएर अफ्नो बाटो हुँइकियौँ। दिनहरू बित्दै गए, हाम्रो कक्षा १२ को नतिजा पनि सार्वजानिक भयो। यसपालि पनि राम्रै अंक आयो हामी दुवै जनाको। समय बित्दै जाँदा एकदिन मेरो घरमा विवाहको कुरा चल्यो। मलाई विवाह गर्न मन थिएन।
एक त तिमीसँगै जिन्दगी बिताउने सपना थियो भने अर्को धेरै पढेर सरकारी जागिरे बन्नु थियो। तिम्रो मेरो एउटै सपना थियो, एकअर्काको साथ अनि सरकारी जागिर। अझै पढ्ने सपना छ भन्ने मेरो भावना बुझेर पनि घरमा विवाहको कुरा बन्द भयो।
१२ सक्केकाले अब ब्याचलर पढ्नु थियो। महेन्द्र मोरङमै सबै स्तरको पढाइ हुने भएकाले सजिलो थियो हामीलाई। ब्याचलर पहिलो वर्ष सुरु भयो, नयाँ कक्षा नयाँ साथी खुसी उल्लास थियो जिन्दगी। म तिम्रो साथमा अत्यन्तै खुसी थिएँ अनि तिमी मेरो साथमा।
एक अर्कालाई देख्न पाए भोक, तिर्खा, दु:ख, पीडा निन्द्रा सबै हट्थ्यो। म तिमीलाई जून भन्थेँ तर तिमीले 'म त तारा हुँ, तिमी मेरो जुन हौ' भनेर जिस्क्याउथ्यौ। म मख्ख हुन्थेँ तिम्रो जून हुन पाएर।
यसरी नै समय बित्दै गए। पहिलो वर्षको फाइनल परीक्षा सक्कियो। दोस्रो वर्षमा प्रवेश भयौँ। अब भने मलाई लोक सेवा पनि तयारी गर्न मन लाग्यो। तिमीलाई सुनाएँ, तिमीले नमान्ने कुरै थिएन। लोक सेवाको पनि कक्षा लिन थाल्यौँ हामी।
दोस्रो वर्षको पढाइ अनि लोक सेवाको तयारी यिनै पढाइहरूमै व्यस्त भए हाम्रो एक वर्ष। दोश्रो वर्षको परीक्षा र लोकसेवा परीक्षा दुइटै दियौँ। क्याम्पसको परीक्षाले त साथ दियो तर लोक सेवाले धोका दियो हामीलाई। सायद तयारी पुगेको थिएन हाम्रो।
अर्को वर्ष पुनः तयारीका साथ लोक सेवामा नाम निकाल्ने संकल्प राख्दै शनिबारको दिन पारेर धनकुटा घुम्न जाने योजना भयो हाम्रो। यो पटक मैले प्रीयालाई घरमा फोन गर्न लगाएर उसको घरमा बोलाउने नाटक गरेकी थिएँ। त्यो नाटक मेरो लागि अत्यावश्यक थियो।
तिमीले पनि यस्तै केही झुट बोलेर आएका थियौ। मनमा उमंग थियो, थोरै डर पनि। झुट बोलेर त्यति टाढा धनकुटासम्मको यात्रामा हिँडेका थियौँ हामी दुई। यो कुरा सिर्फ प्रीयालाई मात्र थाहा थियो।
वैशाखको दिन चारैतिर हरियाली, जताततै कोइलीको कूहुँ-कूहुँ अनि तिमी र म। केवल तिमी र म थियौँ साथमा। भविष्यका कुरा निकै मिठा थिए हाम्रा। तिम्रो हातले मेरो सिउदो भर्ने चाह तिम्रो अनि तिम्रै हातको सिंदुर लगाउने मेरो चाह।
कडा मेहनतले लोक सेवामा नाम निकाल्ने अनि ब्याचलर सकेपछि विवाह गर्ने निर्णय थियो हाम्रो। यिनै मिठा-मिठा सपना संगाल्दै बाँचिरहेका हामी।
धनकुटा घुम्यौँ दुई जना। तिमीले साथीसँग मागेर ल्याएको त्यो क्यामेरामा कति राम्रा-राम्रा फोटो खिचेका थियौँ हामीले। साँच्चै नै त्यो दिन आजै जस्तो लाग्छ। त्यो दिनको सम्झना अझै पनि आँसु झर्छ मेरो। तिमी र म धेरै खुसीले रमाएको दिन थियो त्यो।
दिनभरिको थकाइसँगै त्यहाँकै खाजाघरमा खाजा खाएर साँझमा बाटो लाग्यौँ हामी। घुम्दाघुम्दै अलिअलि अँध्यारो हुन सुरु भैसकेको थियो। तिमीले रफ्तारमा बाइक हुइँक्यायौ। मलाई डर लाग्दै थियो तिम्रो बाइक कुदाइसँग।
म भन्दै पनि थिएँ अलि विस्तारै कुदाऊ भनेर तर रात पर्न सक्ने, घर पुग्न ढिलो हुने कुरा सुनायौ। एक मनले हो पनि भनेँ। अनि डराई-डराई तिम्रो काँध समाएर हुइँकीरह्यौँ हामी। सुनसान साँझ झ्याउकिरीको झ्याउ-झ्याउ। केही मोटरसाइकल, भ्यान, टिप्पर अनि बसहरूको ओहोरदोहोर।
बाइक आफ्नै रफ्तारमा हुँइकिरहेको थियो। अगाडिबाट एउटा टिपर आएको देख्दै थिएँ। तिमीले साइड दिन खोज्दै थियौ एक्कासी मेरो टाउकोमा भारी चिजले ड्याम्म हानेजस्तो अनुभव भयो।
त्यसपछि के-के भयो, मलाई थाहा भएन। नोबेल हस्पिटलमा आँखा खुलेपछि थाहा भयो हामी त दुर्घटनामा पो परेछौँ। हाम्रो बाइकलाई टिप्परले ठक्कर दिएछ। तत्काल एउटा भ्यानको सहायताले हामीलाई विराटनगर स्थित नोबेल हस्पिटल ल्याइएछ।
मेरो फोन बाटोमै थियो रे, त्यही फोनमा भएको नम्बरको आधारमा मेरो परिवारलाई फोन गरिएछ। आँखा खुल्दा मेरो सामु बाबाममी हुनुहुन्थ्यो। प्रीया छेउमै थिई। मलाई झट्ट मुस्कानको याद आयो, मधुर बोलीमा सोधेँ, 'प्रीया, मुस्कान खोई त?'
प्रीयाको छोटो उत्तर 'आइसियूमा राखेको छ।'
झसङ्ग भएँ म। तर म धेरै बोल्न सक्ने स्थितिमा थिइनँ। प्रीयाले सबै हाम्रो प्रेमको नालीबेली सुनाउन भ्याइसकेकी रैछ। मेरो बाबाममीको अनुहारमा रिसभन्दा पिर बढी देखिरहेको थिएँ म।
तिम्रो होस आएको थिएन रे, तिमीलाई गहिरै चोट लागेको थियो रे। मलाई तिमीलाई भन्दा कम चोट थियो रे। लगभग १२ घन्टापछि तिमीलाई होस आएछ। आँखा खुल्न साथ तिमीले मलाई सोध्यौ रे अनि मलाई बोलाइदिन ममीबाबासँग भनेछौ।
मलाई ह्विलचियरमा हालेर तिमीलाई राखेको कोठासम्म पुर्याइयो। मेरो तागत कमजोर भैरहेको थियो। तिम्रो त्यो हालत देखेर डाँको छोडेर रोएँ म। टाउकैभरि ब्यान्डेज जीउभरि, नाकभरि पाइप। मलाई असह्य भयो। टुलुटुलु आँखाभरि आँसु पारेर एकोहोरो हेरिरहेँ म तिमीलाई।
तिमी पनि मलाई हेरेर पिलपिल्याइरहेको थियौ। तिमीले मधुरो स्वरमा बोल्यौ, 'प्रीया, मेरो लागि अलिकति सिन्दुर ल्याइदिन सक्छौ?'
प्रीया रुँदैरुँदै बाहिर कुदी। म अलमल्ल परेर मुस्कानलाई हेरिरहेँ। पाँच मिनेटपछि हातमा कागज पोको पारेर प्रीया आइपुगी। यो समय अवधिभर न म बोलेँ न मुस्कान। तिमीले प्रीयासँग त्यो कागजको पोको माग्यौ र मलाई तिम्रो छेउमा पुर्याइदिन प्रीयासँग आग्रह गर्यौ। प्रीयाले त्यसै गरी।
तिमीले मेरो ब्यान्डेज गरिएको टाउको थोरै आफूतिर तान्यौ र सिउँदोको थोरै ब्यान्डेज हटाएर सिन्दुर भरिदियौ। मलाई त्यो सब दृश्य सपनाजस्तै लाग्दै थियो।
तिमीले भन्दै थियौ, 'अब म यहाँभन्दा धेरै बाच्न सक्दिनँ उर्वशी। तिम्रो सिउँदोमा सिन्दुर भर्ने सपना पूरा गरेर मात्र मर्न चाहन्छु र त्यो सपना पूरा भयो। आजदेखि तिमी मेरी भयौ।'
यति भन्दै गर्दा तिमीले पानी खाने भन्यौ। प्रीयाले छेउको गिलासको पानी मेरो हातमा थमाई। जम्मा तीन घुड्की पानी खुवाएकी थिएँ, तिमीले लामो श्वास फेर्यौ अनि मलाई एकोहोरो हेरिरह्यौ। थाहा पाएँ तिमीले त्यतिबेलै संसार छोड्यौ। न म रुन सकेँ न कराउन सकेँ केवल आँखामा आँसु टिलपिल पारेर हेरिरहेँ।
हेर्दाहेर्दै कतिबेला म बेहोस भएछु। आँखा खुल्दा म हस्पिटलमै छु तर एक्लै छु, मुस्कान छैन। मुस्कानले लगाइदिएको सिन्दुर छ मेरो सिउदोमा तर मुस्कान छैन। मलाई दुई दिनपछि होस आएछ तर मुस्कान त खरानी भैसकेछ।
अन्तिम पटक उसको मृत अनुहारले एकोहोरो हेरेको मलाई एकैछिनमा ऊ मबाट टाढा भयो। मुस्कान गयो तर त्यो क्यामेरामा कैद भएका फोटोहरू किन गएनन्? किन फुटेन त्यो क्यामेरा? मुस्कान फुट्यो मेरो भाग्यबाट तर क्यामेरा किन फुटेन? तिनै फोटो हेरेर जिन्दगी काट्नुछ अब।
समय, परिस्थिति, नीति अनि परिधि यी कुराको भर नहुने रैछ। आज उसले मलाई छोडेर गएको ६ वर्ष भयो तर उसको याद, माया हरपल, हरक्षण मैसँग छ। मैले पूजेको भगवान पनि कति निष्ठुरी रहेछन्। मैले जिन्दगी बिताउन रोजेको मान्छेलाई नै मबाट टाढा लगेर आफ्नो प्यारो बनाए।
कता-कता आश पनि लाग्छ, मेरो मुस्कानलाई भगवानले फिर्ता पठाइदिन्छन् कि भन्ने। आज पनि तिम्रै नामको सिन्दुर सजाइरहेको छु मेरो सिउँदोमा। तिमी मेरो जून, म तिम्रो तारा भन्थ्यौ तर आज साँच्चीकै तारा बन्न धेरै पर मलाई एक्लै बनाएर गयौ।